२३ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियानको सोमबार पन्ध्रौं दिन हो । यस विचमा अन्तराष्ट्रिय र राष्ट्रिय हुदै स्थानिय स्तरसम्म विभिन्न रचनात्मक गतिविधि मार्फत चेतनामुलक अभियानहरु सञ्चालन भइरहेका छन् ।
प्राकृतिक स्रोत बाहेक अन्य सबै हिसाबमा पछाडी रहेको कर्णाली प्रदेश पनि विभिन्न प्रकार र रुपमा हुने हिंसाबाट अछुतो छैन । यद्यपि कर्णालीका महिलाले कस्ता हिंसा भोगिरहेका छन् भन्ने विषयमा वास्तबिक तथ्याङ्क भने सरकारको कुनै निकायसंग छैन ।
खासगरी यो प्रदेशको महिला हिंसाको अवस्था र हिंसा कसरी कम गर्न सकिन्छ ? भन्ने विषयमा सेरोफेरोको चौतारीमा विभिन्न सरोकारवालासंग कुरा गरिएको छ ।
दल रावल- मन्त्री
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश
कर्णाली प्रदेशका महिलाहरुले आर्थिक अभाव, त्यसका कारण घरेलु हिंसा, मानसिक हिंसा भोगीरहेका छन् । कर्णालीका महिलाहरु शैक्षीक अवसरबाट बञ्चित रहेको अवस्था छ । शिक्षा, स्वास्स्थ्य लगाएतका आधारभुत आवश्यकताबाट समेत बञ्चित छन् ।
हिंसामुक्त समाज निमार्णका लागि विभिन्न खालका चेतनामुलक कार्यक्रमहरु गरिरहेका छौं । कर्णाली प्रदेशका प्रत्येक स्थानिय तहसंग समन्वय गरेर महिला हिंसाको अन्त्य तथा बालविवाह, बहुविवाह, छाउपडि, छुवाछुत अन्त्य गर्ने स्थानिय तहलाई प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेका छौं ।
१६ दिने यो अभियानले मात्रै महिलाहिंसा न्युनिकरणमा सहयोग पुग्दैन । यसका लागि नीति निर्माण गरेर अगाडि बढ्नु जरुरी छ । नीति निर्माणमा सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । साथै महिलाको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायहरुलाई सचेताका कार्यक्रम ग्रामीण क्षेत्र जहाँ वास्तबिक पीडामा महिलाहरु बाँचिरहेका छन् । त्यहाँ लैजानु पर्छ ।
सडकमा र्याली मात्रै गरेर हुँदैन वास्तबिक रुपमा अनुभूती हुने खालका कार्यक्रमहरु गर्नु आवश्यक छ ।
सिस्टर रोसिटा
कार्यक्रम संयोजक , नवज्वती केन्द्र
नेपाली समाजका महिलाहरु हिंसामा पर्नुको प्रमुख कारण घरेलु मदिरा र श्रीमान्ले श्रीमतीहरुलाई विश्वास नगर्नु हो । नेपालमा परिवारले पनि महिलाहरुलाई मायां गर्दैनन् । भारतमा परिवार एकजुट हुन्छ तर नेपालमा पारिवारिक विखण्डन बढि हुने भएकोले पनि महिलाहरु हिंसामा परेका छन् । आर्थिक रुपमा शसक्त नहुनु पनि हिंसाको कारण हो ।
महिला शसक्तिकरणको लागि नवज्योती केन्द्रले सिप विकासका कार्यक्रमहरु सञ्चालन गरेको छ । विभिन्न समुहहरु गठन गरी महिलाहरुलाई चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेका छौं । हामीले महिलाहरुलाई सिप सिकाउने मात्रै होईन व्यवसाय सञ्चालनको लागि ऋण समेत हाम्रै सहकारीबाट दिने गरेका छौं । महिला दिदिबहिनीहरुले व्यवसाय सञ्चालन गरे नगरेको अनुगमन समेत हामीले गर्ने गरेका छौं ।
महिला हिंसा अन्त्य गर्न लागि सरोकारवाला निकायहरुले महिला मात्रै होईन पुरुष वा परिवारका अन्य सदस्यलाई समेत संगै राखेर चेतनामुलक कार्यक्रम सञ्चालन गर्नु जरुरी छ । नेपाली समाजमा ममिदाराको प्रयोग अत्यधिक हुने गरेको छ । सरकारले मदिराको नियन्त्रणका लागी काम गर्नुपर्दछ । महिलाका नाममा सडकमा जुलुश मात्रै होईन आर्थीक रुपमा सम्बृद्ध हुनको लागि सिप सिकाउनु जरुरी छ ।
मधुरानी ढकाल
निर्देशक, सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)
महिला हिंसा अन्त्य गर्नका लागि समाज चेतनशिल हुनु जरुरी छ । यसै कुरालाई मध्यनजर गर्दै चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं । प्रदेश देखी जिल्ला स्तर सम्मका चेतनामुलक कार्यक्रमहरु हाम्रो संस्थाले गरिरहेको छ ।
हाम्रो समाज पितृसत्ताले जगडिएको छ । समाजको संस्कारका कारण महिलाहरु बाहिर आउन सकेका छैनन् । पितृसत्तात्मक समाजमा सबै अधिकार पुरुषसंग नै छ । जस्तै सम्पत्तीको अधिकार, परिवारको निर्णय आदि । यी कारणहरुले महिलाहरु अझै पनि हिंसा सहेर बस्न बाध्य भएका छन् । यसको लागि महिलाहरु शिक्षा, राजनीति र आर्थीक सम्वृद्धिको पाटोमा अगाडी बढ्नु जरुरी छ ।
सबैभन्दा ठूलो कुरा अर्थतन्त्र नै रहेछ । जबसम्म महिलाहरु आत्मनिर्भर हुन सक्दैनन्, तबसम्म महिला शसक्तिकरणको कुरा व्यर्थ हुन्छ । अर्को कुरा परम्परालाई सुधार्दै लैजानु पर्दछ । महिला संगसंगै उसको परिवारलाई समेत संगै राखेर चेतनामुलक कार्यक्रम गर्ने, राजनीति, शिक्षा र अर्थोपार्जनको काममा महिलाहरुलाई बढि भन्दा बढि सहभागी बनाउनु जरुरी छ ।
बद्मी क्वारी बोहोरा –डोल्पा
सांसद, कर्णाली प्रदेशसभा ।
महिलाहरु सबै खाले हिंसा सहन बाध्य छन् । त्यसमा पुरुष, महिला, समाज र राज्यका कारण हिंसाको सामना गर्न बाध्य छन् । महिला माथीको हिंसामा पुरुष मात्रै दोषी छैन । महिलाले पनि महिलालाई हिंसा गरिरहेका छन् । श्रीमान्ले श्रीमतीलाई, सासुले बुहारीलाई हिंसा गरिरहेका छन् ।
अर्को कुरा समाजले महिलालाई हेर्ने दृष्टिकोणका कारण पनि उनीहरु हिंसाको सामना गर्न बाध्य छन् । राज्यले महिला मैत्री कानुन निर्माण गर्न नसक्नु र कानुको कार्यान्वयन गर्न नसक्नु पनि हिंसाको मुख्य कारण हो ।
नेपाली महिलाहरु जहाँ पनि हिंसामा छन् । त्यसमा पनि कर्णाली प्रदेशको हिमाली जिल्लाका महिलाहरुले थुप्रै किसिमका हिंसा सहन बाध्य छन् । उनीहरुको स्वास्थ्य अवस्था नाजुक हुँदा परिवार र श्रीमान्बाट पिडित छन् । घरेलुहिंसा, बहुपती प्रथा, छुवाछुत लगाएतका थुप्रै कुप्रथाका कारण हिमाली जिल्लाका महिलाहरु पिडित भएका छन् ।
महिलालाई मात्रै चेतना दिएर हिंसा न्यनिकरण गर्न सकिंदैन । पुरुषलाई पनि सचेत बनाउनु पर्छ । परम्परागत मुल्य मान्यतालाई त्याग्दै नयां परम्परालाई स्थापित गर्नु पर्दछ जसका कारण समाजमा महिला हिंसाको अन्त्य हुन सकोस ।
मोहनमायाँ ढकाल
उपप्रमुख, वीरेन्द्रनगर नगरपालिका
वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी पनि भएकोले बढ्दो शहरीकरणका कारण विभिन्न समस्या बढ्दै गएका छन् । आत्महत्याको दर बढ्दो छ । सामाजिक सञ्जालको दुरुपयोगका कारण महिलाहरुमा समस्या आएको छ ।
आर्थिक रुपमा सम्बृद्ध नहुंदा पनि महिलाहरुले घरेलु हिंसाको सामना गर्नुपर्ने बाध्यता रहेको छ । नेपालको कानुनले बहुविवाह, वालविवाह नगर्ने भने पनि यस्ता खालका क्रियाकलाप वीरेन्द्रनगरमा भईरहेका छन् । जसले गर्दा महिलाहरु घरेलु हिंसा सहन बाध्य छन् ।
आर्थीक रुपमा परनिर्भर हुनु, पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग, पारिवारिक अविश्वास नै हिंसाको प्रमुख कारण हो ।
हामीले महिलाहरुकै लागि आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेका छौं । जस अन्र्तगत गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा लैजानको लागि निशुल्क गाडिको व्यवस्था गरेका छौं । छोरी जन्मबचत खाता सञ्चालन गरेका छौं । वीरेन्द्रनगर नगरपालीकामा जन्मने छोरीको लागी कार्यालयले बैङ्कमा एकहजार रुपैयां बराबरको खाता खोलीदिन्छ ।
महिलालाई रोजगारमा जोड्नको लागि महिला स्वरोजगार कार्यक्रमको कार्यविधी अन्तिम चरणमा पुगेको छ । वीरेन्द्रनगर नगरपालिकालाई हिंसामुक्त नगर बनाउनको लागि वडा स्तरका थुप्रै कार्यक्रमहरु सञ्चालनमा ल्याउने योजना छ ।
दिनबन्धु श्रेष्ठ
सांसद कर्णाली प्रदेशसभा
१६ दिनमा मात्रै महिला हिंसाको अन्त्य हुन्छ भन्ने मलाई लाग्दैन । यसको लागि संधै कार्यक्रमहरुको आयोजना गरिनु पर्दछ । कार्यक्रमहरु शहर केन्द्रित भन्दा पनि ग्रामीण क्षेत्रतर्फ लैजानु जरुरी छ ।
नेपाली महिलाहरु जहां पनि पीडित छन् । मैले त दुर्गममा भन्दा महिलाहरु सुगम क्षेत्रमा पीडित भएको पाएको छु । हाम्रो क्षेत्रका महिलाहरु घरेलु हिंसा र लैङ्गिक हिंसा सहन बाध्य छन् ।
म एउटा जनप्रतिनिधि भएको नाताले समाजलाई हिंसा मुक्त गराउनु कर्तव्य पनि हो । मेरो कार्यकालमा संसदमा मैले महिलाहिंसा लाई अन्त्य गर्नको लागि आवाज उठाउने छु । महिला मैत्री कानुन तथा नीति निर्माणमा समेत सहयोग गर्नेछु ।
सोमना खड्का
सचिव, नेपाल नेत्रहिन संघ सुर्खेत
महिलाहरुले हिंसा खेप्नुको मुख्य कारण आर्थिक रुपमा कमजोर हुनु हो । अर्को कारण पितृसत्तात्मक सोच, सामाजिक मुल्य र मान्यता तथा लैङ्गिक विभेद पनि हो ।
आम महिलाको तुलनामा अपाङ्गता भएका महिलाहरुले बढि हिंसा सहन बँध्य छन् । अपाङ्गगता भित्र पनि दृष्टिबिहिन महिलाहरुको त दर्दनाक पीडा छ । विशेषगरी यात्राको क्रममा दृष्टिबिहिन महिलाहरुले बढि हिंसाको सामना गर्नुपरेको छ । न्याय दिने प्रहरी र अदालतले समेत न्याय दिन हिचकिचाउंछ । त्यस्तै गरी पारिवारीक हिंसा पनि अपाङ्गगता भएका महिलाहरुले भोग्नु परेको छ ।
हिंसामुक्त समाज निर्माण गर्न एक जनाले मात्रै सम्भव छैन । यसमा व्यक्ति स्वयम्, परिवार, समुदाय, समाज र राज्यको समेत ठूलो भूमीका छ । सबैले आ–आºनो क्ष्ँेत्रबाट आफू पनि हिंसा नगर्ने र अरुलाई पनि गर्न नदिने हो भने हाम्रो समाजबाट हिंसाको अन्त्य हुन्छ ।
दयाराम सुवेदी
उपप्रध्यापक, मध्यपश्चिमाञ्च विश्वविद्यालय
समाजमा महिलाहरुलाई बढि हिंसा हुनुको कारण पितृसत्तात्मक सोचको कारण हो । पुरुषहरु जहिले पनि आफूलाई बलियो सम्झन्छन् जसका कारण महिलामाथी उनीहरुले नै दमन गर्दछन् ।
चेतनामुलक कार्यक्रमहरुलाई व्यापक गर्न जरुरी छ । जसका लागि राज्य र सरोकारवाला निकायहरु गम्भिर हुनु जरुरी छ ।
महिलाहरु ग्रामीण क्षेत्रमा बढि पीडित छन् । जसको लागि सरोकारवाला निकायहरु ग्रामीण क्षेत्रमा जानु पर्छ । विशेष गरी अन्य जातीको महिलाहरु भन्दा दलित र मधेसी महिलाहरु अझ पीडित छन् । यसमा पनि राज्य र सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।
पहिलेको तुलनामा महिलाहरुमा शसक्तिकरण त धेरै आएको छ । तर पनि अधिकारकर्मीहरु शहर केन्द्रित भएको महसुश मैले गरको छु ।
राजु नेपाली, सांसद कर्णाली प्रदेशसभा
संयोजक, सामाजिक विकास समिती
सामाजिक विकास समितीले त्यस्तो कुनै कार्यक्रमको तयारी र योजना बनाएको छैन ।
कर्णाली प्रदेशका महिलाहरुले थुप्रै प्रकारका हिंसाको सामना गरिरहेको मैले पाएकी छु । घरेलु हिंसा अन्तरगत शारिरीक, मानसिक लगाएत सामाजिक हिंसा पनि खेप्नु परेको छ । सामाजिक हिंसा अन्तरगत परिवारको सहयोग भएपनि कुनै पनि अवस्थामा महिलाहरुलाई समाजले अपहेलना गर्ने लगाएतका कुराहरु पर्दछन् ।
हिंसामुक्त समाजको लागि राज्य र समाज दुबैको उत्तिकै महत्व छ । आंफूलाई कतै हिंसा भएको छ भने महिला स्व्यम्ले सहनु पनि हिंसालाई बढावा दिनु हो । त्यसैले हिंसाको अन्त्यका लागि कानुनको प्रयोग पनि गर्न सक्नु पर्दछ ।
सीता शर्मा
सिनीयर अनमि, वीरेन्द्रनगर नगरपालिका
हिंसाले महिलाहरुलाई शारिरीक, मानसिक र सामाजिक तिनवटै किसीमको असर पार्दछ । महिलाहरुलाइ कुटपिट गर्ने, मानसिक तनाब दिने र समाज समेत उनीहरुलाई सहज जिवनयापन गर्न अप्ठ्यारो हुने अवस्था सिर्जना गर्दछ । जसले गर्दा महिलाहरु आंफूमा भएको क्षमता लुकाएर बस्नुपर्ने , डिप्प्रेशनमा पर्ने आदि हुन सक्दछ ।
हिंसा नव्यहोर्नको लागि त सबै भन्दा पहिला आºना व्यवहारहरु बदल्न जरुरी छ । आफू पनि शितल स्वभावको हुनुपर्दछ । आंफु राम्रो र सहि बाटोमा हिंडिरहदा पनि हिंसा भयो भने त्यसको प्रतिकार गर्नुपर्छ । सम्बन्धित निकायमा उजुरी समेत समयमै दिनुपर्दछ ।
रमा प्याकुरेल – सुर्खेत, अधिवक्ता
हिंसा भन्ने वित्तीकै हामी घरेलु हिंसालाई सबैभन्दा पहिले बझ्नु पर्दछ । प्राय नेपाली महिलाहरु घरेलुहिंसाबाट पीडित छन् । घरेलु हिंसामा परेका महिलाहरुका लागि नेपालमा विगतको तुलनामा अत्यन्तै राम्रा र तत्कालै न्याय पाउने खालका कानुन निर्माण भएका छन् । यसले महिलाहरुलाई संरक्षण गरेर राख्ने, चोटपटक लागेको भए उपचार गर्ने र तत्काल पिडकलाई कार्रवाहिको दायरामा ल्याउंछ ।
कानुन धेरै बनाएर मात्रै हुंदैन । त्यसलाई कार्यान्वयनको पाटोमा लैजानु ठूलो कुरा हो । नेपालमा घरेलु हिंसा सम्बन्धि बनेको कानुन पर्याप्त छ । त्यसलाइ अक्षरस पालन भने गर्नु जरुरी छ ।
प्रतिकृया दिनुहोस्