६ मंसीर । एक दिन उत्तमजीलाई एउटा आइडिया फुर्यो । सिडिओ सा'वसंग उनले प्रस्ताव राखे- 'गाउँ गाउँमा घुम्ती शिविर सञ्चालन गर्ने कि?'
'जिल्लाको हालखबर के छ? साथीभाईले पनि सोधिरहने । प्रगति प्रतिवेदनमा पनि खासै काम देखाउन सकिएको थिएन', उत्तम शर्माले सेरोफेरोसंग भने,- 'सिडिओ साव पोजिटिभ हुनुभो ।
तुरुन्तै जिल्लाका अन्य कार्यालायसंग समन्वय भयो । स्थानीय सरकारहरुसंग समन्वय गरियो । सरकारी कार्यालय, नेपाली सेना र प्रहरीसंग सहकार्य गर्ने निधो भयो ।'
उनै उत्तम शर्मा अर्थात् सुर्खेतका तन्नेरी प्रशासकीय अधिकृत जो शिविरमै हँसमुख भेटिए । उनले बिहिबार सुर्खेतको सिम्तामा भएको एकीकृत घुम्ती शिविरमा २ सय १५ नागरिकतामा हस्ताक्षर गरे ।
एकीकृत घुम्ती शिविरको आइडियाले तबमात्र मूर्त रुप लियो जब सिम्ता सरकारले त्यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनायो । सिम्ता गाउँपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसीले भने, 'हामीले गाउँ गाउँमा सिंहदरबारको अभ्यास गरेका हौं । यहाँका जनताले स्थानीय स्तरमै सेवा पाउनु खुशीको कुरा हो ।' शिविर शुक्रबार पनि चल्ने छ ।
शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता दियो । लगत्तै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीका लागि फोटो खिच्यो । जेष्ठ नागरिकहरुलाई परिचय पत्र प्रदान गरियो ।
नेपाली सेनाको नयाँ सबुज गणले डाक्टर पठायो । स्वास्थ्य शिविरमा झण्डै २ सयले स्वास्थ्य परीक्षण गराए । औषधी लिए । शिविरको शोभा बढाउन प्रमुख जिल्ला अधिकारी विनोद कुमार यादव, प्रहरी उपरीक्षक वसन्त रजौरे, नेपाली सेनाका कर्णेल झुलेन्द्र बस्नेत लगायत जामुने बजार गए ।
यसै मौकामा गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गर्यो । गाउँपालिका अध्यक्ष केसीले स्थानीय सरकारलाई उत्तरदायी बनाउन आफू लागिपरेको बताए । आफ्ना योजना र प्रगति विवरण प्रस्तुत गरे ।
नयाँ सबुज गणका गणपति बस्नेत र मेजर श्याम बर्तौलाले वागेश्वरी माविमा अध्ययनरत बिद्यार्थीलाई विपद व्यवस्थापन बारे अभिमुखीकरण गरे ।
कार्तिक शुक्ल पूर्णिमाका दिन जामुने बजारमा लाग्ने मेलाको पूर्वसन्ध्यामा पनि सिम्तामा सयौं मानिसको उपस्थिति थियो । बजार मेलामय थियो । सिम्ता सरकारले त्यहाँका नागरिकलाई घरदैलोमै सेवा दिन प्रयासरत थियो । संविधान कार्यान्वयन र संघीयता सबलीकरणमा यो एउटा अनुपम अभ्यास देखियो ।
प्रतिकृया दिनुहोस्