१५ पुस । हुम्लाको सदरमुकाम सिमकोटसंग जोडिएको खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुमा पहिलो पटक मोटर पुगेको छ ।
कर्णाली करिडोर अन्तर्गत खार्पु सुनाखाडा खण्डमा पर्ने गाउँपालिका केन्द्र याङ्चुमा बगरसम्म सडक निर्माण कार्य पूरा भएपछि गाडी गुड्न थालेका छन् । गाउँमै गाडी पुगेपछि स्थानीय हर्षित भएका छन् ।
स्थानीय पुष्पा शाहीले भनिन्, 'अब हाम्रा सुखका दिन आए । यस अघि चार घण्टा पैदल हिंडेर सदरमुकाम सिमकोट धाउनुपर्ने बाध्यता अब हटेको छ ।' सडक सञ्चालनमा आएपछि बिरामी हुँदा वा महिलाहरुलाई सुत्केरी व्यथा लाग्दा हेलिकप्टर रिजर्भ गर्नुपर्ने बाध्यता हट्ने पनि उनले बताइन् ।
गाउँमा गाडी पुगेपछि खार्पुनाथ ५ का धने कामी कहिल्यै नसोचेको भएको बताए । भने, 'सोचेकै थिइन आज आफ्नै आँगनमा गाडी आयो ।'
गाउँपालिकाको कार्यालय अगाडि गाडी पुगेपछि चालकलाई खादा र अविर लगाएर बाजाले स्वागत गरिएको थियो । स्वागत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबीर शाहीले भने- 'सडक यातायात जोडिंदा गाउँपालिकालाई मात्र नभई जिल्लाभरका बासिन्दालाई सहज हुने भयो ।'
हुम्लामा खार्पुनाथ सहित आन्तरिक सडक यातायात जोडिने गाउँपालिकाको संख्या ३ पुगेको छ ।
आइतबारदेखिनै सेवा नियमित गर्ने खार्पुनाथ यातायात प्रालिका लोकजंग शाहीले सेरोफेरोलाई बताए ।
खार्पुदेखि छोरसम्म २२ किलोमिटर सडकमध्ये खार्पुदेखि याङ्चुसम्म चार किलोमिटर सडक निर्माण कार्य पूरा भएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख इन्जिनियर सशांक मिश्रले जानकारी दिए । निर्माण कार्य जारी रहेकोले चालु आर्थिक बर्षमै उक्त सडक निर्माण सम्पन्न हुने उनले बताए ।
प्रतिकृया दिनुहोस्