१ पुस । वीरेन्द्रनगर नगरपालिका ११ का पदमप्रसाद जैसी नक्शासम्बन्धी कामका लागि नापी कार्यालय सुर्खेतमा गए । उनको काम आधा घण्टामै भयो । समयमै काम हुँदा मख्ख पर्दै कार्यालयबाट मुस्कुराउँदै निस्किए ।
त्यस्तै वीरेन्द्रनगर १२ का धर्मेन्द्र विक पनि नक्शाको काममा त्यहाँ पुगे । करीब आधा घण्टामै उनी पनि काम सकेर हिंडे । उनी मात्रै होइन वीनपा ४ का हेमन मल्ल पनि समयमै काम सकिएकोमा मख्ख परे । कार्यालयको कामबाट प्रभावित पनि भए ।
सेवाग्राहीको खुशीनै हाम्रो सन्तुष्टि हो, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापाले भने, कार्यालयमा पर्याप्त कर्मचारी भए यसमा अझै सुधार गर्ने ठाउँ छ । थापा भन्छन्, ‘हामीले दिने सेवा भनेको नक्शा, कित्ता काट, अध्यावधिक, फिल्ड रेखाङ्कन लगायत हो । पद्धतिको विकास गर्न सकेकाले समयमै सेवा दिन सकिएको थापाले बताए ।
कार्यालयले हाल अनलाइन सिस्टमबाट समेत सेवा प्रवाह गरेको र १ दिनमा १ सय भन्दा बढी सेवाग्राहीहरु सेवा लिन आउने गरेको थापाले जानकारी दिए ।
तर नजिकै रहेको मालपोत कार्यालय सुर्खेतबाट सेवा लिएर फर्कनेहरु भने आधा महिना सम्मपनि अंध्यारो मुख लगाउँदै तलमाथि गरेको देखिन्छ ।
वीरेन्द्रनगर १६ गर्पनकी पद्मा राना दाखिला खारेजको लागि मालपोत कार्यालय धाउन थालेको १३ दिन भयो । गत मंसिर १६ गते निवेदन दिएकी पद्माको १३ दिन सम्म पनि काम भएको छैन ।
दाखिला खारेजको लागि प्रक्रिया पुगेको ७ दिन भित्रमा काम सम्पन्न हुने व्यवस्था छ ।
यस्तै तिलागुफा १० कालीकोटका अम्मर थापा पनि मालपोत कार्यालय धाउन थालेको १० दिन भयो । उनको काम पनि भएको छैन । मालपोत कार्यालयको यस्तो ढिलासुस्तीले सरकारी कामप्रति नै विश्वास लाग्न छाडेको थापा बताउँछन् ।
पद्मा र अम्मर मात्रै होइन मालपोत कार्यालय सुर्खेतमा सेवा लिन आउने धेरैजसो सेवाबाट सन्तुष्ट छैनन् ।
मालपोत कार्यालय सुर्खेतका सूचना अधिकारी नरबहादुर घर्तीले भने अनलाइन सिस्टमबाट काम शुरु गर्दा कर्मचारीहरुमा केही अन्योलता भएकोले सेवाग्राही मर्कामा परेको स्वीकार्छन् ।
उनले भने, ‘हामीले मंसिर १७ देखी अनलाइन सिस्टमबाट काम गरिरहेका छौं । प्रविधिको ज्ञानको अभाव र दक्ष जनशक्ति नभएकाले काममा ढिलाई भइरहेको छ ।’
मालपोत कार्यालय सुर्खेतमा कर्मचारीको समेत अभाव भएको घर्तिले बताए । उनले भने, '३ जना जति नायव सुब्बाको दरबन्दी खाली छ ।' हाल कार्यालयमा २३ जना कर्मचारी कार्यरत छन् ।
सामान्यतया नामसारी गर्ने, लिखत पास गर्ने, छुट जग्गा दर्ता, दाखिल खारेज वा संशोधन र फोटो टाँस गर्ने कामको लागि १ देखी ७ दिन लाग्ने नागरिक बडापत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्