Birendranagar Municipality

मप विश्वविद्यालयमा फेरी आन्दोलन, को हो पर्दा पछाडीको खेलाडी ?

सेरोफेरो/सुर्खेत
मप विश्वविद्यालयमा फेरी आन्दोलन, को हो पर्दा पछाडीको खेलाडी ?

फाइल तस्बिर

२३ मंसिर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा फेरी आन्दोलन शुरु भएको छ । नेपाल विद्यार्थी संघ निकटका केहि विद्यार्थीले रजिष्ट्रार महेन्द्र मल्ललाई निलम्बित गरी छानविन समिती गठन गरेको विरोध गर्दै विश्वविद्यालय केन्द्रिय क्याम्पसमा आइतबार ताला लगाएका छन् ।


नेविसंघका केहि विद्यार्थीले प्रशासन र पठन पाठन बन्द गर्न आह्वान गर्दै नारा जुलुस गरेका थिए । त्यसको प्रतिकारमा  अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, स्वतन्त्र र नेविसंघ समेतले पठन पाठन शुरु गर्नुपर्ने भन्दै नाराजुलुस गरेको अनेरास्ववियुका नेता निकुञ्ज पाण्डेले जानकारी दिए ।


'उनीहरुको न माग छ, न कुनै विज्ञप्ती छ । खाली गुण्डागर्दि शैलीमा पठन पाठन बन्द गर्न आन्दोलन थालेपछि त्यसको विरुद्दमा हामी लागेका छौं' पाण्डेले भने ।

 MU 2

नेविसंघले भने आन्दोलनको कारक उपकुलपति भएको आरोप लगाएको छ । नेविसंघ इन्जिनियरिङ क्याम्पस समितीका कार्यवाहक अध्यक्ष राजन केसीले उपकुलपतिले विधि र पद्दती बाहिर गई रजिष्ट्रारको उपस्थिती बिना नियुक्तिहरु गरेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको बताए ।


राजनले भने, 'दुुई तिहाईको दम्भ देखाएर नियुक्ति गरिएको छ । वार्ता गरौं भन्न गएका बिद्यार्थीलाई उल्टै सार्वजनिक केस हाल्नुभएको छ । हामी यसको विरुद्धमा छौं ।' 


मंसिर २० गते रजिष्ट्रार मल्ललाई निलम्बित गरि सहप्राध्यापक यामबहादुर कार्कीलाई रजिष्ट्रार नियुक्त गरिएको थियो । रजिष्ट्रारले पदीय आचरण अनुरुपको व्यवहार नगरेको भन्दै विश्वविद्यालय सभाका एक चौथाई सदस्यले गत बिहिबार कुलपति समक्ष निवेदन दिएका थिए ।

 

मल्ल हाल छानविनको प्रक्रियामा छन् । आन्दोलनरत नेविसंघका एक खेमाका विद्यार्थीलाई उनै मल्लले परिचालन गरेको एक प्राध्यापकको जिकिर छ ।

२०७५ मंसिर २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्