Birendranagar Municipality

समाजवादउन्मुख गाउँ

कमल लम्साल/सेरोफेरो
समाजवादउन्मुख गाउँ

११ पुस । पुस ९ गते । बिहान ८ बजे वीरेन्द्रनगरबाट बाटो लागियो । गाडीमा जिल्ला समन्वय अधिकारी (डिसिओ) दुर्गा चालिसे, सहायक सिडिओ मेडम विनिता भट्टराई, प्रमुख अनुसन्धान अधिकृत गणेश आचार्य, म र गाडी चालक बर्तौलाजी बस्यौं । अघि अघि सिडिओ वीरेन्द्र कुमार यादव, एसपी वसन्त रजौरे र पछिपछि पृतनापति कर्मेन्द्र विक्रम लिम्बु चढेको गाडी गुड्यो । मंगलगढीबाट पश्चिमतिर सोझियौं ।


अघिल्लै दिन मलाई जानुपर्छ है भन्ने नेपाली सेनाका कर्नेल झुलेन्द्र विक्रम बस्नेतले डाक्टरसहितको डफ्फा अलि अघिनै हाँकेका थिए । प्रशासकीय अधिकृत उत्तम शर्माले पनि ८ गते बेलुकै फोन गरेर मलाई जसरी पनि आउनु है भनेका थिए । उनी शिविरको तयारी गर्न अघिल्लै दिन त्यहाँ पुगेका थिए ।

 

चौकुने चर्चित नाम हो । एक त यो सुर्खेतकै पश्चिमी भूभाग । अर्को डोटी, अछाम र कैलाली जोडिने त्रिवेणी । त्यहाँस्थित गुटु पुरानो बजार । २० सालतिरै गाडी गुड्ने ठाउँ ।

 

सिमेन्ट कारखाना सञ्चालन गर्ने हल्लाले पनि चौकुने चर्चामै थियो । नयाँ नेपाल निर्माणका क्रममा लगाम, बेतान, विजौरा, गुटु र घाटगाउँ गाविस मिलाएर चौकुने गाउँपालिका बनाइएको हो ।

Banner

सडकदेखि सदनसम्म
वीरेन्द्रनगरबाट करीब १ सय किलोमिटर यात्रा गर्दा चौकुनेको सिमाना पुगिन्छ । बाटो खराब भएकोले कतिबेला आउला भन्ने त भैरहन्छ । बराहतालको कुनाथरीदेखि पश्चिम लाग्ने सडक कच्ची छ । यद्धपी कागजमा कालोपत्रै भैसकेको सडक हो यो ।

 

जानकारका अनुसार बजेट स्वाहा पार्न केन्द्रीयबाट स्थानीयमा झारिएको पनि यही सडक हो । अहिले भित्री मधेशबाट पूर्व पश्चिम जोड्ने मदन भण्डारी लोकमार्गको केही भाग यस सडकमा पर्ने भएकाले स्थानीयबासी खुशी छन् ।

 

यही सडक बनाउने बाचा गरी धेरैले चुनावमा जनतासंग भोट मागे । जितेर सांसद र मन्त्रीसमेत बने । यसरी भोट माग्नेमा पूर्वमन्त्री शिवराज जोशी र तप्तबहादुर विष्ट नेपाली काँग्रेसका हुन् । नरबहादुर विष्टले तत्कालीन नेकपा माओवादीलाई भोट मागे र सांसद बने । अहिले नेकपाका नवराज रावत सांसद बनेका छन् । उनले यस सडकलाई कति प्राथमिकतामा राखेर काम गर्छन् त्यो हेर्न बाँकी नै छ ।

 

मुलुक संघीयतामा गैसकेपछि यही ठाउँका विन्दमान विष्ट प्रदेश सभाका सदस्य बनेका छन् । धेरै नेता यही सडक बाट सजिलै सदनसम्म पुगेका छन् । यद्धपी हामी चढेको गाडी बल्लतल्ल १२ बजे गुटु पुग्यो ।

Sibir

समाजवादउन्मुख गाउँ
चौकुनेको केन्द्र गुटु ६ झकमके । केन्द्र विजौरा कि गुटु भन्ने विवाद अहिलेलाई साम्य भएको छ । गुटु छेउ परेपनि सबैलाई पाएक पर्ने ठाउँ । जिल्ला सदरमुकाम र प्रदेशकै राजधानी वीरेन्द्रनगर आउन सबै गुटु भएरै आउनुपर्छ । गाउँका हरेक बस्तीमा सुविधा पुर्याउन सके केन्द्रले मात्र केही नगर्ने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए ।

 

उनको योजना छ गाउँको विकासका लागि एकीकृत वस्तीको विकास गर्ने । छरिएर रहेका एक दुई घरमा सबै सुविधा पुर्याउन कठीन हुने भएकाले उनले यस्तो योजना अघि सारेका हुन् । गाउँमा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरी चौकुनेलाई देशकै नमूना बनाउने शाहीको सोच छ ।

 

उनले भने, ‘खेतीयोग्य जमीनमा खेती गर्ने, वन पैदावारको उपयोग गर्ने नीति लिने, सिमेन्ट कारखाना सञ्चालनमा ल्याउने, नजिकै रहेको चिसापानी नाका हुँदै यातायातको व्यवस्था मिलाउने योजना छ ।’ ‘गुटुदेखि लगामसम्मको लामो यात्रालाई आधा छोटो बनाउँछु’ शाहीले भने–‘अब विकासको काम पनि गाउँपालिकालेनै गर्छ ।’

Nagariktaयसका लागि गाउँपालिकाले डोजर, ट्रिपर आदि खरीद गरिसकेको छ । गाउँपालिकाको कार्यालय वरपर रहेका यतिका यन्त्र देखेपछि मैले सोधें, ‘कसका मेसिन हुन्?’ अध्यक्ष शाहीले भने–‘हाम्रो विकास हामीले नै गर्ने हो । धेरै साथीहरुले त मलाई गाली गर्छन् । किन बहुलाएको भन्छन् । तर म भन्छु मेरो मोडेल देशकै उत्कृष्ट बन्छ ।’

 

धेरैले सोध्ने प्रश्न हो–‘डोजर आफ्नो कि अफिसको?’ शाही भन्छन्–‘संविधानले त समाजवाद उन्मुख मात्रै भनेको छ मैले चौकुने गाउँपालिकामा पूरै समाजवाद अभ्यास गर्नुपर्छ भनेको छु । जनताका सबै आवश्यकता गाउँपालिकाले पूरा गर्छ । मलाई सबैले सहयोग गर्नुस् । मलाई त एउटा मोटरसाइकल पनि चाहिंदैन ।’

Vetenary

तीन गाडी लालझाडी
गुटुमा नेपाली सेनाको अभ्यास गर्ने क्षेत्र तोक्ने भनेर नेपाल सरकारले ६० सालमै निर्णय गरेको रैछ । लालझाडी भन्ने वन क्षेत्रको ४५ सय विगाह जमीन नेपाली सेनाको नाममा आइसकेको भएपनि अभ्यास शुरु भएको छैन ।

 

उत्तर पश्चिम पृतना सुर्खेतका पृतनापति उपरथी कर्मेन्द्र विक्रम लिम्बुले त्यो क्षेत्र हेर्न मन गरेपछि नयाँ सबुज गणका गणपति प्रमुख सेनानी झुलेन्द्र विक्रम बस्नेत र राजदल गणका गणपति प्रमुख सेनानी राजेश खत्री, गाउँपालिका उपाध्यक्ष निर्मला राना मगर स्थानीय युवा नन्दु खनालसहितको टोली अघि बढ्यो ।

 

लिम्बुले चाहना गरेपछि ३ गाडी लालझाडी प्रवेश गर्यो । तीन हरिया गाडी जसै अघि बढे वरपरका सबैले कौतुहलताका साथ हेरे । ‘अब लालझाडीमा सेना बस्ने भयो । बन्दुक पड्काउने भयो ।’ शायद उनीहरुले यही सोचे होलान् ।

Tin gadi Laljhadi

जब एसपीले जनै देखाए
बिजौराको बीच बजार । घुमाउने चौतारी । त्यहीं प्रहरीले समूदाय प्रहरी साझेदारीबारे अभिमुखीकरण गर्यो । त्यहीं गाउँले जम्मा भए । सबैले आआफ्नो कुरा राखे । समस्या बताए । सवाल जवाफ जस्तो भयो ।

 

यतिकैमा छाउपडीको कुरा आयो । छाउगोठ राखे कानुनी कारबाही हुने एसपीले बताए । स्थानीयले ‘देउता रिसाउँछन्’ भने । एसपी रजौरेले जनै निकालेर देखाउँदै भने, ‘हेर्नुस् म पनि जनै लगाउँछु । धर्म मान्छु । तर छाउ मान्दिन ।’

 

अध्यक्ष शाहीले भने, ‘देउताले त झन् सबैलाई बराबर दृष्टिले हेर्छन् । यो सबै हाम्रो सोचको कुरा हो ।’ छाउपडी प्रथा अन्त्य गर्न सघाउने धामीलाई पुरस्कृत गर्ने गाउँपालिकाको योजना रहेको पनि जानकारी दिए ।

Lagam

सिडिओले सोधे–‘यहाँ पनि छाउपडी छ?’
सर्लाही जिल्लामा जन्मेका वीरेन्द्र कुमार यादव सुर्खेतमा सिडिओ छन् । उनी संभवत सुर्खेतको लगाम पुग्ने पहिलो प्रमुख जिल्ला अधिकारी हुन् ।

 

उनले छाउपडी न देखे न भोगे । यसबारे सुन्न सम्म सुनेका हुन् । पढेका पनि होलान् पुस्तकमा । समाचारमा । तर जब छाउपडी प्रथा कायम रहेको समाजमा पुगे र गाउँलेको कुरा सुने उनले अनायासै भने–‘यहाँ पनि छाउपडी छ?’

 

यो पनि पढ्नुहोस् :

चौकुने डायरी २: विद्यालयमा सेनाको कक्षा

२०७५ पुस ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्