Birendranagar Municipality

'विश्वविद्यालयमा झगडाको बिउ रजिष्ट्रार'

सेरोफेरो/सुर्खेत
'विश्वविद्यालयमा झगडाको बिउ रजिष्ट्रार'

८ मंसीर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि सरोकारवालाहरुले शनिबार बृहत् छलफल गरेका छन् । वीरेन्द्रनगरमा आयोजित उक्त छलफलमा रजिष्ट्रारको कार्यशैलीका कारण विश्वविद्यालयमा तनाव उत्पन्न भएको सहभागीहरुले बताएका छन् ।

 

रजिष्ट्रारको निर्देशनमा विगत २ महिनादेखि विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । वार्ता समितिका संयोजक समेत रहेका डीन डा. मस्तबहादुर गरञ्जाले भने, ‘मलाई नेविसंघ सम्वद्ध विद्यार्थीहरुले अपहरणको शैलीमा नियन्त्रणमा लिएपछि वार्ता समेत हुन सकेन ।’

 

‘विश्वविद्यालयमा भएको अभद्र, अमानवीय र शत्रुवत व्यवहारको हामी घोर निन्दा गर्दछौं’, नेकपाका नेता मोहन वडुवालले बताए । रजिष्ट्रारको कृयाकलापले शैक्षिक क्षेत्रमा गुण्डागर्दी स्थापित भएको उपप्राध्यापक कमलेश डिसीले बताए ।


कार्यक्रममा विद्यार्थी नेताहरुले म्याद सकिएको स्ववियूको कुनै औचित्य नभएकोले स्ववियूका नाममा भैरहेका अवाञ्छित कृयाकलाप अस्वीकार्य रहेको बताए । अनेरास्ववियू मपवि राष्ट्रिय कमिटिका अध्यक्ष गगनसिंह ठकुरीले स्ववियूको नयाँ मिति अविलम्व घोषणा गर्नुपर्ने बताए । नेकपाका नेता रत्नबहादुर गाहाले विश्वविद्यालयलाई प्रज्ञिक थलो बनाउनुपर्ने बताए ।

 

कार्यक्रममा डीनहरु प्रा. खोपीराम लम्साल, सहप्राध्यापक यमबहादुर कार्की, डा. मस्तबहादुर गरञ्जा निर्देशक लिलाधर तिवारीलगायतले विश्वविद्यालयलाई कसैले बन्धक बनाउन नमिल्ने बताए ।

 

नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष चित्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका कार्यवाहक अध्यक्ष खेमराज रावतले छलफलको विषय प्रवेश गराएका थिए ।

 

छलफलमा नेकपाका नेता बालाराम शर्माले वार्ता र सम्वादको माध्यामबाट विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सकिने बताए । यसका लागि सबै पदाधिकारी, शिक्षक तथा विद्यार्थी एकतावद्ध हुनुपर्ने बताए । यस्तै नेता दानसिङ सुनारले समस्या उठान भएको स्थानभन्दा माथिल्लो तहबाट समाधान खोज्नुपर्ने बताए ।

 

कार्यक्रममा नेकपा कर्णाली प्रदेशका सह इञ्चार्ज यामलाल कंडेलले विश्वविद्यालयभित्रको समस्या समाधान गर्ने जिम्मेवारी त्यहाँ कार्यरत शिक्षक तथा विद्यार्थीहरुकै भएको बताए । विद्यार्थीहरुलाई निर्माण कार्यको ठेक्का दिने, लिने प्रवृत्तिले विश्वविद्यालयको विकास नहुने उनले बताए । उनले भने, ‘सबै इमान्दार र सदाचार बन्नुपर्छ ।’

 

नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले आयोजना गरेको उक्त छलफलमा नेकपा सम्वद्ध नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

२०७५ मंसीर ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्