म २७ साल असार २० गते जन्मिएको हुँ । तत्कालीन गर्पन गाउँ पञ्चायत अर्थात हाल वीरेन्द्रनगर नगरपालिका १६ ढारखोरिया भन्ने ठाउँमा मेरो जन्म भएको हो ।
हाम्रो परिवार राजनीतिक खालको थियो । हजुरबुवा गाउँको मुखिया हुनुहुन्थ्यो । बुवा टोपबहादुर थापा र आमा डिलकुमारी थापाको जेठो सन्तान थिएं म ।
३१ सालमा बुवाको मृत्यु भयो । मेरो पठनपाठनमा आमाले नै सहयोग गर्नुभएको हो । उतिबेला मेरो परिवार गाउँको सम्पन्न परिवार थियो । खेतिपाती तथा पशुपालनमा मात्र होइन राजनीतिमा पनि उत्तिकै अगाडि । हजुरबुवा पञ्चायत पक्षधर हुनुहुन्थ्यो ।
पढ्दापढ्दै कम्युनिष्ट
मेरो बाल्यकाल त्यति असजिलो होइन । सुर्खेतकै पुरानो आदर्श माध्यामिक विद्यालय गर्पनमा मेरा पुसाईं देवबहादुर ढकालले मलाई पढाउन लैजानुभयो । त्यतिबेला मेरो बुवाको मृत्यु भईसकेको थियो । तर म त्यहाँ धेरै बसिन ।
मेरो घरबाट विद्यालय जान दुई घण्टा पैदल हिंड्नुपर्थ्यो । पछि मामाघरको हजुरबुवाले मलाई पढाउनको लागि सुर्खेतको चिङगाड गाउँपालिकाको रजेना लैजानु भयो । त्यहीं बसेर मैले नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट औपचारिक रुपमा कक्षा १ पास गरेको हुँ ।
गर्पनको आदर्श माविमा २ देखि ४ सम्म पढें । अवलचिङको भैरव माविबाट कक्षा ५, ६ र ७ पास गरें । दशरथपुरको जीवन ज्योतिमा कक्षा ८ र ९ पढें । तर ९ मा पढ्दा नै मलाई राजनीतिक आक्षेप लगाएर विद्यालयबाट निकालियो । त्यसपछि पुनः घरमै आएर आदर्श मावि गर्पनमा पढ्न थालें । ४० सालमा एसएलसी पास गरें ।
म कक्षा ७ पढ्दानै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध थिएं । त्यो बेला भैरव मावि अवलचिङमा एकजना शिक्षक हुनुहुन्थ्यो । उहाँले कम्युनिष्ट आन्दोलनको बारेमा भन्नुहुन्थ्यो । अन्याय र अत्याचारका विरुद्धको यो अभियान हो भन्ने लागेपछि मैले पनि अठोट गरेको थिएं । उहाँकै प्रेरणामा म कम्युनिष्ट भएको हुँ ।
त्यो बेला फस्ट डिभिजन भन्ने हुँदैनथ्यो तर म त्यो क्षेत्रको फस्ट बिद्यार्थी भएं । वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट आइए पास गरें । अंग्रेजी, अर्थशास्त्र र इतिहास मेजर विषय थिए । २०४४ साल भदौमा म लगायत मेरा साथीहरुलाई पञ्चायत विरोधी काम गरेको भन्दै गिरफ्तार गरियो । शान्ति सुरक्षा ऐन अनुसार जेलमा राखियो ।
जेलमा आराम लाग्थ्यो
पञ्चायती व्यवस्था र तत्कालिन समाजमा शान्ति सुरक्षामा खलल पारेको कारण तपाईंलाई नजरबन्दमा राखिएको छ भन्ने पुर्जी थियो । हामी करिब नौ महिना सुर्खेत जेलमा बस्यौं । त्यो बेला राजा वीरेन्द्र सुर्खेतमा सवारी हुने भन्ने थियो । राजाको सवारीपछि मात्र हामी रिहा भयौं ।
शान्ति सुरक्षा ऐन अनुसार हामीलाई ९ महिना नजरबन्दमा राख्ने भनेपनि राजाको सवारी हुने भएकाले केही दिन पछि मात्र २०४५ बैशाख २२ गते रिहा गरियो । नवराज कंडेल, अनिता कोइराला, झकबहादुर जिसी, चुडामणी कंडेल र नेपालगञ्जका गोविन्द बन्दी पनि जेलमै हुनुहुन्थ्यो । धेरै मान्छे जेलमा थिए । आन्दोलन पनि तहसनहस भएको थियो ।
उतिबेला जेलमा चर्को यातना दिइन्थ्यो । यति यातना दिन्थ्यो कि आँखामा पट्टी बाँधेर केही सोधपुछ नै नगरी कुटपिट गर्दथ्यो । बानी परेपछि मलाई जेलजीवन आरामको लाग्यो । जेल बस्नुपर्यो भनेर कत्तिपनि मन दुखेन तर परिवारलाई भने पीडा भयो ।
पञ्चायती परिवार
घरमा राजनीतिक संस्कार थियो । मेरो हजुरबुवा गाउँपञ्चायतको मुखिया हुनुहुन्थ्यो । मामाघरको हजुरबुवा गाउँको प्रधानपञ्च । बुवा शिक्षक भएपनि गाउँको उप प्रधानपञ्च हुनुहुन्थ्यो ।
बामदेव गौतमसंग मेरो बुवाको राम्रो सम्बन्ध थियो । बुवा र बामदेव गौतम साथी हुनुहुन्थ्यो । परिवार नै राजनीतिमा संलग्न भएकाले मलाई पनि राजनीतिमा सानैदेखि चासो बढ्यो ।
मेरो परिवार पञ्चायतको समर्थक भएपनि म कम्युनिष्ट बनें । यसमा मेरा शिक्षकहरुको प्रभाव थियो । उहाँहरुले कम्युनिष्ट आन्दोलनका बारेमा भन्नुहुन्थ्यो । संगठन गर्न सिकाउनुहुन्थ्यो । अनेरास्ववियुमा सक्रिय भई काम गर्दा म पञ्चायत व्यवस्था विरोधी भैसकेको थिएं ।
संघर्ष नै जीवन
जीवनलाई सार्थक बनाउ आफै संघर्ष गर्नुपर्छ भन्ने नै मेरो जीवनसम्बन्धी बुझाई हो । जीवनलाई कस्तो बनाउने भन्नेबारे सम्बन्धित व्यक्ति नै जिम्मेवारी हुन्छ । किनभने कर्तव्य निर्वाह गर्ने कुरामा सचेत हुनु जरुरी छ ।
पार्टीकै झण्डा समातेर मन्त्री हुन सकिएन । तर राजनीति भनेको समाज बदल्नका लागि हो भन्ने मैले बुझेको छु । विद्यार्थी कालमा म राजनीतिमा सक्रिय थिएं । त्यो पनि व्यवस्था बदल्नकै लागि थियो । राजनीतिलाई मैले कहिल्यै पनि पेशाको रुपमा बुझिन । राजनीति समाज सेवा हो ।
हेडसरको हैसियत
अहिले म एउटा विद्यालयको प्रधानाध्यापक छु । उक्त हैसियतमा मैले के कुरालाई प्राथमिकतामा राख्ने भन्ने राम्रोसंग बुझेको छु । मेरो जिम्मेवारी विद्यालयलाई राम्रो बनाउने हो । र त्यसकै लागि अगाडि बढेको छु । हेडसर भएपनि राजनीतिसंग टाढा छैन ।
राजनीति बिग्रियो भने हाम्रो समाज विग्रन्छ । शिक्षा र राजनीति एक अर्काका परिपुरक हुन् । राजनीतिबाट कोहीपनि अछुतो छैन । तर यसमा मेरो अलग धारणा छ । पद र प्रतिष्ठाको लागि मैले राजनीति गरेको छैन र गर्ने पनि छैन । पद वा प्रतिष्ठा क्षणिक हो ।
नेकपाको निर्माण ऐतिहासिक
नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई मैले स्वर्णिम समयको रुपमा बुझेको छु । किनभने नेपालको कम्युनिष्ट आन्दोलन सबल भएको छ । यसअघि पार्टीहरुको फुट स्वाभाविक निरन्तरता बनेको थियो । २५ सालदेखी झण्डा एउटै, आशय एउटै तर आन्दोलनले फरक रुप लिएको स्थिति थियो ।
पार्टी एकीकरणको शक्तिले हामीलाई गन्तव्यमा पुग्न सक्ने बल मिलेको छ । यो नेपाली राजनीतिक इतिहासकै स्वर्णिम युग हो । सिङ्गो मुलुकका लागि एकदमै राम्रो काम हो । संविधान निर्माणसंगै राजनीतिक वैमनश्यता पनि अन्त्य भएको छ ।
यद्धपि आजका कार्यकर्तामा सैद्धान्तिक स्कूलिङको कमी छ । ‘गंगाजीमा पनि भ्यागुतो पाइन्छ?’ भन्नेहरु धेरै छन् । अरुको विचार सुन्ने र तर्क गर्ने क्षमतामा कमी भएको महसुस भएको छ । अवसरको समानुपातिक वितरण छैन । पदलोलुपहरु बढेका छन् ।
औषधी खान शिक्षक
मेरो पारिवारिक जीवन पनि राम्रो छ । दुई छोरी छन् । एउटाले एमबिए गरेकी छन् । अर्कीले विएस्सीएजी । श्रीमती पद्मी कार्की घरको काम गर्छिन् ।
म जेल गएपछि औषधी खानको लागि शिक्षक भएको हुँ । अर्को कुरा मैले अंग्रेजी पढें र बाध्यताले मैले पढाइदिनुपर्ने भयो । म ५० सालदेखि शिक्षण पेशामा संलग्न छु । ६० सालमा स्थायी भएँ । मावि सेकेण्ड क्लासको अंग्रेजी शिक्षक हुँ ।
दुई वर्ष भयो अमरज्योती नमुना मावि नेवारेमा प्राधानाध्यापक छु । मलाई सानोमा यो बन्छु भन्ने केही थिएन । तर मेरो बुवा शिक्षक भएकोले शिक्षण पेशामा लगाव बढेको पत्तै पाइन ।
जीवनमा कहिल्यै हरेस खाइन । विद्यालयबाट निकालिएं । जेल परें । जेलमा अत्याधिक यातना पाएं । यी सबैले मलाई जीवन जीउन उर्जा दिए । त्यो समय पञ्चायतको विरोधमा उत्रिनु कम्ती खतरा थिएन ।
प्रस्तोताः सीता वली
प्रतिकृया दिनुहोस्