२८ काक्तिक । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले दण्डहिनता अन्त्य गर्न प्रदेश सरकार तयार रहने प्रतिवद्धता जनाएका छन् ।
‘पत्रकार विरुद्ध हुने अपराधको दण्डहिनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा फ्रिडम फोरमले बुधबार सुर्खेतमा आयोजना गरेको सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य विषयक कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
‘कर्णाली प्रदेश सरकार पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि तयार छ’ मन्त्री भण्डारीले भने, ‘यसको लागि कर्णाली प्रदेश सरकार क्रियाशिल भएर लाग्नेछ ।’
कानुन मन्त्री भण्डारीले कर्णालीका पत्रकारहरुलाई खोजमुलक पत्रकारीतामा आर्कषण गर्ने सरकार लागिपर्ने बताए । ‘कर्णालीका पत्रकारहरुलाई खोजमुलक पत्रकारितामा लाग्न आर्कषित गर्छाै’ मन्त्री भण्डारीले थपे, ‘पत्रकारिता लोकतन्त्रको पहरेदार पनि हो, समाज रुपान्तरणको उत्तरदायित्व बोकेको पत्रकारिता क्षेत्रमा जति जिम्मेवारी छ त्यति जोखिम छ’ ।
उनले पत्रकारहरुको सुरक्षाका लागि कानून मन्त्रालयले ‘पत्रकार स्वास्थ्य विमा’को व्यवस्था गर्न लागेको जानकारी दिए । ‘हामी पत्रकारहरुको स्वास्थ्य विमाको व्यवस्था गर्दैछौँ, करिब करिब कार्यविधि अन्तिम चरणमा पुगिसकेको छ’ भण्डारीले भने, ‘अबको केही दिनमा नै हामी पत्रकार स्वास्थ्य विमामा सामेल हुन तपाईहरुलाई अपील गर्छौँ ।’ स्वास्थ्य विमा कार्यक्रमले पत्रकारहरुलाई केही हद्सम्म भएपनि सुरक्षाको प्रत्याभुति हुने उनको भनाई रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशकी उपाध्यक्ष डम्मरकुमारी आचार्यले खोजी रिपोटिङ गर्दा पत्रकारहरु जोखिममा रहेको भन्दै पत्रकारको सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने बताइन् ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि कर्णाली सरकारले पहल गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका एसएसपि मोहन आचार्य, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक शंकर श्रेष्ठ, वीरेनद्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्