१० मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास कार्य ‘डोनर’ले नभई जनताले गर्ने वताएका छन् । जिल्ला समन्वय समिति कालीकोटद्वारा आयोजित दोश्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको अभियानमा जनतालाई गोलवन्द गर्नुपर्ने बताए ।
स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले भने– ‘तपाईं हामीलाई जनताले सरकारमा पठाएका हुन, हामी जनतातिरै फर्कनुपर्छ ।’ विकास अभियानमा दातृ निकायको सहयोगी भुमिका मात्र हुने वताउँदै जनतालाई साथमा नलिई विकास र समृद्धिको अभियान पूरा नहुने उनको भनाई छ । शाहीले नकारात्मक सोच र राजा रजौटाको शैलीले जनताको विश्वास आर्जन गर्न पनि नसकिने बताएका छन् ।
कालीकोटको मात्र नभई सिंगो कर्णालीको विकासका लागि आफूले आर्थिक श्रोतको अभाव हुन नदिने भन्दै श्रोतको सदुपयोग र दिगो विकासमा ध्यान दिन शाहीले सबैलाई आग्रह गरे । ‘जनतालाई उत्पादनमुलक काममा नजोडी समृद्धि प्राप्त हुँदैन,’ शाहीले भने– ‘कृषि, उद्योग, पर्यटन, जडिवुटी लगायतका क्षेत्रमा उत्पादनमुलक योजना निर्माण गरेर काममा लाग्नुपर्छ ।’
सभामा स्थानीय तहका जनप्रतिनिधिहरुले कर्मचारी अभावको कारण काम गर्न गाह्रो भएको गुनासो गरेका छन् । उनीहरुले प्रदेश लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्न समेत प्रदेश सरकारलाई आग्रह गरेका थिए ।
जिल्ला सभाको सफलताको शुभकामना दिंदै जिल्लास्थित राजनीतिक दलका नेता तथा नागरिक अगुवाहरुले कालीकोटको विकास र समृद्धिको लागि सुनथराली विमानस्थलमा हवाई यातायात सञ्चालन गर्नुपर्ने, कर्णाली लोकमार्गको स्तरोन्नती र सडक पुल निर्माण कार्य तत्काल पुरा हुनुपर्ने, गुणस्तरीय रोजगारमुलक शिक्षाको व्यवस्था गर्नुपर्ने, साना तथा मझौला उद्योगहरुको विकास गर्नुपर्ने, पर्यटन र आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, राष्ट्रियसभा सदस्य जिवन वुढा, नरपति सुनार, प्रदेशसभा सदस्य कुर्मराज शाही र सोशीला शाही लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्