Birendranagar Municipality

संघ र प्रदेशको द्वन्द्व समन्वय परिषदले हल गर्छ : परराष्ट्र मन्त्री ज्ञवाली

सेरोफेरो/सुर्खेत
संघ र प्रदेशको द्वन्द्व समन्वय परिषदले हल गर्छ : परराष्ट्र मन्त्री ज्ञवाली

१९ मंसिर । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संघीय सरकार र प्रदेश सरकार बीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषदको वैठकले हल गर्ने वताएका छन् ।

 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विषयगत मन्त्री र सचिवहरुसंग वुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटघाटमा ज्ञवालीले नेपालको संघीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकोले संघीयताको अभ्यासमा केही समस्याहरु देखिएको वताए ।

 

निर्वाचन अघि नै संरचना र कर्मचारीको व्यवस्थापन गर्न नसक्दा प्रदेश सरकारको कार्यसम्पादनमा प्रभावकारिता देखिन सकेको छैन, उनले भने सरकारले भर्खरै जारी गरेको कर्मचारी समायोजन अध्यादेशले कर्मचारी व्यवस्थापनको समस्या हल गर्छ । प्रदेश लोकसेवा आयोग गठन पछि दीर्घकालीन रुपमा समस्या सामाधान हुन्छ ।

 

समृद्ध नेपाल, सुखी नेपालीको नारा प्रधानमन्त्रीको मात्र नभएर सिंगो नेपालको भएको वताउँदै मन्त्री ज्ञवालीले उक्त नारा कार्यान्वयनका लागि सबै तहका सरकारले अपनत्व लिनुपर्ने बताए । उनले कर्णालीको विकास र समृद्धि विना नेपालको समृद्धि असंभव रहेको औंल्याउँदै प्रदेश सरकार मातहतका कर्मचारीहरुलाई दत्तचित्तका साथ काम गर्न पनि आग्रह गरे ।

 

भेटघाटमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको समन्वय विना प्रदेश सरकारले गर्न नसक्ने काममा संघीय सरकार गम्भीर बन्नुपर्ने वताए । भौगोलिक विकटता र अल्पविकास कर्णालीका विशिष्ट समस्या भएकोले कर्णालीमा तिव्र विकासको आवश्यकता रहेको शाहीले बताए ।

 

भेटघाट कार्यक्रममा प्रदेश सभाका सभामुख राजवहादुर शाही, प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव र सचिवहरुको सहभागिता रहेको थियो ।

 

२०७५ मंसिर १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्