Birendranagar Municipality

भारतको विधान सभा चुनावमा मोदीलाई ठूलो धक्का

सेतोपाटी
भारतको विधान सभा चुनावमा मोदीलाई ठूलो धक्का

२५ मंसिर । मंगलबार पाँच भारतीय राज्यको मतगणना शुरू भएपछि पञ्जाब राज्यका मन्त्री तथा भारतीय राष्ट्रिय कंग्रेसका नेता, पूर्व क्रिकेटर नवोजितसिंह सिद्दुले ट्वीट गरे- नराम्रा दिन जानेवाला छन्, राहुल गान्धी आउनेवाला छन्।

 

यो ट्वीट अघिल्लो चुनावमा सत्तारूढ भारतीय जनता पार्टीले लगाएको चुनावी नाराको ‘काउन्टर' थियो‍‍। बिजेपीको नारा थियो— राम्रा दिन आउनेवाला छन्।

 

पाँच प्रदेशमा विधान सभाका लागि गत साता भएको चुनावलाई २०१९ मा हुने लोकसभा चुनावको ‘सेमिफाइनल’ का रुपमा हेरिएको छ। सिद्दुको संकेत पनि यही चुनावको परिणाम तिर लक्षित थियो।

 

तीन पटक गुजरातका मुख्यमन्त्री भइसकेका मोदीलाई गत चुनाव अघिनै भाजपाले नै प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेको थियो।

 

भाजपाले कुनै व्यक्तिलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको त्यो पहिलो पटक थियो।

 

मोदीको नाम र भाजपाको त्यो नाराले काम गर्‍यो। भाजपाले एक्लैले संसदमा बहुमत ल्यायो। मोदी प्रधानमन्त्री बने।

 

त्यसपछि भएका विधानसभा चुनावमा पनि भाजपाले बाजी मार्‍यो।

 

सबैभन्दा बढी जनसंख्या भएको उत्तरप्रदेशमा गत वर्ष चुवान भयो। कंग्रेस र तत्कालीन मुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीको गठबन्धन हराउँदै भाजपा एक्लैले बहुमत ल्यायो। कट्टर हिन्दुवादी योगी आदित्यनाथलाई मुख्यमन्त्री बनायो।

 

त्यो चुनाव परिणामलाई कतिपयले मोदीले गरेका कामलाई मतदाताले स्वीकृत गरेको भनेर ब्याख्या गरे। उनी सन् २०१९मा हुने लोकसभा चुनाव मार्फत अर्को कार्यकालका लागि पनि प्रधानमन्त्री चुनिने विश्लेषण गरियो।

 

लोकसभा चुनावको चार महिनाअघि भएको पाँच प्रदेशको विधान सभाको चुनाव परिणामले भने मोदीलाई ठूलो घक्का दिएको छ।

 

अहिलेसम्मको मतगणनाको नतिजाले पाँच वटै राज्यमा मोदीको पार्टी भाजपाको हार निश्चित देखिएको छ।

 

मध्यप्रदेश, राजस्थान, तेलंगना, छत्तिसगढ र मिजोर सबै राज्यमा भाजपाले चुनाव हारेको छ।

 

तीन ठूला राज्यहरू मध्यप्रदेश, छत्तिसगढ र राजस्थानमा भारतीय राष्ट्रिय कंग्रेसले सरकार बनाउने निश्चित भएको छ।

 

जारी मतगणनामा राजस्थान र छत्तिसगढमा कंग्रेसले बहुमत चाहिनेभन्दा बढी स्थानमा अग्रता लिइरहेको छ भने भाजपा धेरै पछि परेको छ।

 

मध्यप्रदेशमा पनि भाजपा र कंग्रेसको टक्कर छ। मध्यप्रदेशको २३० सदस्यीय विधान सभामा कंग्रेसले ११५ स्थानमा अग्रता लिएको छ भने भाजपा १०५ सिटमा अगाडि छ। बहुमतका लागि ११६ सिट चाहिन्छ।

 

यी तीनै राज्यमा अघिल्लो चुनावमा भाजपाले बाजी मारेको थियो।

 

यी तीन राज्यमा कंग्रेसको जितसँगै गत वर्षमात्रै कंग्रेस आईको नेतृत्व सम्हालेका राहुल गान्धीको छवी उजेलिएको छ। चार महिना पछि हुने लोकसभा निर्वाचनमा गान्धीले ठूलो आत्मविस्वासका साथ चुनाव प्रचार गर्नेछन्।

 

केही समय अघिसम्म भाजपाको आक्रामक प्रचारका अघि राहुलमाथि वाकपटुता र प्रभाव छोड्न नसक्ने नेताका रूपमा चित्रण गरिन्थ्यो।

 

कंग्रेसको नेतृत्व सम्हालेको वर्ष दिनमै राहुलले त्यो छविमा परिवर्तन गरेका छन्। गत जुलाईमा तल्लो सदन लोक सभामा उनले राखेको मन्तव्यले तरंग आएको थियो। उनले संसदमा बोलेको करिब ४५ मिनेटको भाषणले त्यसपछि बोलेका मोदीको भाषणलाई फिक्का बनाएको धेरैले टिप्पणी गरेका थिए। राहुलामा आत्मविस्वास बढदै गएको धेरैले टिप्पणी गरेका थिए।

 

तेलंगनामा भने क्षेत्रीय दल तेलंगना राष्ट्र समिति स्पष्ट बहुमत उन्मुख छ। ११९ सिटमध्ये समितिका उम्मेदवार ८६ सिटमा अगाडि छन् भने कंग्रेसले २२ सिटमा अग्रता लिएको छ। भाजपा जम्मा २ सिटमा अगाडि छ। 

 

२०१४ को चुनावमा क्षेत्रीय दल तेलंगना राष्ट्र समितिले ६३ सिट जितेर बहुमत ल्याएको थियो भने २१ सिट जितेर कांग्रेस दोस्रो भएको थियो।

 

यता उत्तरपूर्वी राज्य मिजोरममा सत्तारूढ भारतीय कांग्रेस आईले पराजय भोगेको छ। आइतबार भएको विधान सभा चुनावको मतगणनामा कंग्रेसले ४० मध्ये ५ सिटमात्र जितेको हो।

 

क्षेत्रीय दल मिजो नेशनल फ्रन्टले २६ सिट जितेर स्पष्ट बहुमत ल्याएको छ। योसँगै मिजो फ्रन्ट १० वर्षपछि सत्तामा फर्किने भएको छ।

 

कंग्रेसबाट मुख्यमन्त्री बनेका लाल थन्हावला दुबै निर्वाचन क्षेत्रबाट पराजित भएका छन्। कंग्रेसभन्दा बढी सिट जोराम नेशनालिष्ट पार्टीले जितेको छ। उसले ९ सिट पाएको छ।

२०७५ मंसिर २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्