२६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को आज ६४ औं जन्मदिन परेको छ । प्रचण्डलाई सामाजिक सञ्जालमा युद्धकालीन सहकर्मीहरु, परिवारजन, आफन्तजन, पार्टी एकीकरण भएपछि पार्टीका नेताहरुले शुभकामना दिएका छन् । वि.सं २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा जन्मीएका प्रचण्ड सानै उमेर देखि प्रगतिशिल विचार धाराका थिए ।
पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिएका प्रचण्डले २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरी २०३१–२०३३ मा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गर्नुका साथै एमपीएसम्मको अध्ययन पुरा गरेका छन् ।
प्रचण्डको विसं २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । तीन छोरी र एक छोराका पिता प्रचण्ड दुइपटक मुलुकको प्रधानमन्त्री भइसकेका छन् । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए ।
प्रचण्डले २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । प्रचण्ड विसं २०३८ मा क्षेत्रीय व्यूरो सदस्य एवम् अखिल नेपाल युवक संघको केन्द्रीय महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए । विसं २०४१ मा नेकपा (मशाल) को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्रीको जिम्वेवारी सम्हाले। यसैगरी २०५१ मा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे। २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष बने ।
विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौंमा भूमिगत जीवनबाट सार्वजनिक भए । २०६४ सालको संविधान सभाको निर्वाचनमा नेकपा माओवादी सवैभन्दा ठुलो दल बन्न सफल भयो । २०६५ साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुन सफल भए । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट प्रचण्ड अध्यक्ष पदमा निर्वाचित भए ।
२०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष बनेका प्रचण्ड उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका निर्वाह गर्ने अवसर समेत प्राप्त गरे । अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३०, सांस्कृति, कला र सौंन्दर्यर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु) खण्ड १ र २० तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् ।
प्रचण्ड २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भए भने २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भए । २०७३ साउन १९ गते व्यवस्थापिका बाट बहुमत प्राप्त गरी दोस्रो पटक नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुन सफल भए । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट अध्यक्ष प्रचण्ड प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।
नेपाली कम्युनिष्ट आन्दोलनका प्रमुख पात्र प्रचण्ड २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष हुन् ।
जनतासमाचारबाट
प्रतिकृया दिनुहोस्