१ पुस । पुस १ गते २ ओटा महत्वपूर्ण दिवस परेका छन् । आजको दिन देशभर विभिन्न कार्यक्रमको आयोजना गरी कालो दिवस र झण्डा दिवस मनाइएको छ ।
प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइन्छ । २०१७ पुस १ गते प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासनको शुरुवात गरेका थिए ।
त्यतिबेला नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका कोइराला लगायत नेतालाई गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
यसै अवसरमा तरुण दल लगायतका संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएका छन् ।
यस्तै ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवर्द्धन र प्रसार गर्ने उद्देश्यले यस दिवस मनाउन लागिएको हो ।
राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालले पहिलो पटक पुस १ लाई राष्ट्रिय झण्डा दिवसको रुपमा मनाउन लागेको संयोजक श्याम बजगाईले बताए । उनका अनुसार २०६२ साल पुस १ गते (१६ डिसेम्वर) संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको हो ।
उक्त दिवस मनाउन नेपाली झण्डा बोकेर काठमाडौंको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको महाअभियानले जनाएको छ ।
प्रतिकृया दिनुहोस्