२५ मंसिर । हुम्लाका महिलाले महिला हिंसाका पिडाहरु देउडा गीत मार्फत ब्यक्त गरेका छन् । महिला हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आयोजना भएको गाउँपालिका स्तरीय देउडा प्रतियोगितामा महिलाहरुले हिंसा विरुद्ध देउडा गाएका थिए ।
गीतमा उनीहरुले घरमा श्रीमानबाट पीडित भएको कुरा देखि हत्या र अपहरणमा परेर महिलाहरु बलात्कृत हुनु परेको पीडासमेत गीत मार्फत ब्यक्त गरेका थिए । प्रतियोगितामा छोरा र छोरीका बीच हुने बिभेदलाई पनि उजागर गरिएको थियो ।
प्रतियोगितामा सिमकोट एकको ठेहे प्रथम, तीनको बरगाउँ द्वीतीय, सिमकोट सातको डाँडाफया तृतीया र सिमकोट पाँचको तल्लो गाउँ सान्त्वना भएको सिमकोट गाउँपालिका महिला शाखा प्रमुख ममता महतले जानकारी दिइन् । जनचेतना जगाउने उद्धेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले लैंगिक हिंसा जिल्लाकै प्रमुख समस्या भएको बताए । उनले भने, हिंसा जिल्लाभरीनै छ तर सामाजिक डरले बाहिर आउन नसक्ने अवस्था छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढुगानाले महिला हिंसाको विषय निकै पेचिलो भएको र अब यसको निराकरण गर्न ब्यक्तिले घरबाटै सुरुवात गर्नु पर्ने बताए ।
प्रतिकृया दिनुहोस्