सेरोफेरो
१५ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना पुनः स्थगित भएको छ । माओवादी केन्द्रका कार्यकर्ताले मनगणनास्थल भित्र गई मतपत्र च्यातेपछि बिहान १ः२० बजे देखि मतगणना स्थगित गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले सूचना प्रकाशन गरी मतगणना कार्य स्थगित गरिएको जनाएको छ । सूचनामा भनिएको छ- 'मतगणनास्थलमा रहेका प्रतिनिधिबाट मतपत्र रहेको स्थलमा प्रवेश गरी मतपत्र च्यात्ने र मतगणनास्थल आफ्नो कब्जामा लिनेसम्मका कार्य गरी असामान्य अबस्थाको सिर्जना भई मतगणना कार्य लगातार गर्न नसकिने भएकोले अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।'
मतपत्र च्यात्ने कार्यमा संलग्न माओवादी केन्द्रका केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नेपका एमालेका मेयरका उमेदवार देबी ज्ञवाली र माओवादी केन्द्र र नेपाली काँग्रेसकी साझा उमेदवार रेणु दाहालबीचको मतअन्तरमा सोचेजस्तो कमी आउन नसकेपछि आक्रोशित माओवादी कार्यकर्ताले मतपत्र च्यातेका हुन् । ज्ञवालीले उक्त कार्य अलोकतान्त्रिक, घृणित र गैरकानुनी भएको बताएका छन् । भरतपुर महानगरको १९ नम्बर वडामा दाहालको मत बढ्ने अनुमान गरिएको थियो । तर अपेक्षाकृत मतअन्तर बढेन । मतपत्र च्यात्नुअघिको मतअन्तर सात सय ३३ पुगेको थियो । यसअघि २७ वडाका मत गन्दा ज्ञवाली र दाहालबीचको मतअन्तर सात सय ८४ थियो ।
१४ गते राती नौ बजेनै माओवादीले मतपत्र च्याती गणनास्थल कब्जा गर्ने रणनीति बनाएको थाहा पाई प्रहरीलाई सूचना दिएतापनि प्रहरीले समेत बेवास्ता गरेको नेकपा एमालेका कार्यकर्ताले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी उमेदवार भएका कारण पनि भरतपुरको नतिजामा धेरैले चासो देखाएका छन् भने ज्ञवाली र दाहालबीचको रोमाञ्चक प्रतिष्पर्धाले धेरैमा सनसनी मच्चाएको छ । भरतपुरको मतगणनामा धेरैको ध्यान जानुको अर्को कारण भनेको माओवादी र काँग्रेसको समीकरण पनि हो । छोरी उमेदवार बनेपश्चात् प्रधानमन्त्री दाहालले नेपाली काँग्रेससंग भरतपुर र पोखरामा चुनावी तालमेल गरेका थिए ।
दर्ता भैसकेपश्चात् उमेदवारी फिर्ता लिन लगाईएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ता पार्टी सभापति शेरबहादुर देउवासंग रुष्ट भएका थिए भने रुष्ट कार्यकर्ताले देउवाको पुत्ला समेत जलाएका थिए । प्रचार प्रसारको क्रममा देउवा र दाहाल संगै चितवन गई चुनावी सभालाई सम्बोधन समेत गरेका थिए । केन्द्रीय सत्ता सम्हालेका पहिलो र तेस्रो ठूलो दलबीचको चुनावी तालमेलका बीच पनि एमालेका उमेदबारको निरन्तर अग्रतालाई उत्सुकतासाथ हेरिएको छ ।
बेलाबेलामा मतगणना कार्य स्थगित हुँदा १५ दिन १५ रात मतगणना गर्दापनि भरतपुर महानगरको अन्तिम मतपरिणाम आउन सकेको छैन ।
प्रतिकृया दिनुहोस्