Birendranagar Municipality

‘जाम्ना’को रहरले सेना बन्ने सपना तुहियो

किमसरा खत्री
‘जाम्ना’को रहरले सेना बन्ने सपना तुहियो

१३ पुस । सुर्खेतको सिम्ता गाउँपालिका ८ साहुखोला स्थित बुवा जंगबहादुर खत्री र आमा हुमी खत्रीकी कान्छी छोरीको रुपमा २०३९ साल बैशाख ११ गते मेरो जन्म भएको हो । ५ भाई बहिनी छौं ।


मेरो शारिरीक दुर्वलता जन्मजात होईन । म ११ वर्षको हुँदा रुखबाट लेडेपछि समयमै उपचार नपाएर आज म अपाङ्गताको जीवन बाँचिरहेकी छु ।


कक्षा ५ मा पढ्दा हो, घरमा रोपाई थियो । म गोठालो गएको बेलामा साथीसंग जाम्ना (एक प्रकारको फल) खान रुखमा गएको थिएँ । गाईबस्तुले अरुको बाली खाएको भनेर मेरो साईलो दाईले मलाई भन्नुभयो । हतारमा रुखबाट झर्नेबेलामा म लेडें । त्यो बेलामा सामान्य ढाडमा चोट देखीयो र प्राथमीक उपचार गरियो । यातायातको सुविधा पनि थिएन र समाजमा उपचार गर्नुपर्छ भन्ने चेतना पनि थिएन ।


घटना भएको करिब ५ वर्षपछि मात्रै मेरो ढाडमा समस्या देखीयो । नशा दबिएर बिस्तारै बढ्दै गयो । त्यसपछि उपचार गर्दा पनि निको भएन । उपचारको लागि माईलो दाईले नेपालगञ्जसम्म पुर्‍याउनु भयो । अहिले डाढमा नशा दबेर कुप्रो परेको छ । त्यसको लागि सहायक सामाग्रीको रुपमा बेल्ट प्रयोग गर्दै आएकी छु ।


मैले शिक्षा क्याम्पस सुर्खेतबाट नेपाली विषयबाट स्नातकोत्तर गरेकी छु ।


प्राथमिक तहको शिक्षा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय साहुखोलाबाट गरें भने निम्नमाध्यामिक तथा माध्यामीक तहको शिक्षा जनकल्याण माध्यामीक विद्यालय कापी्रचौरबाट गरेकी हुँ ।


२०६० सालको एसएलसी हो । अपाङ्गताको कारण मैले समय भन्दा ढिला एसएलसी पास गरें । बिच बिचमा पढाई पनि छा्ड्नुपर्ने भयो । घरको आर्थीक समस्या र दशवर्षे द्धन्द्धका कारण पढाईमा अवरोध आएको थियो । राज्यपक्ष र विद्रोही पक्षको चपेटामा विद्यालय परेको कारण पढाई हुंदैनथ्यो ।


अहिले सम्म संघर्षमय जिवन बिताउंदै आएकी छु । कतै गाली पाईन्छ कतै सम्मान पनि पाईन्छ । गालीलाई शक्तिमा बदल्दै काम गर्दै आएकी छु । जसले मलाई जसरी बुझे पनि मैले आफूलाई कुशल समाजसेवी बुझेकी छु ।


यसैपनि कर्णाली प्रदेशका सबै जनताहरुलाई समस्या छ । त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई ठूलो समस्या छ । अझ अपाङ्गता भएका महिलाका लागि त निकै चुनौती छ । हरेक क्षेत्रमा चुनौतीका पहाड मात्रै छन् ।


समावेशीतामा समस्या, समानताको सुनिश्चिततामा एकदमै ठुलो समस्या छ । भौगोलिक विकटता, सामाजिक अपहेलना, आर्थीक समस्या सबै समस्या बनेका छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई समाजले हेर्ने नकारात्मक दृष्टिकोण नै मुख्य समस्याको रुपमा रहेको छ ।


कतिपय कुराहरु त राज्यले समाधान गर्न खोजेको जस्तो देखिन्छ । तर पनि त्यो व्यवहारमा लागु हुन सकेको छैन ।


सबैका लागि पढाई परियोजना अन्र्तरगत समुदायमा अपाङ्गता कार्यकर्ताको रुपमा सिम्ता गाउँपालिकामा काम गर्दै आएकी छु ।

kimsara
मेरो समाज सेवा विशुद्ध अपाङ्गता भएका व्यक्तिहरुका लागि न्याय माग्नु हो । त्यो भन्दा अगाडि मेरो घरमा मेरो दिदीले बालविवाह गरेको नमिठो छाप परेको थियो । जसले मलाई समाजमा केहि गर्नुपर्छ भन्ने पाठ सिकायो । ºलोरेन्स नाइटिङ्लको जिवनी पनि मैले पढ्ने गर्थे र उहाँबाट पनि समाज सेवा गर्नुपर्छ भन्ने कुरामा प्रभावित भएँ । त्यो भन्दा पनि घरमा दाई भाइले म प्रति गरेको असमान व्यवहारले मलाई समाजमा केहि गर्ने प्रेरणा मिल्यो ।


म अपाङ्ग शसक्तिकरण केन्द्रको उपाध्यक्ष छु । त्यस्तै महिला मानवअधिकार रक्षक सञ्जालको पनि उपाध्यक्ष भएर काम गरिरहेकी छु । शान्ति, न्याय र लोकतन्त्रका लागि समाबेशी महिला सञ्जाल संकल्पको सचिब समेत भएर काम गरेकी छु ।


सामुदायीक बन उपभोक्ता महासंघ सुर्खेतको सदस्य भएर काम गर्ने अवसर समेत पाएकी छु । यी लगाएत थुप्रै संघ संस्थाहरुमा आवद्ध छु ।


महिला त्यसमा पनि अपाङ्गता छ । नेतृत्व गर्न त एकदमै गाह्रो छ । म प्राकृतिक विपत्तिसंग त कहिल्यै डराउँदिन तर यो समाजदेखी मलाई एकदमै डर लाग्छ । समाजका विभेदकारी संरचना र मुल्यमान्यतादेखि म डराउँछु । समाजको विभेदकै कारण हामी पछाडि पर्छौंकी, हाम्रो मागहरुको सुनुवाई हुंदैन की भन्ने डर लाग्छ ।


राज्यबाट त्यति ठुलो अपेक्षा हामीहरुले राखेका पनि छैनौं र राख्नुपनि हुन्न । राज्यले हामी अपाङ्गता भएका व्यक्तिहरुलाई स–सम्मान क्षमताको कदर गरोस् । सबै ठाउँमा हाम्रो सहभागिता पुगोस् र क्षमताअनुसारको अवसर पनि देओस् । हाम्रो अपेक्षा यहि हो ।


अपाङ्गता हुनुभन्दा अगाडि र पछाडि मेरो जिवन भोगाइमा धेरै समस्या आयो । शारिरीक तथा मानशिक समस्या बढि भोग्नुप¥यो । कसैले अपहेलना गर्छन भने कसैले सहयोग र प्रेरणा पनि दिन्छन् । तर मेरो बुवा आमाले भने मलाई साथ दिनुभएको छ । अहिले बुवा आमा र म मात्रै छुट्टै बस्दै आएका छौं । दाजु भाईको भने पटक्कै सहयोग छैन ।


पहुँचको आधारमा अवसर दिने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ । अपाङ्गता भएका व्यक्तिहरुको भौतिक संरचनाको पहुँच, संञ्चार निर्देशिका लगाएतका कानुनहरु समेत राज्यले कार्यान्वयन गरेको भए हामीहरुलाई सहज हुने थियो । अपाङ्गता ऐन २०७४ लागु भएपनि कार्यान्व्यन भएको छैन । कार्यान्वयन भएको भए हामीहरुले न्याय पाएको महशुष गर्ने थियौं ।


हामी त कम्तिमा पनि सदरमुकाममा छौं । तर साविको कर्णालीका पनि हुम्ला, डोल्पा जिल्लाहरुका अपाङ्गता भएका साथीहरुको हालत के होला सहजै अनुमान गर्न सकिन्छ ।  

 

राज्यले एकातिर असमान व्यवहार गरेको हुन्छ अर्कोतिर परिवारले समेत विभेद गर्दा अपाङ्गता भएका व्यक्तिहरुको मनोबल घट्छ । तर मैले त्यसलाई साहसमा बटुल्ने प्रयास गर्दै आएकी छु ।


सानो हुँदा नेपाली सेना बन्ने ठूलो सपना देखेको थिएँ । तर त्यो सपना पुरा गर्न सकिएन । अपाङ्गताका कारण नै म नेपाली सेनामा भर्ना भइन । आज सामाजिक अभियानमा लागेको छु । भोली कुनैपनि बेला नेतृत्व तहमा पुग्न चाहन्छु । जसले हामीजस्ता अपाङ्गता भएकाहरुको लागि आवाज उठाउन सकोस् ।


१६ दिने महिला हिंसाको अभियान प्रत्येक वर्ष चलाईन्छ । तर संसारभरकै महिलाहरु कुनै न कुनै प्रकारको हिंसा सहन बाध्य छन् । त्यसमा पनि नेपाली महिलाको अवस्था झनै नाजुक छ ।


कर्णालीमा महिलाहरुको जीवनमा सम्वृद्धि आउन अझै धेरै वर्ष लाग्ला जस्तो लाग्छ । त्यसमा पनि हामी अपाङ्गता भएका महिलाहरुलाई हरेक ठाउँमा हिंसा छ । कुटेर मात्रै हिंसा हुन्छ भन्ने होईन । अवसरबाट बञ्चित गराउनु, मन दुख्ने गरी बोल्नु वा व्यवहार गर्नु पनि हिंसा हो ।


त्यस्ता व्यवहार त दिनमा कति बेहोर्नुपर्छ भनेर साध्यै छैन । मेरो जीवनमा एकदमै दुखको क्षण पनि छ जो म चाहेर पनि भुल्न सक्दिन । हामी अपाङ्गता भएका व्यक्तिहरुलाई समाजले कसरी हेर्छ भन्ने कुरा त्यो व्यवहारबाट प्रष्टै झल्कन्छ । त्यो पनि एक किसिमको हिंसा नै थियो । यस्ता अवसरबाट त कति पछि परियो कति ।


म एसएलसी पास भइसकेपछि पुर्ण रुपमा सामाजिक क्षेत्रमा लागेकी हुं । म मेरै गाउँमा सामुदायिक बनको संस्थापक अध्यक्ष भएर काम गरें तर समाजले मलाई अध्यक्ष भएको हेर्न चाहेन । मलाई विभिन्न लाल्छना लगाइयो र पद च्युत गर्ने काम भयो । त्यो सम्झंदा आजपनि मलाई आंशु आउँछ । ती लगाएतका घरमा म माथीका बिभेदका कुरा त गरिसाध्यै छैन । पढ्ने, पालन पोषणको कुरालाई लिएर दाई भाइहरुले बुवाआमालाई पीडा दिन्छन् । त्यहि पिडाले मैले सकि नसकि जागीर खाएकी हुं ।


जीवनमा खुशी भन्ने त आएकै छैन । खुशी भनेकै मेरो बुवा र आमा हो । उहाँहरु मेरो साथमा हुनुहुन्छ । त्यसैलाई मैले खुशी मानेकी छु । विवाह गर्ने रहर त कसलाई पो हुन्न र तर मेरो अपाङ्गगता बु¤ने मान्छे पाएकी छैन । त्यस्ता मान्छे पाएपछि बिहे गर्छु । नभए बिहे गरेर स्वतन्त्र जीवन बन्धनमा पार्न चाहान्न । मेरो सबथोक समाज सेवा हो ।

 

प्रस्तोता : सीता वली 

 २०७५ पुस १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्