खासमा म फिल्म हेर्न नजाने मान्छेको कोटीमा पर्छु । फिल्मी ज्ञान नभएको मनुष्यको सूचिमा दर्ज छु । फिल्म मालिका हेर्दासम्म जम्मा जम्मी ५ वटा नेपाली फिल्म हेरे हुँला ।
फिल्म मालिका आफ्नो मातृभूमिमा बनेको हुँदा कुन दिन हेरौला भनेर कुतकुत भै रहेको थियो । त्यो भन्दा झन महिला माथि हुने सामाजिक कर्तुतहरु कसरी उठाएको छ भनेर हेर्न आतुर थिएँ । सामाजिक अन्याय, बेतिथि र सामाजिक दुराचारको विरुद्ध लेख्नु, बोल्नु र भन्नु आफ्नो कर्तव्य सम्झन्छु । र मालिका पनि सामाजिक हिंसाको वकालत गर्ने फिल्म भएकोले केही गन्थन नलेखि बस्न सकिन ।
प्रेम जोडीहरुको रगतलाई तताउँछ । उमाल्छ । र फिल्म हल सिट्टी र कोलाहालको ध्वनीले मचिन्छ । घत् लाग्दो प्रेम काहाँनीले रंगिन हुन्छ, फिल्म हल । मान्छेको मन फिल्मी पात्रहरु प्रति केन्द्रित हुन्छ । आकर्षित हुन्छ भन्ने बुझेको हुँ मैले । तर खासमा फिल्मले मान्छेहरुलाई भावुक बनाउँछन् । तर मालिका फिल्मले भावुक भन्दा अझ धेरै सोच मग्न बनाउँछ । हेर्दै जाँदा हलमा सन्नाटा छाउँछ ।
दाइजो कम भएको निहुँमा छोरीको विवाह स्थगन हुनको पिडाले मनमा आक्रोश र प्रतिशोधको ज्वाला दन्किन्छ । एक निर्दोस छोरीमाथी समाजका भलाद्मी, जान्नेमान्ने, ठालु भन्नेहरुको गिद्दे दृष्टिले झन आवेगको राँको बालिदिन्छ । विविधताको सम्मान गर्न नसक्नेहरुको नजरमा भूगोलमा जन्मेकै आधारमा एक असल र अर्को खराब ठहरिन्छ । एक बलवान र अर्को निरीह । यो समाजको यर्थात मात्र होइन तितो सत्य पनि हो ।
समाजले बलात्कारीलाई संरक्षण र बितण्डा मच्चाउने पिपाशुहरुलाई कसरी स्वीकार गर्छ ? भन्ने इमेज प्रष्ट देखिन्छ । बालविवाहलाई स्वीकार गर्ने समाज प्रति निकै दया लागेर आउँछ र भन्न मन लाग्छ छि हाम्रो समाज । मालिका फिल्म जीवन होइन जीवन्त । व्यक्ति होइन व्यक्तित्व हो । समाज होइन सामाजिक्तव हो ।
प्रेम महफिलमा रमाउनेहरुलाई यो फिल्मले नछोला । हिरोको फाइट मन पर्नेहरुको ध्यान नतान्ला । हिरोइनको अर्धनग्न शरीरसँग सिटी फुक्नेलाई नछोला तर समाजको थिति, नीति र विधिका सीमाहरु तहसनहस पार्दै कुरीति र कुसंस्कार गर्नेहरु विरद्धको सशक्त झंकार हो मालिका ।
यो फिल्मले वास्तवमा नेपालका ग्राउन्ड रियालिटी उजागर गरेको थियो । ग्राउन्ड रियालीटीमा बसेर समाज बुझ्न खोज्नेहरुले फिल्म हेरे भने नेपालको यथार्तता पक्कै बुझ्छन् । विभेद, उत्पिडन, पछौडेपन र अपराधको राजनीतिकरण कसरी हुन्छ भनेर विश्वको कुनै विश्वविद्यालयमा गएर पढ्नु पर्दैन त्यहि गाउँ बस्ति गए पुग्छ । अध्यताहरुलाई अध्ययन अनुसन्धान गर्ने प्रस्तत खजना छन ग्राउन्डमा । विशेषत कर्णाली प्रदेश लगायत नेपाल भूभाग भित्रका संस्कार, चालचलन र मानविय व्यवहारहरुलाई उजागर गरिएको छ । बलियोले निर्धालाई हेर्दे दृष्टिकोण अनि गर्ने निम्छरो व्यवहारको दुरुस्त चित्र उतारिएको छ ।
नारी, चेली, छोरी र बहिनिहरु कसरी लुटिन्छन् । उनिहरुको अस्तिमतालाई कसरी ध्वजा ध्वजा बनाएर उडाइन्छ । उनिहरुलाई केवल महिला भएर बाँच्न कसरी विवश पारिन्छ । उनिहरु प्रतिको आम बुझाई के हो । नेपाली समाजको यर्थाथता छचल्किन्छ । समाजशास्त्र र मानवशास्त्र भित्र नपढेका कथा र व्यथा चित्रण गरिएका छन् । र केही गर्न बाँकी छन् । हाम्रा समाजका यी वास्तविक पर्यायहरु कहिले विश्वविद्यालय र विद्यालयमा छिर्लान की न छिर्लान् ?
मान्छेले भाषा, पहिरन, र अंगालने संस्कृति उसका निजी सम्पति हुन । अझ अलि माथिबाट हेर्नेहो भने राष्ट्रका नै सम्पति हुन् । कसैलाई पनि आपत्ति गर्न बर्जित गरिएको छ । कमेन्ट गर्न नैतिक रुपमा अंकुश लगाइएको छ ।
हो, भूगोलले तराई, मधेश होचो र समथर छ । पहाड र हिमाल खस आर्यनहरुको नाक जस्तो भिरालो र ठाडो छ । भूगोल विविध, मान्छे विविध छ पो हामी विधितामा एकता भनेर रमाएका छौं । हामी बहुसंस्कृति, बुहुभाषा, बहुजाति, बहुर्धम, बहुविशेषतायुक्त फूलबारीमा सजिएका छांै । सबैका आ आफ्नै छान्का बान्का र विशेषता छन् । भूगोल, क्षेत्र, संस्कार र रितिथिति आफैमा कुरुप हुदैन । कुरुप त हेर्ने नजरमा हुन्छ । हामी भित्रको त्यही कुरुप नजरले गर्दा छोरी, चेली र आमा नारीको रुपमा पुज्य हुन सकिनन् । र त आज दिन दहाडै अस्तिमता माथिको बर्ज्रपात बिघ्न रुपमा असरल्ल छ ।
गाउँबाट शहर सम्म छोरीहरु किन एक्लै जान सक्ने वातावरण बनाएन समाजले । छोरीहरु पनि अवसर पाए गर्न सक्छन भन्ने किन बुझेन समाजले । छोरीहरु घरको चुलोचौकामा सीमित हुने जात हो भनेर किन भन्यो समाजले । किन स्वतन्त्र भएर बाँच्न सिकाएन । यी समाज प्रति आर्तना हुन् । नारीको शरीरमा उम्रिने हरेक चिजवस्तु उसैको लागि किन विष्फोटक पर्दाथ बने । पटक पटक मान्छेले विष्फोट गर्दै मृत्युवरणमा किन पुर्याउँछ । यो आक्रोश तिनै विवेक, चेतना, र संस्कार नभएको चुथिया समाज र समाजका कलंकहरु प्रति ।
अपराधिहरु जुन दिन सम्म अदालत, प्रशासन र कानूनसँग मात्र डराइरहन्छन्, त्यो दिन सम्म सामाजिक हिंसामा कमि आउने छैन । समाजसँग डराउने वातावरण जुन दिन हुन्छ त्यो दिन देखि हिंसाको उँधोगति शुरु हुनेछ ।
शिक्षाले साक्षर मात्र बनाएर हुदैन सक्षम पनि बनाउनु पर्छ । हरेक पात्र मान्छे भएर बाँच्न सिकाउनु पर्छ । प्रतिकारको क्षमता निर्माण गर्नु आवश्यक भएको अनुभूति हुन्छ । सामाजिक स्कुलिङ्ग परिवर्तन गर्न जरुरी छ ।
यो त सामाजिक चेतनाको झिल्को मात्र हो । अब दनदनी आगो लागेर धुवाको मुस्लो निस्कन अझै बाँकी नै छ । त्यसको लागी बोल्न जरुरी छ सबैले । कोही आँधी भएर आउ उडाऔं । कोही वर्षाको भेल बनेर आउ बगाऔ । कोही प्रचण्ड गर्मी को धुप बनेर आउ जलाऔं । कोही ज्वारभाट बनेर आउ नाश गरौ । कोही भूकम्प बनेर आउ विनाश गरौं । समाजका कलंकको अन्त्य गरौं ।
उसलाई पर्यो मलाई परेको छैन भनेर कसैले सहानुभूति प्रकट गर्नुपर्ने ठाउँ छैन । यो अपराध हो । जसको सिकार जुन बेला जसको छोरोचेली पनि हुन सक्छन् । त्यसकारण यसको दण्ड नीति, प्रवर्द्धनात्मक नीति र निरोधात्मक नीति अवलम्बन गरी सबैको साझा सरोकारको विषयमा हातेमालो गर्न अब ढिलाई गर्न हुदैन् ।
यद्यपी मालिकामा नारीले समाजमा भोगेका कुराहरु दर्दहरु, मनका बहहरु र पिडाहरु जति आउनु पर्ने थियो त्यो आउन बाँकी छ । केटी पारा अझै लुकेको अनुभूति भएको छ । यो टिमले अर्को एपीसोड तयार गरेछ भने पंक्तिकारको पनि जुझारु सुझाव हुनेछ ।
प्रतिकृया दिनुहोस्