४ मंसिर । जिल्ला कारागार सल्यानका कैदी बन्दीले कारगार भित्रै स्वास्थ्य सेवा पाउन थालेका छन् । कारागार भित्रै स्वास्थ्य सेवाको पहुँच भएपछि कैदी बन्दीहरु खुशी भएका छन् । विगत तिन महिना अघि कारागारमा स्वास्थ्यकर्मी डम्बर विष्टको नियुक्ती भएसंगै कारागार भित्रै कैदीले सहजै स्वास्थ्य सेवा पाउन थालेको जेलर विक्रम केसीले जानकारी दिए ।
स्थापनाकाल देखी कारागारमा पहिलो पटक स्वास्थ्कर्मी नियुक्ती भएसंगै यहाँका कैदीबन्दीले कारागार भित्रै सेवा लिन थालेको उनले बताए । पत्येक साताको एक दिन मंगलवार सबै कैदी बन्दीको नियमित स्वास्थ्य परिक्षण गरिने गरेको केसीले जानकारी दिए ।
एनका अनुसार अब कार्यालय परिसर भित्रै कैदीको स्वास्थ्य अवस्था समेत राम्रो भए नभएको सजिलै जानकारी लिन सकिनेछ । अहिले कारागार भित्र रहेका कैदीहरुको सामान्य रोगको स्वास्थ्य जाँच संगै निशुल्क औषधी समेत वितरण गरिने गरेको स्वास्थ्यकर्मी विष्टले जानकारी दिए ।
विष्ट भन्छन् ‘टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने अवस्थामा समेत उपचार गर्न जिल्ला अस्पताल पुर्याउनु पर्ने हुन्थ्यो तर अहिले यस प्रकारका रोगहरुको जाँच र उपचार सेवा कार्यालयमै दिंदै आएका छौं । अहिले सामान्य चेकजाँच र औषधी उपचार बाहेक जटिल प्रकृतिका बिरामीलाई मात्रै बाहिर रिफर गर्नु पर्ने अवस्था छ ।’
स्वास्थ्यकर्मीका अनुसार कारागारमा रहेका कैदी बन्दीहरुमा ज्वरो आउने, ढाड दुख्ने, पेटदुख्ने, शरीर झम्झमाउने, शुगर लगायतका समस्या देखिएको छ । एक जना महिलाले भने डिप्रेशनको औषधी सेवन गरिरकेही छन् ।
कारागारका चौकीदार राजु खत्रीका अनुसार हरेक दिन बेलुका कैदीबन्दीको स्वास्थ्य अवस्थाबारे सोधपुछ गर्ने र भोलीपल्ट बिहान स्वास्थ्यकर्मीलाई स्वास्थ्य समस्या बारे जानकारी गराउने गरिन्छ ।
हाल यस कारागारमा ९४ जना कैदी बन्दी रहेको कारागारले जनाएको छ । जस्मा पुरुष ७३ जना, महिला १८ जना र दुई नाबालग रहेका छन् ।
प्रतिकृया दिनुहोस्