Birendranagar Municipality

सुर्खेती कलाकार जो बाँसुरी बजाउन राजदरबार सम्म गए

ज्ञानबहादुर नेपाली
सुर्खेती कलाकार जो बाँसुरी बजाउन राजदरबार सम्म गए

वि.स. २०२७ साल मंसीर १९ गते घरको जेठो छोराको रुपमा बुवा चन्द्रबहादुर नेपाली र आमा रत्नकुमारी नेपालीको कोखबाट वीरेन्द्रनगर नगरपालीका ७ इत्राममा जन्मिएको हुँ । हाल मेरो घर वीरेन्द्रनगर ६ न्युरोडमा छ ।


बुवा आमाले त्यहि पुख्र्यौली पेशा सिलाइको काम गर्नुहुन्थ्यो । हामी पाँच भाई बहिनी हो । दुईभाई छोरा र तीन बहिनी छोरी म घरको जेठो छोरा ।


सानैदेखी कलाकारितामा रुची राख्थें । श्री कृष्ण संस्कृती माध्यामीक विद्यालय इत्राममा पढ्ने बेलामा पनि विद्यालयका कार्यक्रमहरुमा मैले गीत गाउने, नाटक खेल्ने र मेरो मुख्य विधा बाँसुरी बजाउने गर्थें ।


म खास कलाकारिता तिर खुलेर लागेको वि.स २०४२ सालतिरबाट हो । २०४२ सालमा विद्यालयमा स्काउटको जिल्ला स्तरीय नृत्य प्रतियोगीता भएको थियो ।


त्यो बेलामा हाम्रो टिम प्रथम भएको थियो । त्यसमा मैले पनि नृत्य गरेको थिएँ । म खास कलाकार बनुँला भनेर लागेको त होइन तर अन्तरआत्मादेखी कलाकारिता प्रति चासो बढेर मैले यो क्षेत्र छोड्न सकिन ।


कलाकारिताको भोगकले पढाइलाई धेरै अगाडि बढाउन सकिन । कक्षा १० मै मेरो पढाई ब्रेक भयो । मैले सांगीतिक क्षेत्रमा लागेर के पाएँ र के गुमाएँ भन्ने कुरा यसै भन्न सकिन्न । आफ्नो आत्माले नै कलाकारिता प्रति सम्मान र मायाँ गर्ने भएरै म यो क्षेत्रमा लागेको हुँ ।


गायीकालाई बिवाह गरें तर सिलाईको काम गर्नुपर्‍यो

यो क्षेत्रमा रमाउंदै गर्दा बिवाह गरें । त्यो मेरो जीवनको ठूलो प्राप्ती हो । मैले कलाकारिताबाट किन कसरी श्रीमती पाएँ भन्ने चासो सबैको होला । म बाँसुरी बाधक उनी गायीका । वि.स. २०५३ सालमा हाम्रो नेपालगञ्जमा भेटघाट भयो ।


उनी दाङ्गबाट आएकी थिईन्, म सुर्खेतबाट त्यही हाम्रो भेट भो । मौकाले बस्ने होटेल पनि एउटै पर्‍यो । चिनजान भयो । वि.स. २०५४ सालमा क्षेत्रिय शिक्षा निर्देशनालय सुर्खेतको कार्यक्रम थियो दाङ्गबाट कलाकार टोलीमा उनी पनि आइन् । त्यतिबेला पनि हाम्रो भेट भयो । भेटघाट बाक्लिदै गएपछि २०५५ सालमा हामीले बिवाह गर्‍यौं ।


श्रीमती सुशिला परियार बुवा दामोदर परियार र आमा रामकली परियारको कोखबाट वि.स. २०३७ साल मंसीर १२ गते जन्मिएकी हुन् । उनले पनि १० कक्षा पढेकी छन् । घरकी कान्छी छोरी मैले भगाएपछि बुवाआमा खुब रिसाउनु भएको थियो । हामी दुई वर्षजती माइती (ससुरालि) गएनौं ।


घोराहि नगरपालीका ६ दाङ्गमा जन्मिएकी उनी एकदमै राम्रो गायीका हुन् । तर विहेपछि कलाकारिता तिर उनी लागिनन् । मैले उनलाई पनि सहयोग, प्रोत्साहन गरेको हो । म घरको जेठो छोरो भएकोले मेरो जिम्मेजारी सबै श्रीमतीलाई सम्हालिन् । उनको कहिल्यै गुनासो भएन कलाकारितामा लाग्न नपाएकोमा ।

IMG_1037
हाम्रो जोडिको झगडा कहिल्यै हुंदैन । उनी संधै खुशी देखिन्छिन् । उनलाई खुशी देख्दा म यशै खुशी । अहिले मेरा दुई छोरी र एक छोरा छन् । दुवै जना पढ्दै छन् ।

 

बाँसुरीले चिनारी दियो  

मेरो चिनारी बाँसुरी बाधक हो । मलाई यसमा गर्व छ । हुनत म गायक पनि हो । त्यसैगरी नृत्य पनि गर्थें तर पछि मुख्य विधाको रुपमा बाँसुरी बाधक भयो ।


बाँसुरीको धुन जस्तै बाँसुरी बाधकको नाम पनि मन्द नै हुंदो रै’छ । किनभने हामी मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट देशव्यापी नृत्य कार्यक्रममा धेरै पटक प्रथम भएका छौं । त्यसमा मैले बजाएको बाँसुरीको धुन पनि थियो ।


प्रतियोगिता जिते पनि बाँसुरी  बाधकको नाम कहिलै बाहिर नआउने रै’छ । त्यसमा मलाई धेरै दुःख लाग्दैन । किनभने मैले रोजेको बिधा नै यस्तै हो जो संधै ओझेलमा परेको हुन्छ । म कलाकारितामा कसैबाट प्रभावित त भएको होइन तर मेरो बुवाआमाले मलाई यो क्षेत्रमा आउनलाई खुब साथ दिनुभएको हो ।


त्यो जमानामा संगीत सिक्ने भन्ने हुदैनथ्यो । गीत सुन्नकै लागि मेरो बुवाले रेडियो किनिदिनु भएको थियो । त्यहि रेडियोमा बजेको बाँसुरीको धुन नै मेरो संगीतको शिक्षक हो ।


म स्कुलमा पढ्दा गुरुआमा सुधा रेग्मी हुनुहुन्थ्यो । उहाँले मलाई कलाकारितामा लाग्न प्रोत्साहन भने गर्नुभएको हो । उहाँको प्रोत्साहनले नै आज म एउटा बाँसुरी बाधकको रुपमा परिचय बनाएको छु । कलाकारितामा निरन्तर लाग्नको लागि साथ दिने जीवनसाथी सुशिला परियार नै हुन् ।


जब सुभाघाट मेलामा पुल भाँचियो...

जीवन जिउने क्रममा दुःख, सुख दुबै आउँछन्न् । त्यसलाई खासै ठुलो मान्नु हुंदैन । तर कार्यक्रमको शिलशिलामा वि.स २०६४ पुस १० गते गुर्भाकोटको मेहेलकुनामा पर्ने सुभाघाटको मेलामा भेरीको पुल भांचिएर धेरैको मृत्यु भयो । आंखै अगाडि ।


मैले र लिला थापाले गीत गाईरहेका थियौं । माहोल एकदमै रमाईलो भइरहेको थियो त्यहि बेलामा ठुलो आवाज आयो । त्यो आवाज सुभाघाट पुल भांचिएको आवाज थियो । त्यो दिन नै मेरो जीवनको सबैभन्दा कहाली लाग्दो दिन हो । त्यो दिनलाई भुल्नै सक्दिन । भुल्नु पनि कसरी ?


राजासंगको भेट र कोकाकोलाको स्वाद

जिन्दगीमा राजासंग भेट्दा धेरै खुशी भएँ । वि.स. २०४४ सालमा म इत्राम स्कुलमा पढ्दै थिएँ । स्काउटबाट काठमान्डौं जाने अवसर मिल्यो । म त्यति बेला १७ वर्षको थि भएँ। राजदरबार भित्रै सांगितिक कार्यक्रमको लागि गएका थियौं । राजपरिवारसंग भेट्न पाइयो । त्यो दिन नै मेरो सबैभन्दा खुसीको क्षण थियो ।


मैले जिवनमा कोकाकोला खाएको पनि त्यति बेला नै हो । सुर्खेतका माननिय चन्द्रबहादुर बुढा सुर्खेतका कलाकार समुह गीत, नृत्य विधामा प्रथम भएकोले भेट्न आउँदा कोक खुवाउनु भएको थियो ।

 

नयाँ पुस्ता र सपना

कलाकारिताबाट बांच्नकै लागि मात्रै छ तर कमाउनका लागि केहि छैन । मेरो श्रीमती घरमा सिलाई काम गर्छिन् म भने कलाकारितामै व्यस्त । आफुले जसरी जीवन गुजारेपनि छोराछोरीका लागि भने हामीले केहि कुराको कमी गरेका छैनौं ।


पढ्दै छन् । उनीहरुको इच्छा अनुसार जे पढ्न चाहन्छन् त्यो विषय पढाउने अठोट हाम्रो छ । म बागिना समुहमा पनि संगीत शिक्षकको रुपमा काम गर्दै आएको छु । करिब पाँच वर्ष भयो । जीवन कला क्षेत्रमै बीताउने रहर छ । जो पुरा गर्दै छु ।


म र बाँसुरीएक अर्कामा परिपुरक जस्तै छौं । । मलाई बाँसुरीले देशभर घुमाएको छ । रेडियो नेपालमा पनि बाँसुरी बाधकको रुपमा काम गर्ने अवसर मिल्यो ।टेलीश्रृङ्ख्लाहरुमा पनि मेरो भुमीका बाँसुरीमा नै हुन्थ्यो । म यहि बिधामा रमाएर बाँच्न चाहन्छु । 

 

प्रस्तुती : सीता वली

२०७५ पुस २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्