१० मंसिर । सिमकोट गाउँपालिकामा सोमबारदेखि जिल्लाकै ठूलो पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । योङ्ग स्टार क्लबको आयोजनामा संचालन भएको गाउँपालिका स्तरीय प्रतियोगितामा पुरुषतर्फ नौ वटा र महिलातर्फ पाँच वटा समुहको सहभागिता रहेको छ ।
पुरुषतर्फ सिमकोट ए र बी, खार्पुनाथ ए र बी, नाम्खा, चंखेली, सर्केगार्ड, ताँजाकोट र अदानचुली गाउँपालिकाका समुहहरु रहेका छन । यसैगरी महिलातर्फ चंखेली, सिमकोटका दुई वटा, खार्पुनाथ तथा सर्केगार्डको समुह रहेको आयोजकले जनाएको छ ।
दर्ता शुल्क १५ हजार लिइएको उक्त प्रतियोगिताको बिजेतालाई पुरुषतर्फ एक लाख, द्धितीयलाई पचास हजार, तृतीयलाई २५ हजार र उत्कृष्ट तथा अनुशासित समुहलाई २० हजार पुरस्कार दिइने छ ।
त्यसै गरी महिलातर्फ प्रथमलाई ५० हजार, द्धितीयालाई ३० हजार तथा तृतीयालाई २० हजार नगद पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष रबिन कुमार बस्नेतले बताए ।
मंसिर १५ गतेसम्म संचालन हुने प्रतियोगिताबाट आगामी माघ पहिलो साता संचालन हुने क्षेत्रीय खेलकुद प्रतियोगिताको लागि खेलाडीहरु पनि छनौट गरिने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिनोद बोहोराले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले खेलकुदको बिकासका लागि सबै क्षेत्रको सहयोगको आबश्यकता रहेको बताए ।
प्रतियोगिताको पहिलो खेल सिमकोट ए र सर्केगार्ड बी का बिच प्रतिश्प्रर्धा भएकोमा सिमकोट ए बिजेता भएको छ । मंगलबार बिहान आठ बजेबाट सर्केगार्ड ए र चंखेलीका बिच खेल हुने भएको छ ।
प्रतिकृया दिनुहोस्