२७ कात्तिक । हावापानी कार्यालय सुर्खेतबाट कोहलपुरमा सार्ने सरकारको निर्णय संगै नेपालको पहिलो मौसमको पुर्व सुचना दिने राडर जडानको काम प्रभावित भएको छ । सुर्खेतको रातानाङ्लामा निर्माणधिन मौसमी राडरको करिव ९० प्रतिशत काम भएतापनि कार्यालय कोहलपुरमा सार्ने निर्णयपश्चात विभागले समेत यो कामलाई खासै चासो देखाएको छैन ।
विभागका उपमहानिर्देशक सरजु कुमार बैध्यले नेपालमा यो पहिलो प्रयोग भएको र क्षेत्रिय कार्यालयको रुपमा रहेको हावापानी कार्यालयको प्रत्यक्ष निगरानीमा राख्ने गरी सुर्खेतमा मौसमी राडर जडान गरिएको जानकारी दिए ।
हाईटेक प्रविधि भएको मौसमी राडरको नजिकबाट अनुगमन, सुपरिवेक्षण गर्नुपर्ने र यसवाट आएको तथ्याङ्क दक्ष जनशक्ति मार्फत विश्लेषण गर्नुपर्ने कार्य सुर्खेतबाट नै सहज हुने उनले बताए । कार्यालय सार्दा यो काम प्रभावीत हुने र यसको अपडेट, संचालन र व्यवस्थापनमा समेत अप्ठयारो पर्ने उपमहानिर्देशक बैध्यले जानकारी दिए ।
मौसम पुर्व सुचना राडरले के काम गर्छ त ?
यो राडर जडान पश्चात करिव २५० किलो मिटर क्षेत्रमा पर्ने पानी (Rainfall) को अनुमान, मौसम र बाढी पुर्वानुमान र सुरक्षित हवाई उडानका लागि हवाई मौसम सुचना दिने हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले जानकारी दिए ।

यसले के कति पानी पर्छ भन्ने कुराको पुर्वसुचना दिन्छ साथै हिमपात, असिना र चट्याङ्ग पर्ने सम्भावित क्षेत्रको समेत पुर्वानुमान गर्न मद्दत पुर्याई विपद् पुर्वतयारीमा सहयोग पुग्ने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए । रातानाङ्लामा निर्माणधिन राडर समुद्र सतहबाट करिव २२०० मिटर उचाईमा रहेको छ ।
विश्ववैकको सहयोगमा स्थापित नेपालको पहिलो मौसम राडर को लागत करिव २६ करोड लाग्ने अनुमान छ । नेपालका अन्य दुई स्थान पाल्पाको रिव्दिकोट र उदयपुर गडिमा समेत स्थापना हुने तयारी रहेको उपमहानिर्देशक बैध्यले जानकारी दिए ।
क्षेत्रीय स्तरको कार्यालय किन कोहलपुरमा सारिएको हो भन्ने विषयमा कर्णालीबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले आवाज नउठाएको र खासै चासो नदेखाएको हावापानी कार्यालय सुर्खेतका एक कर्मचारीहरुले दुखेसो पोखे ।
प्रतिकृया दिनुहोस्