Birendranagar Municipality

कर्णाली सरकारले गर्‍यो योजना आयोग गठन, को को परे हेर्नुहोस्

सेरोफेरो/सुर्खेत
कर्णाली सरकारले गर्‍यो योजना आयोग गठन, को को परे हेर्नुहोस्

४ मंसिर । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोग गठन गरेको छ । मंगलवार विहान सम्पन्न मन्त्रीपरिषद वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गर्ने निर्णय गरेको हो ।


वैठकले योजना आयोगको उपाध्यक्षमा दैलेखका डा.पुण्य रेग्मी, सदस्यहरुमा हुम्लाका डा.दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन ।


त्यसैगरि योजना आयोगको पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था रहेको छ ।


प्रवक्ता केसीका अनुसार योजना आयोगका उपाध्यक्षलाई प्रदेश राज्यमन्त्री सरहको र सदस्यहरुलाई प्रदेश सभा सदस्य सरहको सेवा सुविधा दिने निर्णय गरिएको छ ।


आयोगको उपाध्यक्ष मनोनयन हभएका डा. पुण्य रेग्मी कृषि क्षेत्रका विज्ञ हुन । भरतपुरको रामपुर क्याम्पसमा ३० वर्ष कृषि अर्थशास्त्र विषयको प्राध्यापन गरेका रेग्मीले योजना र विकासमा पिएचडि गरेका छन् ।


यसैगरी उनले अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षका रुपमा समेत काम गरिसकेका छन् ।


कर्णाली प्रदेश सरकारको विज्ञ समुहको सदस्य समेत रहेका रेग्मी काउन्सील फर ईन्टरनेशनल रिलेशन एण्ड ईकोनोमीक डेभ्लोप्मेण्टका अध्यक्ष समेत छन् ।


आयोगको सदस्यमा मनोनयन भएका सर्केघाट ८ रादेउ हुम्ला निवासी दिपेन्द्र रोकायाले २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । ग्रामीण विकास र राजनीति शास्त्रमा स्नाकोत्तर गरेका रोकाय नेपालको राजनैतिक द्धन्द्ध व्यवस्थापनमा वैदेशिक सहयोगको प्रभाव शिर्षकमा पिएचडि गरेका छन् ।


युद्धपत्रकारिताको अनुभव समेत गरेका रोकाया न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्य समेत थिए ।


यसैगरी सदस्यमा मनोनित योगेन्द्र बहादुर शाही जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा एम फिल गरेका छन् ।


यसैगरी उनले विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष तथा नेपाल सरकारको युवा नीति २०१५ तथा युवा विकासका लागि १० वर्षे रणनीतिक कार्ययोजना युथ भिजन २०२५ को संयोजक रही काम गरी सकेका छन् ।


रोजा लक्जम्वर्ग फाउन्डेसन जर्मनी सँगको सहकार्यमा नेपाल अध्ययन केन्द्रका तर्फबाट नेपालको समसामयिक नीतिगत वहसका लागि संयोजक रहेर पनि उनले कार्य गरेका छन् ।


शाहीले राष्ट्रिय र अन्तराष्ट्रिय दर्जनौ संघसंस्थाका सेमिनार र गोष्ठिका लागि युवा विकास, अन्तराष्ट्रिय सम्बन्ध, क्षेत्रीय तथा वातावरणीय दिगो विकास सम्बन्धी लेखन र प्रस्तुति गर्नु गरेका छन् ।


उनका अग्रेजी र नेपाली दुबै भाषामा सम्पादित, एकल लेखन र सहलेखन गरी अनुसन्धानमूलक र विचार प्रधान पुस्तकहरु प्रकाशित भएका छन् । शाही हिमालयन सिल्करोड कन्सल्ट्यान्सीका संस्थापक तथा कार्यकारी अध्यक्ष पनि रहेका छन् ।


सोमवार सम्पन्न मन्त्रीपरिषद वैठकले प्रदेश योजना आयोग गठन तथा संचालन आदेश २०७५ स्वीकृत गर्ने निर्णय गरि आयोग गठनको बाटो खोलेको थियो ।

२०७५ मंसिर ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्