प्रौढ पुरुषको रोजाइ
मेरा एक आफन्त प्रौढ पुरुष विवाहका लागि केटी खोज्दै थिए । उनले भेट भएजति सबैजसो मान्छेसँग एक्लोपना र अवसादका कारण आफू मर्नैसमेत सक्ने भन्ने गुनासो गर्न थालेपछि उनका हुर्केका सन्तानहरू नै बाउको बिहेका निम्ति लागिपरे । ‘सुहाउँदो वधू’ खोज्न हामी सबै लागिप-यौँ । श्रीमान् बितेको ४ वर्षजति भएकी एक महिलासँग कुरा चल्दै थियो । जीवनसाथी गुमाएका दुई एकल व्यक्तिले अब राहत पाउलान् भन्ने ठहरमा थिएँ, म आफू पनि । तर, यसबीचमा ती प्रौढले आफ्नो मागका दायरा बढाए । आफूले एकल महिलासँग बिहे नगर्ने बरु उमेर बढी नै भए पनि ‘कुमारित्व भंग’ नभएकी केटीसँग विवाह गर्ने चाहना प्रकट गरे । उनको विवाहका लागि लागिपरेका मलगायत आफन्त त्यतिवेला छक्कै प-यौँ, जतिवेला उमेरले ४० नकटेकी र उनले भनेजस्तै यसभन्दा अघि कसैसँग विवाह नभएकीसँग उनले लगनगाँठो कसे । यद्यपि, उनले ठानेजस्तो ‘चोखी कुमारी’ उनकी जहान थिइन् या थिइनन्, भगवान् नै जाने !
‘भर्जिन’ नभएको भन्दै विवाह रद्द
अर्काे प्रसंग– एक केटीसाथीको अमेरिका बस्ने नेपाली केटासँग फेसबुकमार्फत प्रेम सम्बन्ध रह्यो । त्यसको एक वर्षपछि केटा उनीसँग विवाह गर्न नेपाल आए । धुमधामले विवाह सम्पन्न भयो । एक महिनाको सहवासपछि केटाले केटीको ‘कुमारित्व’माथि शंका गर्न थाल्यो । आफूले मन पराएर बिहे गरेकी श्रीमतीलाई ‘भर्जिन’ नभएको भन्दै छोडपत्रै गरी सम्भवतः अर्को साल अर्कै ‘कुमारी पाउने’ अपेक्षासाथ ऊ अमेरिका फर्कियो । नेपाली समाज मात्र होइन, विश्वभर ‘कुमारित्व’ (भर्जिनिटी) महिला शोषणको प्रमुख अस्त्र हो । धेरैजसो धर्मशास्त्रले ‘कुमारित्व’लाई महिला, स्त्री, युवती र किशोरीको पवित्रताको मापक बनाएका छन् । कुमारित्वको यतिसम्म खोजी भयो कि बाइबलले त कुमारी आमाबाटै जिसस जन्माइदियो । नेपाली समाजमा पनि विवाहपूर्व युवती–किशोरी ‘कुमारी’ रहनुपर्ने मान्यता छ । त्यसैको सिको गरेका थिए, माथिका दुई ‘अब्बल’ पुरुषले । रजस्वला नभएका ‘कुमारी’लाई हाम्रोमा अहिले पनि जीवित देवीका रूपमा कतिपय मन्दिर र समाजमा पूजा गरिन्छ । एउटी कुमारी देवी हुन् भने अरू कुमारी ती हुन्, जसले पुरुषसँग शारीरिक संसर्ग गरेकी हुन्नन् ।
‘भर्जिनिटी’सम्बन्धी परम्परागत मान्यता
कुमारित्वको अंग्रेजी ‘भर्जिनिटी’ हो । ‘भर्जिनिटी’ शब्द हाइमनसँग अर्थात् केटीमान्छेको योनीमा हुने एकप्रकारको झिल्लीसँग जोडिएको छ । कुनै पुरुषसँग शारीरिक सम्पर्क नगरेसम्म यो झिल्ली केटीमान्छेको योनीमा कायमै रहन्छ भन्ने परम्परागत मान्यता छ । जब कि विज्ञानको आँखामा यो वाहियात सोच या मान्यता हो । यौनसम्पर्क गर्दा झिल्ली तोेडिने सम्भावना अत्यन्तै थोरै छ । अनि, कुनै कारणवश खेल्दा, लड्दा, साइकल वा मोटरसाइकल तथा रुख चढ्दासमेत त्यो कमजोर र पातलो झिल्ली आफैँ फाट्न सक्छ । त्यसकारण केटीमान्छेको झिल्लीमार्फत उनले कसैसँग शारीरिक सम्पर्क गरेकै हुन् भनेर ठह-याउन सम्भव छैन । यसको अर्थ हो, कुमारित्व समाजले रचेको भ्रमपूर्ण परिभाषा मात्र हो ।
‘भर्जिनिटी’बारे बाह्य बुझाइ
कुमारित्व भनिने विषयको कुनै पनि वैज्ञानिक र प्राकृतिक आधार छैन । केटी स्वयंले आफूले कोसँग पहिलोपटक शारीरिक सम्पर्क राखेको बताउन सक्ली, तर हाइमन अर्थात् झिल्लीले सक्दैन । तर, यही झिल्ली र कथित कुमारित्वबारे नेपाली समाज मात्र होइन, भारतीय, अरबी, युरोपेली, अमेरिकन, चिनियाँ, अफ्रिकन र दक्षिण अमेरिकी समाजमा पनि पर्याप्त भ्रम छन् । त्यसमार्फत अनगिन्ती महिला हिंसा जारी छ । भारतको पुणेआसपासमा केन्जरभाट नामक एक जाति छ । त्यहाँ अहिले पनि युवायुवतीको बिहे भएको रात त्यहाँका पञ्च भलाद्मी र मुखिया केटाकेटीको कोठाबाहिर केटीको कुमारित्वको नतिजा पर्खेर बस्छन् । सेतो तन्दामा रगत लत्पतियो भने केटी कुमारी, रगत लत्पतिएन भने उनी ‘जुठो’ ठहरिन्छिन् । यो चलन भन्ने कि विचलन, कति पीडादायक छ भने दुलाहादुलही छिर्नुपूर्व तिनको कोठाको होसियारीपूर्वक तलासी लिइन्छ, कतै चक्कु या पत्तीलगायत धारिला हतियार लुकाएका छन् कि भनेर । केटीलाई चुरा पनि लगाउन दिइन्न, उसले शरीरको अन्य अंग काटेर तन्दा रंग्याउँछे भन्ने डरले ।
तन्दा रंगियो, ‘सही उत्पादन’, तन्दा रंगिएन ‘कमसल माल ।’ तन्दा नरंगिए केटीलाई यसपूर्व कोसँग यौनसम्पर्क राखिस् भनेर केर्ने, पिट्ने, बेहुली फिर्ता गर्नेे या बेहुलीको परिवारलाई जरिवाना तिराउनेसम्मका कारबाही हुन्छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक मान्ने हो भने अहिले पनि संसारका २० देशका अनेकन् जाति तथा सम्प्रदायमा खुलेआम कुमारित्व परीक्षणका यस्ता कृत्य हुने गरेका छन् । कतिपय देशमा त महिलाका योनीमा हात हालेरै यस्ता परीक्षण गरिन्छन् । हात सहजै छिरे उनले पापकर्म गरेको ठहर गरिन्छ भने हात नछिरे ऊ पवित्र ठहरिन्छे । क्या काइदा ! अफगानिस्तानमा त कोही पुरुषसँगै बाटोमा केटी हिँडेकै कारण पनि तिनले यस्ता परीक्षण झेल्नुपर्ने हुन्छ । समाजले गरेका त्यस्ता परीक्षा पास नगर्दा अहिले पनि डेढ सयको संख्यामा युवती–किशोरी–बालिका जेलमा छन् । जेल पर्नेमा १२ वर्ष उमेरका बालिकासमेत छन् । धन्य होस् अन्धविश्वास !
विधवा विवाहको जटिलता
हाम्रो समाजले धेरैअघिदेखि विधवा विवाहलाई अधर्म ठान्यो, जसको प्रभाव आजपर्यन्त छ । एउटै समय स्वास्नी मरेको लोग्ने मानिसको विवाह गराउन समाज र आफन्तलाई हतार हुन्छ, तर लोग्ने मरेका वा लोग्नेले छाडेका एकल महिलाका हकमा भने यो सहज छैन । गहिरो अन्धविश्वासको आवरणले कथित कुमारित्वलाई ‘अतिरिक्त मूल्य’ दियो, जसको कारण स्त्रीलाई विवाह गरेर लैजाने ‘हैसियत’का पुरुषले महिलाको शरीर पवित्र हुनुपर्ने सर्त राख्न थाले । विवाह गरेर लाने पुरुषले आफूले ‘पाल्ने’ स्त्रीको रूप, रंग बानी व्यहोरा त जाँच्न पाउने नै भए, सँगै स्त्रीको योनी पनि शुद्ध हुनुपर्ने ‘नियम’ नै बन्यो । कुनै पनि जैविक र वैज्ञानिक आधार नभएको यस्तो रुढ मान्यताले हाम्रो यसअघिको र आजपर्यन्तको पुस्तालाई यसरी गाँज्यो कि हामीले आफ्नो जीवनसंगिनीमा अनिवार्य रूपमा कुमारित्व हुनुपर्ने मान्यता स्थापित ग-यौँ । विधवा विवाह नहुनुको मूल कारण पनि यही हो । कलिला बालिका बलात्कारमा पर्नुको धेरै कारणमध्ये यो पनि मुख्य कारण हो । हुन पनि अर्कैले ‘कुमारित्वको स्वाद’ चाखेको ‘वस्तु’लाई कसले भोगोस् ? कलिला बालिका ‘भोग्दा’ कुमारित्वको स्वाद जो चाख्न पाउँछ, बलात्कारीले ।
स्वास्नीमान्छेलाई आफ्नो सम्पत्ति ठान्ने सोच
एउटा प्रसंग– गत दसैँताका युट्युबमा एउटा भिडियो ट्रेन्डिङमा थियो । ‘श्रीमतीले परपुरुषसँग शारीरिक सम्बन्ध राखेको या नराखेकोबारे कसरी थाहा पाउने’ भन्ने आशयको । त्यसले लाखौँ नेपालीको मन जित्यो । त्यो भिडियो रुचाउनुको अर्थ हो, हाम्रो भालेप्रधान समाज आफ्ना स्त्रीसँग यौनका मामिलामा सधैँ सन्त्रस्त छ । यो स्वाभाविक पनि हो । आफ्नी स्त्रीको कुमारित्व आफैँले भंग गरेको भ्रम पालेर दंग हुने पुरुषपात्रले आफ्नै स्त्रीले अर्काे पुरुषसँग सहवास गरेको स्वीकार र कल्पना गर्न सकोस् पनि कसरी ? यसको अर्को निचोड पनि निक्लन्छ– पुरुषका लागि जबर्जस्त र एक मात्र यौन सामग्री हो, महिला र त्यसको गुणस्तरसँग पुरुष सम्झौता गर्न सक्दैन । यसरी, स्वास्नीमान्छेलाई लोग्नेमान्छेले आफूले आर्जन गरेको सम्पत्ति ठान्ने मान्यता रहेसम्म लोग्नेमान्छेले स्त्रीजातिको कथित कुमारित्वको परीक्षण गर्ने प्रयास गरिहन्छ । सन्त्रस्त पुरुष आफ्नो अनुपस्थितिमा आफ्नी स्त्रीको शरीरमाथि निगरानी पनि निरन्तर गरिरहन्छ ।
मेरो भनाइ दुईजनाबीच सम्मान र गहिरो प्रेम छ भने तेस्रो व्यक्तिले चाहेर पनि न स्त्री न पुरुषकै शरीरसँग खेल्न सक्छ । तर, दुईबीच अर्काे मान्छे अटाउने ठाउँ छ भने कसैको शरीरमा कसले आएर स्पर्श ग-यो, त्यो केवल संलग्न स्वयंले थाहा पाउँछन् । चिनियाँ समाजमा आफ्नो साटो अर्को पुरुषको वीर्यले ‘आफ्नी स्त्री’ले सन्तान पाउली र वंश परम्परा बिग्रेला भन्ने त्रासमा ‘कुमारित्व’को महत्तालाई बडाइँ गरिने रहेछ । हाम्रामा पनि पत्रिकाले ‘कुमारित्व र इज्जत लुटियो’ भनेर वेलावेला खबर लेख्छन् । त्यो पनि सायद त्यही मनोविज्ञानको उपज हो । महिनाबारी हुनु पाप, कुमारित्व भंग हुनु अपराध, क्या गजबको समाजशास्त्र !
यौनको फरक–फरक परिभाषा
यौनको परिभाषा समाजअनुसार फरक छन् । आफ्नै शरीरसँग चल्नु र समलिंगी सम्बन्ध पनि यौन नै हो, तर त्यो विषयमा प्रायः समाज चुप देखिन्छ । बस्, केटीले केटा भेट्नु भएन । अर्को रोचक पक्ष के छ भने विश्वका कुनै पनि समाजमा पुरुषले यस्ता झिल्लीवाला परीक्षा दिनुपर्दैन । योनी या लिंग प्राकृतिक सिर्जना हुन् । आफ्ना रहरले न हामी महिला भएका हौँ, न पुरुष । यस्तोमा पवित्रताको मापक नै योनी हुनु खेदजनक हो । महिलालाई ‘केवल यौन र सन्तानोत्पादनका लागि पालिएका पुरुषको सम्पत्ति’का रूपमा हेरिँदा यस्ता धारणा बनेका हुन्, जसका कारण आधुनिक छिमेकी भारतमा अहिले पनि म्याट्रिमोनियल साइटमा लाजै नपचाई वरहरू वधूको योग्यतालाई विज्ञापनमा यसरी उतार्छन्– गर्ल मस्ट बि भर्जिन । म त भन्छु– महिला या छोरीमान्छेको योग्यता उसको शिक्षा, सदाशयता, दया, माया र करुणा हो । भर्जिनिटीजस्ता अवैज्ञानिक, ह्युमिलेटिङ र पापिष्ट प्रचलन समाजका अभिशाप हुन् । यौन व्यवहार दर्जनौँसँग हुनुपर्छ भन्ने यो लेखको निचोड हुँदै होइन । यौन व्यवहार केवल आफ्ना मन परेकासँग मात्र गरिने अत्यन्त निजी र व्यक्तिगत विषय हो, तर विवाहका लागि ‘कुमारी’ हुनुपर्ने माग र मापदण्ड अपमानजक र आत्मसम्मानविरोधी हो । यो प्रथा हामी महिलालाई कुनै पनि हालतमा स्वीकार्य छैन, चाहे समाज मेरो देशको होस् वा विदेशको ।
(नयाँ पत्रिकाबाट)
प्रतिकृया दिनुहोस्