५ मंसिर । दशैं तिहारको उपलक्ष्यमा मुख्यमन्त्री कार्यालयद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमबाट फर्कने क्रममा संसद भवन बाहिर मोटरसाइकल पल्टिँदा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका एक उपप्राध्यापकको खुट्टामा चोट लाग्यो ।
कर्णाली संसद भवन परिसरमा आयोजित उक्त कार्यक्रमका सहभागीलाई सवारी साधन पार्किङ गर्न र निकाल्न हम्मे पर्यो । सुर्खेतमा भर्खरै निर्माण भएको पहिलो साउण्ड प्रुफ भवन कर्णाली प्रदेशको संसद भवन हो । उक्त शानदार भवनको गेटसम्म पुग्ने बाटोको अवस्था भने बिजोग छ । वीरेन्द्रनगरमा निर्माणाधीन बसपार्क र फोर लेन सडक समयमै बन्न नसक्दा लथालिङ्ग अवस्थामा छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले कर्मचारी अभावको कारण काम गर्न नसकिएको बताए । ‘मेरो मन्त्रालयमा सचिव समेत छैनन् । कर्मचारी अपुग छ,’ मन्त्री खत्रीले भने- ‘कर्णालीको राजधानी सुर्खेतका बाटा र बसपार्कहरु संघीय सरकारले हेरेको छ । हामीलाई संघीय सरकारले स्पष्ट नीति बनाई क्षेत्राधिकार तोकिदिएको छैन । अर्को कुरा हामीसंग बाटोको लागि १ अर्व ५४ करोड रुपैया बजेट छ । त्यो बजेट हामीले दुरदराजका बाटोका लागि छुट्याएका छौं ।’
प्रदेशको राजधानी वीरेन्द्रनगरका अन्य बाटाहरुको हालत पनि उस्तै छ । बर्षा शुरु हुनु अघि मोटो रकम खर्चेर सडकमा हालिएको माटो बगेर गयो । अहिले ती बाटाहरु पूर्ववत अवस्थाभन्दा बिग्रिएका छन् । असारे बजेट सक्न बर्षाको पूर्वसन्ध्यामा बनाइएका कतिपय पिच बाटाहरु पनि वर्ष दिन नपुग्दै भत्किन थालेका छन् ।
कालिञ्चोकबाट नगरपालिका हुँदै घण्टाघर, धमला चोक देखि आँखा अस्पताल, सामाजिक विकास मन्त्रालय हुँदै जिल्ला प्रशासनसम्म पुग्ने बाटाहरुमा अश्वाभाविक खाल्डा छन् । न्यूरोड, बुद्धपथलगायत बजारका अन्य बाटा पनि बिग्रिएर सर्वसाधारणले दुःख व्यहोरेका छन् ।
यस विषयमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाललाई सोध्दा बाटो निर्माणका कामलाई आफूहरुले विशेष प्राथमिकतामा राखेर १६ करोड रुपैयाँ छुट्याइएको बताइन् ।
‘टेन्डर प्रक्रिया पूरा भएर पनि काम अगाडि बढिसकेको छ । तर भवन डिभिजनका इन्जिनियरहरु नभएका कारण काम रोकिएको छ,’ उनले भनिन्- ‘भत्किएका बाटोहरुलाई एक दुई महिनामै जनताले पिच भएको देख्न पाउनेछन् ।’
यद्यपी सम्बन्धित निकायहरुले दीर्घकालिन र सुरक्षित सडक निर्माणमा ठोस योजना बनाएर कार्यान्वयन गरेको पाइँदैन ।
प्रतिकृया दिनुहोस्