१७, पुस । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका ११ झुप्राखोलामा १ सय १६ घर रहेको बादी बस्ती छ । शहरी कोलाहल भन्दा केहि एकान्त झुप्रा खोलाको तिरमा रहेको उक्त बस्तीमा स्थानिय सरकारको कुनै आभाष छैन ।
छ त केवल खोलाको बालुवा र त्यसले धानेको प्रत्येकको जीवन । विहान बेलुका बालुवामा नखेलेसम्म उनीहरुको चुलोमा आगो बल्दैन । बस्तीभन्दा करिब ३० मिटर तल भेरी नदि छ । खोला र नदिको बालुवा बेचेरै बादीहरुको दैनिकी टरेको छ ।
पिछडिएको समुदायका लागि आउने बजेट, महिलाका लागि आउने बजेटको बारेमा पनि उनीहरुलाई जानकारी छैन । देश संघियतामा गएको छ । अधिकारहरु जनताका घर आँगनमा पुगेको छ तर बादी बस्ती यी सबै कुराहरुदेखि बेखबर जस्तै छ ।
४५ वर्षीय पार्वती बादि भन्छिन् ‘हाम्रा लागि न नेता न संघियता । खोलाको धमीलो पानी खाएर बाँचेका छौं । कर्णालीको राजधानी रहेको नगरको वडामा बसोबास भएर के गर्नु बिजुली बत्ति बाल्न पाईएको छैन ।’
सरकारले बजेट ल्यायो भन्ने गाउँका केहि नेताबाटै सुनिन्छ तर त्यो त हाम्रा लागि होईन रे । बादी बस्तीका लागि किन बजेट आएन ? उनी मात्रै होईन तिलसरा बादिको पनि गुनासो सरकार प्रति नै छ । उनी भन्छिन् ‘२०३० सालदेखी बादीबस्ती वीरेन्द्रनगर नगरपालीका ११ को झुप्राखोलामा बस्दै आएको छ । तर यो बस्तीका लागि खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगार लगाएतका सुविधा राज्यले दिन सकेको छैन । नेताहरु भोट माग्न आए त्यसपछि फर्कि हेरेनन् ।’
तिलसराका अनुसार बादीबस्तीमा संघसंस्थाहरु धेरै आउने र आश्वासन देखाउने मात्रै गर्छन् । त्यसैले बस्तीले कसैको विस्वाश गर्न छोड्यो । वीरेन्द्रनगर नगरपालीका पनि यस विषयमा उदासिन छ ।
उक्त बस्तीमा एउटा प्राथमिक विद्यालय छ । तर त्यो विद्यालयबाट कक्षा ५ पास भएपछि बादि समुदायका बालबालीकाहरु पढाई छोड्ने गर्छन् । माथिल्लो कक्षा पढ्नको लागि उनीहरु भेरीगंगा नगरपालिकाको छिन्चु जानुपर्छ कि वीरेन्द्रनगर पुग्नुपर्छ । जुन ठाउँको विद्यालयमा जान पनि गाडी नचढी हुँदैन ।
कक्षा पाँच पास भएपछि करिब आधाघण्टा गाडिको यात्रा गरेर विरेन्द्रनगर ११ को धुलीयाबिटमा आउनु पर्ने बाध्यता बादी समुदायका बालबालीकाहरुको गुनासो छ । श्री शिब उच्च माध्यामीक विद्यालय धुलियाबिटमा कक्षा ८ मा अध्ययनरत निशा बादी भन्छिन् ‘गाडिले लगिदिए पढ्न आउँछौं नभए जंगलको बाटो डर लाग्छ घरमै बस्नुपर्ने बाध्यता छ ।’
माध्यामीक शिक्षाको लागि विकल्प छिन्चु र धुलियाबिट हो । तर गाडिको यात्रा संधै सम्भव छैन । त्यसैले समुदायका सबै बालबालीकाहरु कक्षा पाँच पास भएपछि पढ्नै छोड्ने गरेको वस्तिको विद्यालय नवजिवन प्राथमीक विद्यालय की प्राचार्य उषा नेपालीले बताइन । यसको लागी तीन तहकै सरकारले माध्यामीक तहसम्मको शिक्षा बादी बस्तीमै दिने व्यवस्था गर्न जरुरी भएको उनको भनाई छ ।
वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देबकुमार सुवेदिले जातीय रुपमा आफूहरुले बादी बस्तीको लागि छुट्टै बजेट छुट्याउन नसक्ने बताए । उनले भने ‘बादी बस्तीका लागि मात्रै भनेर बजेट छुट्याउने अवस्था छैन । तर हामीले बस्तीमा रहेको विद्यालयको लागि रंगरोगन र तटबन्धन गर्न केहि बजेट दिएका छौं ।’ शहरी स्वास्थ्य कार्यक्रम अन्तरगत बादि बस्तीका महिलाहरुका लागि साप्ताहिक रुपमा स्वास्थ्य जांच भने गर्दैआएको उनले जानकारी दिए ।
सामान्यतया नगरपालीका हुनको लागि विद्युत्, सडक, शिक्षा, स्वास्थ्य खानेपानी लगाएतका आधारभुत मापदण्ड पुरा गरेको हुनपर्दछ । तर वीरेन्द्रनगर नगरपालीका ११ झुप्राखोलाको १ सय १६ घर बादी बस्तीमा न त विजुली छ न त खानेपानीको सुविधा नै ।
माथी बालुवा उत्खनन् गर्नै र तल त्यहि धमीलो पानी खाएर बादी बस्तीले जीवन गुजारिरहेका छन् । धमीलो पानी खाएकै कारण विभिन्न खालको संक्रमणको समस्या समेत उनीहरुले भोक्दै आएका छन् । आधा वन र आधा खोलाको क्षेत्रमा अवस्थित उत्पिडनमा परेको उक्त बादी बस्तीको लागि सरकारले सोच्नै पर्ने बेला आएको छ ।
के भन्छन् बादी समुदायका नेता ?
बिष्णु बादी–कार्यपालीका सदस्य, वीरेन्द्रनगर नपा
म कार्यपालीकाको सदस्य नहुँदा पनि झुप्रा खोलामा रहेका बादी बस्तीको लागी विभिन्न मागहरु लिएर वीरेन्द्रनगर नगरपालिकामा जाने गर्थें ।
अहिले कार्यपालीकाको सदस्य भए पनि प्राय सबै मन्त्रालयहरुमा गएर बादी बस्तीको समस्याहरु राख्ने गरेको छु । तर कतैबाट मेरो आवाजको समेत सुनुवाई भएको छैन ।
पानी, बत्ति को आश्वासन दिएपनि काम बादी बस्तीकै लागि भनेर छुट्टै बजेट छुट्याईएको छैन । अर्को कुरा बादी बस्तीका लागि आएको बजेट केहि नेताहरुले खाएको भन्ने जनताको आरोप छ । त्यो बिल्कुलै होईन । सरकारका तर्फबाट बादी बस्तीकै लागि बजेट छुट्याएको छैन ।
अर्को कुरा बजेट जुन संस्थाले दिएपनि सिधै बस्तीमा आउँछन् कसरी नेताले खान मिल्छ ? झुप्रा खोलामा रहेको बादी बस्तीमा २०७२ सालको बाढि पनि पसेको हो । धेरै घरमा क्षती भयो तर कसैले हेरेन । अहिले पनि बादी बस्ती उपेक्षामा परेको छ ।
प्रतिकृया दिनुहोस्