१८ पुस । मुलुकी फौजदारी र मुलुकी देवानी संहिता २०७४ कार्यान्वयनमा आय यता ५८ जना पुरुष सम्बन्ध विच्छेदका लागी अदालतको ढोकामा पुगेको जिल्ला अदालत सुर्खेतले जानकारी दिएको छ । गत भदौ देखी हालसम्मको पाँच महिनाको अवधिमा पुरुषलाई वेवास्ता गरेको, सम्पत्ति हिनामिना गरेको, पर पुरुषसंग सम्बन्ध राखेको लगाएतका कारण सहित पांच महिनामा ५८ वटा सम्बन्ध विच्छेदका घटना पुरुषले दर्ता गराएको अदालतले जनाएको छ ।
जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भुपाल भण्डारीका अनुसार भदौ महिनाबाट लागु भएको मुलुकी ऐन अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदका घटना दर्ता गर्न पाउने व्यवस्था भएकोले सम्बन्ध विच्छेदका घटना बढेका हुन् । उनले भने ‘ यस भन्दा पहिला गाउंविकास समितीको शिफारिसमा वर्षमा २/४ सम्बन्ध विच्छेदका घटना आउथे । यस बाहेक पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्न नपाउने व्यवस्था थियो । भदौ महिनाबाट लागुभएको मुलुकी ऐनले पुरुषले पनि सम्बन्ध विच्छेदका घटना दर्ता गर्न पाउने भएपछि अदालतमा पुरुषले सम्बन्ध विच्छेदका घटना दर्ता गराउंदै आएका छन् ।’
त्यस्तै जिल्ला अदालत सुर्खेतमा पौष महिनाको १७ गते सम्म महिलाले १ सय ४८ र पुरुषले ५८ गरी जम्मा २ सय ६ सम्बन्ध विच्छेदका घटना दर्ता गराएका छन् । आर्थीक वर्ष २०७४/ ७५ मा भने जम्मा ४ सय १ सम्बन्ध विच्छेदका घटना जिल्ला अदालत सुर्खेतमा दर्ता भएका थिए ।
त्यस्तै पौष महिना सम्म व्यक्तिवादी देवानी ३ सय १९, व्यक्तिवादी फौजदारी ३ सय ८३, सरकारबादि फौजदारी १ सय ७९ र रिट ४ गरी ८ सय ८६ मुद्धा रहेका छन् । जसमध्ये ५ सय २२ नयां र ३ सय ६३ अघिल्लो वर्षका जिम्मेवारी सरी आएका मुद्धा रहेको कार्यालयले जानकारी दिएको छ । त्यस्तै जबरजस्ती करुणीका ३९, बहुविवाहका २३, लागुऔषधका २८, घरेलुहिंसाका १३, वालविवाह २ मुद्धा दर्ता भएको जिल्ला अदालत सुर्खेतले जानकारी दिएको छ ।
६५ वर्षदेखी फरार रहेका अभियुक्तलाई खोज्ने तयारी
जिल्ला अदालत सुर्खैतमा २०१० सालदेखी फैसला भएर पनि कारबाही नभोगेका फरार अभियुक्तलाई खोज्ने तयारी भईरहको छ । यसका लागी जिल्ला अदालत सुर्खेतले एउटा समिती नै गठन गरी यस्तो खालको अभियान सञ्चालन गर्ने तयारी गरेको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भुपाल भण्डारीले बताएका छन् ।
फरार रहेका सबै अभियुक्तहरुको कैद सजाय १६ सय २३ वर्ष सात महिना १९ दिन रहेको छ । त्यस्तै जम्मा जरिवाना ३ करोड,६७ लाख २८ हजार ९ सय ३३ रुपैयां रहेको छ ।
जसमध्ये ३ सय ४७ वर्ष ६ महिना ७ दिन कैद फर्छयौट भएको छ भने १९ लाख ५२ हजार ८ सय ५० जरिवाना फर्छयौट भएपनि अझै १२ सय ७६ वर्ष १ महिना १२ दिन कैद सजाय र ३ करोड ४७ लाख ७६ हजार ८३ रुपैयां जरिवाना बांकी रहेको श्रेस्तेदार भण्डारीले जानकारी दिएका छन् ।
यसरी धेरै वर्ष सम्म पनि फरार रहेका अभियुक्तलाई कार्रवाहि गर्न नसक्नुका थुप्रै कारणहरु रहको भण्डारीले बताएका छन् । उनका अनुसार तिनपुस्ते राम्रोसंग नखुलाएको, बसाईसरी अन्यत्र गएको र मुृत्यु भएको अवस्थामा पनि अभियुक्त फेला नपरेको हो ।
उनले भने ‘ अब हरेक गाउंगाउंमा जिल्ला अदालतको कर्मचारी सुरक्षा टोलीसहित पुग्नुपर्छ । तब मात्रै धेरै वर्ष पहिला फैसला भई कारवाही नभएकाहरुले सजाय पाउने छन् ।’
प्रतिकृया दिनुहोस्