Birendranagar Municipality

जो छाउपडिको विरुद्धमा उभिइन र झुक्यो समाज

गोमता वि.क, आठबिस न पा दैलेख
जो छाउपडिको विरुद्धमा उभिइन र झुक्यो समाज

तस्बिर:गुगल

मेरो भोगाई एउटा किताव बन्छ

२०५७ सालसम्म कृषि गर्थें । त्यसपछिको सयम महिला माथीको अन्यायको विरुद्धमा खर्चिएको छु ।


म स्वयम् सेविका पनि हो । गाउँमा कसैलाई दःुख परेका बेलामा जस्तो सुकै अवस्थामा पनि म सहयोग गर्छु । धेरै सहयोग सुत्केरी हरुलाई गर्न पाएकी छु ।


२०६४ सालदेखी २०७४ सालसम्म म स्वयम् सेविका थिएँ । २०७४ सालमा आठबिस नगरपालिकाको उपप्रमुखमा उठें । जित्छु जस्तो लागेको थियो तर ५२ मतले चुनाब हारें ।


मैले भोगेको कुरा लेख्ने हो भने एउटा किताब बन्छ ।


म अछुत रहेछु..

दैलेख सदरमुकामबाट साततला गाविस १७ कोष टाढा पर्दछ । अहिलेको ठाटिकांध गाउँपालीका मेरो मावली हो । ९ वर्षको हुँदा मामाघर जाँदै थिएँ । मसंग दुईजना वृद्ध आमाहरु हुनुहुन्थ्यो । बाटोमा पानीको कुवा थियो । पानी खान लागेको एक महिलाले रोकिन । तल्लो जातको भनेर छुन दिएनन् ।


कसैको भान्सामा पस्नु हुँदैन भनेर त घरमा सिकाउनु भएको थियो । किन हो मैले सोधिन । पानी छुनुहुदैन पनि भन्नुभएको थियो तर बाटोमा पर्ने पानीको कुवा पनि छुनुहुन्न भन्ने त्यतिबेला थाहा पाएँ ।


उमेर बढ्दै जाँदा पानीको धारा, भान्सा ठूला जातले छुन नदिने र उनीहरुको घरमा गएको बेलामा बाहिर बसेर खानु पर्ने भयो । यो सबै वातावरणले हामी तल्लो जाती हो भन्ने लाग्थ्यो । त्यहि सिकाइन्थ्यो ।


त्यो कुवामा एकजना बिसी जातको महिला पानी भर्नको लागि गाग्री लिएर आउनुभयो । उहाँले शुरुमा हामीहरुलाई जात के हो भनेर सोध्नुभयो । त्यो बेलामा मसंग गएका दुईजना आमाहरुले विष्टकी छोरी हुन् भनेर ढाँटे ।


महिनावारी भएन

मेरो बुवाको घर नजिक सबै माथील्लो जात भन्नेहरुका घर थिए । दलित भनेको हाम्रो मात्रै । बुवाले कृषि गर्नुहुन्थ्यो । म १८ वर्षको हुने बेलासम्म महिनावारी भएन । समाजले अनेक लाल्छना लगायो ।


यो संगकाहरुले बच्चा बच्ची जन्माएका छन् । अघिल्लो जुनीको पाप हो । अलच्छिनी भन्ने खालका विभिन्न कुराहरु गर्दथे ।


मैले पढ््न पाइन । घरकी जेठि छोरी । म भन्दा पछाडी चारवटा भाईहरु थिए र दुईवटा बहिनी । बुवाको घर विद्यालयको आडैमा थियो तर पढ्नुर्छ भन्ने चेतना भएन ।


त्योबेलामा दलितका छोरीले पढ्न पाउने त झन कुरै थिएन । गाउँमा पनि कसैले पढ्नु पर्छ भन्ने सिकाएनन् । अरुका छोराछोरी विद्यालय जाँदा मलाई पढ्नु पर्छ भन्ने लागेन । घाँस दाउरामा व्यस्त भईयो ।


मेरा भाईहरु पनि पढेका थिए । एउटा भाई अझै पढ्दै छ । त्यो बेलामा हाम्रो गाउँमा एकजना मात्रै केटि विद्यालय जान्थिन् । ब्रामणकी छोरी । उनले पनि ६÷७ कक्षा पढेर बिहे गर्नुपर्‍यो ।


मेरो आफन्तै पर्ने केटाले लतारेर विवाह गरेका हुन् । पाँचवर्षसम्म बच्चा जन्मीएन । त्यो बेलामा पनि मैले यो समाजको भनाई खेप्नु पर्‍यो । अब बच्चा जन्मिदैन भनेर घोषणा गरे कतिले । पाँच वर्षपछि छोरा जन्मियो । त्यसपछि छोरी पनि जन्मिइन् । श्रीमान्ले दुईवटा बच्चामा स्थायी बन्ध्याकरण गर्नुभयो ।


श्रीमान्ले बन्ध्याकरण गरेको आरोप पनि घर परिवारले मलाई लगाए । एउटा छोरा र छोरीहँुदा मात्रै अप्रेशन गरेकोमा घरपरिवारले झगडा गरेपछि छुटिएर बस्यौं ।
छाउगोठको बास


महिनावारी भएको बेलामा घरमा बस्न पाईदैनथ्यो त्यो बेलामा । श्रीमान् कमाउनको लागी भारत जानुभयो । सानो छोराले तीन पटक पानी थपेर भात पकाउँदै दिन्थ्यो म छाउपडिमा बस्थें ।

 

त्यो बेलामा छुई हुँदा बेलउतीको बुटा सम्म छुन पाईदैनथ्यो । महिनावारी भएको बेलामा विरुवा छोयो भने कुहिन्छ भन्ने चलन थियो । गाउँकै एकजना शिक्षकले छोरा छोरीलाई किन दुख दिनुहुन्छ भन्नुहुन्थ्यो । जिस्काए जस्तो ख्याल ख्याल लाग्थ्यो । वास्तबमा उहाँले भनेको कुरा साँचो रहेछ ।


पहिले पहिले त म पनि समाजले सिकाएजसरी गरें । केहि पढेलेखेकाहरुले यो प्राकृतिक नियम हो भनेर सम्झाउन थाले । मैले पनि केहि परिवर्तन गर्नु पर्छ भनेर सुरुमा बेसार बारीमा गएर बेसार छोएँ । सुक्छ की नाई भनेर बिचारें तर सुकेन । फल कुहिन्छ कि नाई भनी विचार गरे कुहिएन । पछि विस्तारै म घरको दैलो सम्म गएँ ।


छाउगोठ देखि भान्सासम्म

मेरो श्रीमान्ले मलाई साथ दिनुहुथ्यो तर समाज र घर परिवारका अरु सदस्यको डरले मैले महिनावारीको बेलामा छाउगोठमा बस्नुपथ्र्यो । म घरको दैलोमा सुतेको बेलामा स्याल आएर मेरो कपडाहरु तान्यो । म बेसरी डराएँ । कतै देउता रिसाएर हो कि भन्ने पनि लाथ्यो ।


तर पनि मैले हिम्मत हारिन । बैज्ञानिक कारण खोज्न थालें । मलाई खान होईन स्याल आफ्नो आहाराको लागि कुखुरा खान आएको होला भन्ने सोचें । विस्तारै म घरको भान्सामा पुगें । महिनावारी भएको बेलामा पनि भैंसी दुहुने, खाना पकाउने लगाएतका घरका सबै काम गर्न थालें ।


त्यो बेलामा पनि समाजले मलाई आरोप लगायो । अरु महिला बाहिर हिड्दैनथे तर म सामाजिक काममा पनि हिड्न थालेकी थिएँ । श्रीमान बाहिर म घर बाहिरको काममा पनि हिड्ने भएकोले कसैको गर्भ बोकेकी छ की भन्ने सम्मका आरोप समेत लगायो समाजले तर मैले हिम्मत हारिन ।


मैले छाउ बस्न छोडेपछि महिनावारी किन हुदिन, महिनावारी नहुने औषधी खान्छिन् की भन्ने शंका गर्न थाले । मलाई करिब १५/२० जना महिलाहरुले मैले खाने गरेको महिनावारी नहुने औषधी दिन आग्रह गरे ।


भत्काउने र बनाउने अभियान

२०६४ सालमा दलित वकालत भन्ने संस्था गयो त्यो ठाउँमा ।


संस्थाले तालिम दियो छाउपडीको बारेमा । त्यसपछि छाउपडि भत्काउने र शौचालय निर्माण गर्ने एउटा अभियान चलाईयो । त्यो बेलासम्म गाउँमा शौचालय थिएनन् । संस्थाले २५ वटा शौचालय दिएको थियो तर घरधुरी धेरै भएकोले सबैलाई पुग्ने कुरै थिएन ।


संस्थाले सिकाउनु अघि मैले मेरो घरमा २०६० साल भन्दा पहिले नै खाल्डे चर्पि बनाएकी थिएँ । दैलेखको लाँकुरी भन्ने ठाउँमा भ्रमण गएको बेलामा शौचालय देखेकी थिंए र मैले मेरो घरमा बनाएकी थिएँ ।


मैले तीन वर्षसम्म खाल्डे शौचालय प्रयोग गरें । तर समाजका मान्छेहरुले एउटै ठाउँमा खाने र दिशा पिशाप गर्ने लाज नभएकी भनेर कुरा काटे । सबै परिवारहरु एकै ठाउँमा दिशा गर्छन् भनेर कुरा सिके ।


अभियान सफल हुदै गयो । साविकको ५ नं वडा मेरो गाउँ थियो । त्यो वडालाई खुल्ला दिशामुक्त वडा घोषणा गर्नुपर्छ भन्ने लाग्यो । मेरो वडामा ४२ वटा घर छन् । ति सबै घरमा शौचालय बनाईयो । बान्नो लगाएका पक्की शौचालय ।


मैले राजनीतिक दलका नेताहरुको बैठक बोलाएर यो वडालाई खुल्ला दिशाामुक्त घोषणा गर्ने भनी हस्ताक्षर गर्न लगाएँ । त्यो भन्दा अगाडी गाउँको अनुगमन गरिएको थियो । साततलाको खुल्ला दिशामुक्त पहिलो वडा हो ५ नम्बर ।


बलात्कार भएका दिदि बहिनीहरुलाई घरमा लिएर राख्थें । प्रहरी कार्यालयसम्म गएर उनीहरुको कुरा राखिदिने खालका कामहरु गरें । पछि म महिला सञ्जालको संयोजक भएँ । हामी २० जनाको सञ्जाल थियो । हामीले गाउँमा रक्सी पनि फाल्यौं ।


गाउँगाउँमा सररफाई सम्बन्धि अभियान समेत चलायौं । त्यहाँका मान्छेहरु महिलाहरुलाई बाटोको दिशा सोहोर्न लगाउँछ भन्थे । केहिले सञ्जालका महिलालाई भड्काउन पनि खोजे तर म पछि हटिन् । महिलाहरुलाई अस्पतालमा सुत्केरी गराउनुपर्छ भन्ने कुरामा जागरुक बनाएंँ ।


छोरीको महिनावारीमा गाउँलेलाई भोज खुवाएँ

छाउपडि प्रथा अन्त्यका लागि अभियान चलाएँ । महिलाहरु महिनावारी भएको बेलामा पेन्टी सम्म लगाउंदैनथे । सरसफाई पनि नगर्ने । मैले राजनितीक दलका व्यक्तिहरुलाई समेत छाउपडि प्रथा अन्त्यका लागी आग्रह गरें । मेरो छोरी महिनावारी भएको बेलामा समाजका अगुवाले छाउगोठमा नै बस्न सल्लाह दिएका थिए तर मैले मेरो छोरीलाई घरभित्रै बस्न सल्लाह दिएँ । म सानो हुँदा पनि छाउगोठमा बसेको हुँ । त्यो पिडा र त्रास म छोरीलाई दिन्न भनेर मानिन ।


हाम्रा पालामा सात दिनसम्म आमाबुवाको अनुहार तथा पुरुषको अनुहार देख्न पाईदैनथ्यो । अझै पनि कायम छ यो मान्यता । गाईगोठमा बसेको अुनभव थियो । तेस्तो बेला तीनदिन सम्म नुहाउंदैनथे महिलाहरु ।


म बुहारीलाई आफुजस्तै स्वतन्त्र बनाउँछु । हिजोका सासु ससुराहरु त दुश्मन हुन् । दुध, दहि, ध्यु तेल, मासू, खान दिदैनथे । सुत्केरी र महिनावारी भएको महिलालाई बासी खाना र फोहोरी खाना दिन्थे । त्यो बेलामा खुब नरमाईलो लाग्थ्यो । माईतमा एक वर्ष जती छाउ बसें र घरमा १७ वर्षसम्म छाउबसें । छोरा पाँच वर्ष पुगेपछि बस्न छोडें ।


मेरो छोरी महिनावारी हुँदा पुरी अचार बनाएर गाउँभरीकालाई खुवाएँ । घरमा नाच गान गरियो । प्राकृतिक कुलाई विभेद हैन उत्सवको रुपमा मनाउनु पर्छ भन्ने शन्देश दिनको लागि सब गाउँलेलाई भोज खुवाएँ ।

 

मेरो छोरा नेपालगञ्जमा प्राविधिक शिक्षा पढ्दै छन्। छोरी ११ मा पढेर विवाह गरिन् ।


राजनीतिक यात्रा

म २०५४ सालबाट राजनितीमा जोडिएको हो । पुर्व एमालेको कार्यकर्ता हो । मेरो श्रीमान् २०५४ सालमा चवानी सदस्य हुनुहुन्थ्यो । उहाँको नाम हरी धमला हो । आजभोली त घरायसी समस्या सानो र सामाजीक समस्या ठुलो लाग्छ । श्रीमान्ले मेरो लागी राजनितीमा सहयोग गर्नुहुन्छ ।


विश्व खाध्यले बाटो खन्नेलाई चामल र पैसा दिएको थियो । बाटो खन्ने ठाउँमा गएर हामीलाई पनि काम दिनुपर्‍यो भनी आग्रह गरें । ईन्जिनियर ले सक्नुहुन्छर जस्तो कुरा गरे । त्यस बखत गाउँका पुरुषहरु जो सडकमा काम गर्दै थिए ।


उनीहरुले पनि यी आईमाइहरुले के काम गर्दिहुन भन्ने जस्ता कुरा गरेपछि मैले त्यो दिनको भोलीपल्ट ४२ जना महिला लिएर बाटो खनिरहेको ठाउँमा गएँ । ससुरालाई सोधे,ं ससुराले डोरी चुराका लागी किन जानुपर्‍यो ऋण तिर्ने भएपछि मात्रै जाउ भन्नु भयो । तीन दिन मात्रै काम गर्‍यौं।


३ किलो चामल र एकसय रुपैयां दिईयो । २०६० सालदेखी २०६५ सालसम्म महिलाहरुले बाटो खन्यौं । पांच वर्षसम्म पुरुष बराबर ज्याला पायौं । पछि हाम्रो काम देखेर सबैले प्रशंसा गरे । श्रमिक महिलाहरुको घर खर्च टर्‍यो ।


मलाई दैलेख जानुपर्ने काम पर्‍यो र त्यो बेलामा पनि ससुरालाई सोधें । तर ससुराले महिला मान्छे कसरी जाने, कहाँ बस्ने भनेर जान दिनुभएन म भने नमानेरै गएँ । घरको वातावरण धमील्याउनको लागी कैयौं शक्ति लाग्यो । श्रीमान्लाई समाजकाले धेरै कुरा लगाए । तिमी घरमा बस्ने श्रीमती गाउं गाउं डुल्छिन् भनेर कुरा लगाए ।


जसले जति कुरा लगाए पनि मेरो श्रीमान्ले कसैको कुरा सन्नुभएन । श्रीमान्ले भारतमा गएर नोकरी काम गर्नु हुन्छ । मेरो कामको मुल्यांकन हेरेर पाटीले उपप्रमुखको टिकट दिएका हुन् । मैले कसैको चाकडि गरेकी होईन ।

 

म पार्टिको जिल्ला कमिटी सदस्य थिएँ उपप्रमुखको टिकट पाउँदा ।


दलित भित्रैको छुवाछुतले मन दुख्छ

आफ्नै जिवनलाई फर्केर हेर्दा न्युन वर्गको दलित महिला अहिले धेरै माथी गएको महशुस भएको छ । मलाई अहिले सामाजीक काम गर्दा छुवाछुत सम्बन्धि भेदभाव हुदैन । जातीय छुवाछुतको घटना म माथी नभए पनि अरुको उद्धार भने गरेकी छु ।


दलित समुदाय भित्र पनि छुवाछुत छ । त्यो मलाई राम्रो लाग्दैन । महिला महिला बिच पनि बिभेद छ । छाउपडि रोक्नको लागि जनचेतनामुलक कार्यक्रम गर्नु पर्छ । पढेलेखेकाहरु पनि छाउ मान्दै आएका छन् ।


आजभोली मेरो समाज सेवा प्रभावकारी भएको छ । घरपरिवार, जेठानी, देउरानीहरुसंग पनि राम्रो सम्बन्ध छ । गैर दलितहरुले समेत सम्मान गर्छन आजभोली ।


म एउटा प्रौढ कक्षा मात्रै पढेको मान्छे त यो समाज परिवर्तनको लागी हिडेकी छु भने यो समाजका पढेलेखेकाहरुले समाज रुपान्तरणको लागि अगाडि बढ्नु पर्छ भन्न चाहान्छु ।

प्रस्तुतीः टीका विष्ट

२०७५ मंसिर १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्