२ पुस । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२ मा बिहे भोज खान गएका तीन जनाको मृत्यु भएको छ । आइतबार विहेभोज खाएर सोही घरमा सुतेका तीन जना सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
मृत्यु हुनेहरुमा मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमानसिंह सार्की, मुसिकोट नगरपालिका–१२ का २१ बर्षीय पलबहादुर बिक र सानीभेरी गाउँपालिका–९ का ६३ वर्षीय खम्मु कामी रहेका छन् ।
उनीहरु स्थानीय अमर विकको छोराको बिहेमा गएका थिए । घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक तीनै जनाले कमसल खालको रक्सी सेवन गरेका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी सुमित खड्काले बताए ।
उनका अनुसार एउटै कोठामा सुतेका पाँचजना मध्ये तीन जनाको मृत्यु भएको हो । ती तीन जनाले सेवन गरेको रक्सी र अरू दुई जनाले सेवन गरेको रक्सी फरक फरक पाइएको पनि प्रहरीले जनाएको छ ।
मृतकहरूले बिहे घरमा व्यवस्था गरिएको भन्दा छुट्टै रक्सी सेवन गरेको पाइएको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस्