Birendranagar Municipality

विद्यालयमा सेनाको कक्षा

कमल लम्साल/सेरोफेरो
विद्यालयमा सेनाको कक्षा

११ पुस । पञ्चपुरी ९ की लक्ष्मी विकले पुस ८ गते साँझपख लस्करै ४ वटा सैनिक गाडी गुटुतिर गएको देखिन् । उनलाई ‘के के न भयो’ भन्ने लाग्यो । भनिन्–‘किन यसरी गाउँमा सेना आयो भन्ने सोचें ।’

 

भोलिपल्ट जब उनी जीवनज्योति मावि चौकुने पुगिन् पल्टन त आफ्नै स्कूलमा सबार छ । सेनाले कक्षा लिएपछिमात्र उनलाई हलुका भयो । भनिन्–‘म त किन सेना आयो? भन्ने मात्र सोचेकी थिएं । अहिले आर्मीले कक्षा लिएपछिमात्र थाहा भयो उनीहरु त विपदका बेला कसरी जोगिने भन्ने सिकाउन आएका रहेछन् ।’

 

त्यहाँ सेनाले आइईडी चेतना तथा विपद व्यवस्थापन अन्तर्गत अल्पकालीन सुरक्षा उपाय सम्बन्धी कार्यक्रम गर्यो । कार्यक्रमबाट २ दिनमा ४५० जना विद्यार्थी लाभान्वित भएको नयाँ सबुज गणले जनाएको छ ।

Doctor

शिविर सञ्चालनमा नेपाली सेनाले मुख्य भूमिका निर्वाह गरेको थियो । सेनाकै सकृयतामा त्यहाँ स्वास्थ्य शिविर सञ्चालन भएको हो । जहाँ ९ र १० गते ४१९ जनाले स्वास्थ्य परीक्षण गरी औषधी लिए । सेनासंगै नेपाल प्रहरीले पनि शिविरमा डाक्टर खटाएको थियो ।

 

यसको समन्वय गर्ने नयाँ सबुज गणका गणपति झुलेन्द्र विक्रम बस्नेतले भने, ‘संघीयता कार्यान्वयनका लागि यो महत्वपूर्ण अभ्यास हो । जहाँ स्थानीय र संघीय सरकार एकै ठाउँमा आएर यस्तो कार्यक्रम सञ्चालन भएको छ ।’ उनले भने, ‘यस्तो शिविर विरलै हुन्छ । यसले संघीय र स्थानीय सरकारको मेल देखाएको छ । विकासको नाम, सबै एक ठाम भन्ने सन्देश दिएको छ ।’

Gadi

प्रहरीलाई निर्देशन-'अर्काकी श्रीमती नताक्नु'
छोटो समय भएपनि एसपी रजौरेले बिजौरा र लगामस्थित प्रहरी पोष्ट निरीक्षण गरे । उनले निरीक्षणका क्रममा ड्युटीमा रहेका प्रहरीलाई निर्देशन पनि दिए । गोडाफाटपछि निर्देशनमा उनले भने, ‘रक्सी नखानु, अर्काकी स्वास्नी नताक्नु, सरसफाई गर्नु, बिहान कबाज गर्नु । राम्रोसंग काम गर्नु ।’ त्यसपछि भने–‘सहतर्क’ ।

Police

राती लाग्ने फोन दिनु
यात्राका क्रममा बिजौरा र लगाममा आकस्मिक बैठक बस्यो । बैठकमा बजारका स्थानीय अपर्झट जम्मा भए । सिडिओ, डिसिओ, एसपी र स्थानीय सरकारका कार्यकारी प्रमुख आएका बेला जनताले आफ्ना समस्या नभने कहिले कोसंग भन्ने?

 

सिडिओ यादवले जम्मा भएका जनतालाई भने आफ्नो अध्यक्षसंग आफ्ना समस्या भन्नुस् । सबैले एक स्वरमा भने–‘राती लाग्ने फोन दिनुस् ।’

 

चौकुने ४ बिजौराका स्थानीय जगत रोकायले भने, ‘फोन नहुँदा मैले मेरो १ बर्षको नाती गुमाएँ । सामान्य बिरामी भएको नातीलाई बचाउन सकिएन । फोन भएको भए त केही उपाय हुन्थ्योहोला ।’

 

लगामबासीले पनि फोन नै मागे । राम्जाली खाजा पसल अगाडी जम्मा भएका धेरैले भने– ‘बेलुका ६ देखि बिहान १० बजेसम्म फोन नै लाग्दैन । खास फोन चाहिने राती नै हो । दिनमा त यसैपनि भेटघाट हुन्छ । खबर आदान प्रदान हुन्छ ।’

Doc

लगाममा ताल, तालले मालामाल
राज्यको पुनर्संरचनासंगै शक्तिशाली स्थानीय सरकार गठन भयो । चुनावबाट स्थानीय सरकार बन्यो । निर्वाचित जनप्रतिनिधिलाई केही गरौं भन्ने हुटहुटी हुनु स्वाभाविक हो । काम गर्ने बेला चुपचाप बसेपछि अर्को चुनाव यसै हारिने डर हुनेभो ।

 

स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको समुचित प्रयोग गर्ने हक स्थानीय सरकारसंगै छ । त्यसैले धेरै स्थानीय सरकारले मुलुकको मुहार फेर्ने थुप्रै योजना अघि सारेका छन् । गाउँ सभा र नगर सभाबाट योजना पास गराएका छन् । कानुन निर्माण गरेका छन् ।

 

यात्राकै समय चौकुने गाउँपालिकाका अध्यक्ष शाहीले सोधे–‘लगाममा ताल बनाउने योजना छ । कस्तो हुन्छ, ठाउँ हेरेर सुझाब दिनुहोला ।’ गाडी रोकिनासाथ हामीले ताल बन्ने भूभाग हेर्यौं । बाँध बाँध्ने ठाउँ सानो थियो । ताल बन्ने ठाउँ ठूलो ।

 

अध्यक्षले योजना सुनाए–‘यहाँ ताल बनाउन न बस्ती उठाउनुपर्छ । न त कसैलाई सास्ती नै हुन्छ । बरु यहाँ तालमा माछा पालन गरी जनताको जीवनस्तर उकास्न सकिन्छ । विजुली निकाली झलमल पार्न सकिन्छ । तालमा डुँगा चलाउन सकिन्छ ।’ यतिकैमा मैले सोधें–‘पर्यटक चाहिं कहाँबाट आउँछन्?’ शाहीले भने–‘काठमाडौंबाट गाडीमा राखेर सरासर यहीं ल्याउने ।’ कसैले भन्यो–‘पिशाब फेर्न चाहिं रोक्नुपर्ला है अध्यक्षज्यू ।’

Sena in school

अर्गानिक मूला, प्लाष्टिकका माला
लगाममा नास्ता खाने सल्लाह भयो । भोक लागेकै थियो । भाग्यले भेटेको कर्णालीका माछा मिठो मानेर खायौं । टिमुर हालेको टमाटरको अचार र रोटी खुब मिठो भयो । मूला काटेर सलाद दिए । कागती उस्तै रसिलो । अध्यक्षले शाहीले भने, ‘यहाँका सबै कुरा अर्गानिक हो है ।’ सबैले मिठो मानेर खायौं ।

 

निस्कने बेला अँध्यारो छिप्पिंदै थियो । होटल बाहिर स्थानीयको तयारी बेग्लै रैछ । बिदाईको । ‘बेलै यस्तै पर्यो’ भन्दै केही अविर र माला लिएर अघि सरे । पर्दैन भन्दा भन्दै उनीहरुले हामीलाई टीका र माला लगाइदिए । अविर त ठीकै हो माला मन परेन । प्लाष्टिकको । माया भने अर्गानिक ।

Mala

सार्वजनिक सुनुवाई, व्यक्तिगत चासो
शिविर चल्दै थियो । सिडिओ र एसपीले लगामसम्म घुम्ने विचार व्यक्त गरे । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत कालिदास बस्याल, डिसिओ, पत्रकार नगेन्द्र उपाध्याय र म संगै गयौं ।

 

लगाम पुगेर फर्कंदा रात छिपिंदै थियो । गाडीमै भएका बेला डिसिओको मोबाइल बज्यो । फोनमा उत्तर दिंदै उनले व्यानरमा सार्वजनिक सुनुवाई पनि लेखिएको र कार्यक्रम पनि भएको बताए ।

 

हरि अधिकारीको फोन थियो । अधिकारी चौकुनेका नेकपा नेता हुन् । उनले शिविरमा सार्वजनिक सुनुवाईबारे सोधेका थिए । अधिकारी अशल शासनका अभियन्ता पनि हुन् ।

 

उनले सार्वजनिक सुनुवाईबारे चासो राख्नु स्वाभाविक थियो । तर, अचम्मको कुरा उनले शिविरमा भएका अरु गतिविधिबारे कुनै कुरा सोधेनन् । सार्वजनिक सुनुवाई गर्न आफूलाई बजेट नदिएको भनेर गुनासो मात्रै गरे । कसैले भन्यो–‘सुशासन भनेकै हरि अधिकारी ।’ हामी हाँस्यौं ।

Sena

रगत बोकेर रातारात वीरेन्द्रनगर
९ र १० गते सञ्चालित शिविरले चौकुनेमा कुनै चाड आएझैं देखिन्थ्यो । जिल्ला प्रशासन कार्यालयको समन्वय र गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त शिविरमा धेरैले सेवा लिए । छोटो समयको तयारी भएपनि उत्साहजनक सहभागिता थियो ।

 

एकीकृत घुम्ती सेवा शिविरबाट नागरिकता, मतदाता परिचयपत्र, स्वास्थ्य परीक्षण, विपद व्यवस्थापनसम्बन्धी जनचेतना, रक्तदान, भेटेनरी परामर्श, विउविजन वितरण, सार्वजनिक सुनुवाई र सामूदायिक प्रहरी साझेदारी सम्बन्धी जानकारीमूलक कार्यक्रम गरिए ।

 

शिविरमा १९९ जनाले नागरिकता, ४१९ जनाले स्वास्थ्य परीक्षण, २५९ ले फोटोसहितको मतदाता परिचय पत्र, ५ जनाले ज्येष्ठ नागरिक प्रमाण पत्र बनाए भने २७ जनाले रक्तदान गरे ।

Blood

२७ पिण्ट रगत बोकेर रेडक्रसको टोलीसहित शिविर सहयोगी समूह मंगलबार राती वीरेन्द्रनगर फर्कियो ।

 

यो पनि पढ्नुहोस् :

चौकुने डायरी १: समाजवादउन्मुख गाउँ

२०७५ पुस ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्