Birendranagar Municipality

सुर्खेतकी गौरीकला बलात्कार-हत्यामा प्रहरीसहित तीन जनालाई जन्मकैद

दिपकजंग शाही/सेतोपाटी

१ पुस । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ की गौरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । दैलेख घर भाई तत्कालिन समयमा ईलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत हरिप्रसाद कोईराला, पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको हो ।

 

पञ्चपुरी–४ मा रहेको सूर्यप्रकाश माध्यामिक विद्यालय पलैटेबाट एसइई दिन बाबियाचौर पुगेकी गौरीकला २०७४ चैत १३ गते मृत फेला परेकी थिइन् । उनको सोही दिनको अघिल्लो रात हत्या भएको हो ।

 

२०७५ वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भएको थियो । वैशाख ११ गते पूर्पक्षमा राख्न आदेश दिएको अदालतले मुद्दा दायर भएको ८ महिनापछि जन्मकैदको फैसला सुनाएको छ ।

 

उनीहरुलाई ३२ वर्षको जेल सजाय हुने भएको छ । हत्या र जबर्जस्ती करणीको अभियोग पुष्टिसहित २० वर्ष जन्मकैद र १२ वर्ष थप कैद सजाय तोकेको हो ।

 

‘प्रतिवादी तीनै जनाले तत्कालिन मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महल १ र १३ (३) अनुसार कसुर गरेको पुष्टि हुन आएकाले नीजहरुलाई सोही महलको १३ (३) अनुसार जन्मकैदको सजाय हुनेछ,’ जिल्ला न्यायाधीश धुब्रकुमार शाहको एकल इजलासले गरेको फैसलामा भनिएको छ ।

२०७५ पुस १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्