१८ मंसिर । महिलाहरुले आफूमाथि हुने दुव्र्यवहारको खुलेर विरोध गर्नुपर्ने परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । सुुर्खेतको वीरेन्द्रनगरमा आयोजित लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवालाको जिम्मेवारी र भूमिका विषयक अन्तक्रियामा हिंसाजन्य व्यवहार महिलाहरुले सार्वजनिक गर्नुपर्ने बताए ।
‘तपाईंहरुमाथि हुने कुनैपनि दुव्र्यवहार प्रष्ट रुपमा बाहिर ल्याइदिनुस्, तपाईंको गल्ति छैन भने किन डराउनुहुन्छ?’, मन्त्री ज्ञवालीले भने, ‘जबसम्म महिलाहरुले आफूमाथि हुने दुव्र्यवहारको प्रतिरोध गर्न डराउनुहुन्छ तबसम्म हिंसा कायम रहन्छ ।’
हिंसा अन्त्यका लागि महिलाहरु भयरहित वातावरणमा बाँच्न पाउने अवस्था सृजना गर्न जरुरी रहेको भन्दै ज्ञवालीले गाउँगाउँमा कानूनी सचेतनाका कार्यक्रम लैजानुपर्ने धारणा राखे । महिला सशक्तिकरणका लागि दर्जनौं कानुन बनाइएको भन्दै मन्त्री ज्ञवालीले संवैधानिक र कानूनी दृष्टिकोणले महिला सशक्तिकरणमा उपलब्धी देखिएपनि समाजमा देखिने सामाजिक समस्याको अर्को पाटोले हिंसा कायमै रहेको बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले लैङ्गिक हिंसा न्युनिकरणका लागि महिलाहरु सशक्त हुनपर्ने बताइन् । लैङ्गिक हिंसाअन्तर्गतका बढीजसो घटना महिलासंग सम्बन्धित भएकोले महिला सशक्तिकरण अनिवार्य रहेको उनले औंल्याइन् ।
संघीयतापछि देशमा तीन तहका सरकार निर्माण भएकाले हिंसा न्युनिकरणमा स्थानीय सरकारको भूमिका अपरिहार्य भएकोमा जोड दिँदै मन्त्री थापाले संघीय सरकार यस्ता विषयमा तल्ला तहका सरकारलाई सशक्त बनाउने काममा लागिरहेको जानकारी दिइन् ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजमा सभ्यता कायम राख्न सके लैङ्गिक हिंसा न्युनिकरण हुने बताए । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले हिंसाजन्य क्रियाकलाप अन्त्य गर्न सामाजिक कुरितिका संरचना भत्काउनुपर्ने बताए ।
कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, कर्णाली प्रदेशका सभामुख, विभागीय मन्त्रीहरु, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्