खै ! कसरी सम्बोधन गरू तिमीलाई ? कसरी दिउ तिम्रो परिचय मानव जातिकै एक लोपोन्मुख जाति भनेर १० वटा लोपोन्मुख जाति मध्ये तिम्रो जस्तो अवस्था, परिवेश तथा दैनिकी अन्य जातिहरूले भोग्नु परेको छैन ।
जब तिम्रो मयल परेको हिस्सी अनुहार, कहिले नकोरिएको बेस्सरी जगल्टीएको कपाल, च्यातिएर दागै दाग लागेका महिला पहिरन तथा परम्परागत पोते, सिल्पट र फलामका गहनामा सजिएकी तिमीलाई देख्दा लाग्छ तिमी कुनै सन्दरी भन्दा कम छैनौ । तथापि प्रस्तुतिकरणको उचित अवसरको अभावमा तिमी यसरी जङ्गलमा कन्दमुल र भ्याकुर खाएर जङ्गली जीवन जीउन बाध्य छौ ।
२१ औ शताब्दीको विश्व एकाकार भएको विश्वव्यापीकरणको सन्दर्भमा तिमी किन यसरी ढुङ्गे युगको परिवेशमा जीवन निर्वाह गर्न बाध्य छौ ? साच्चै के तिमीलाई अन्य सामान्य मानव जातिका महिलाले जस्तै सेवा सुविधा प्राप्त गर्ने, शिक्षा,स्वास्थ्य तथा पेशा व्यवसाय अङ्गालेर गाडी र प्लेन चढ्न मन लाग्दैन ?
के तिमीलाई आफुले खोजेजस्तै रोजेजस्तै परिवार र वर चाहिदैन ? विविध आर्थिक, सामाजिक, राजनीतिक जस्ता विकासका आयामहरूमा आफ्नो पहुँच, पहिचान, सार्थक सहभागिता चाहिदैन ? के तिमीले भोगेको जीवनशैली तिम्रा भावि पुस्तालाई भोग्न सुम्पिन्छौं । साँच्ची के तिमी परिवर्तन चाहदैनौ ?
जब मैले राउटे जातिका दिदी बहिनीहरूसँग प्रत्यक्ष भेट्ने मौका पाएँ, तब मेरा मनमा यस्ता अनेकन जिज्ञासाहरू मनमा खेलिरहे । जिज्ञासाहरू मेटाउने अनेकन पयत्न गरें तर सफल भइन । नेपाली समाज पुरूष प्रधान समाज भएकै कारण राउटे जातीमा पनि यहि समाजको रूप देखियो । महिलाहरू जवाफ दिन अग्रसर नभए पनि जिज्ञासा मेटाउने प्रयास गरें । राउटे दाजुभाईहरुले मेरा खुल्दुलीहरूको जवाफ पूर्ण रुपमा दिन सकेनन् ।
कलिला ति मुनाहरूलाई देखेर माया र दयाले मन पग्लियो । लाग्यो यिनीहरूलाई उचित लालन पालन र शिक्षा दिएको भए कस्ता हुन्थे होला ? तर के गर्ने उनीहरू जङ्गली जीवनमा रमाउन अभ्यस्त भइसकेका छन । उनीहरुको व्यवहारले यस्तो लाग्थ्यो उनीहरुलाई यो दुनियाको कुनै चासो र खाँचो छैन ।
राउटे समुदायमा अनेकन कुप्र्रथा र कुरीतिहरू विद्यमान रहेको पाइयो । राउटे महिलाले परपुरूषसँग बोल्न नपाउने, सिलाएको कपडा लगाउन नहुने , कपाल कोर्न र श्रृङ्गार गर्न नहुने, कोही समुहबाट छुट्टिएर गएमा सबै मिलेर उसलाई सजाय दिने जस्ता परम्परागत सोच र कार्यशैली अपनाइएको पाइयो ।
तर महिलाको तुलनामा पुरूषहरू बिस्तारै परिवर्तन हुँदै गएका हुन कि भन्ने भान हुन्थ्यो । जस्तै पुरुषहरुले बजारको टोपी, कोट लगाउने, आफ्ना माग राख्ने र नाच गीत र मनोरञ्जनका यस्ता कार्यक्रममा सहभागिता जनाउँदा रहेछन् ।
राउटेहरूको सभ्य समाज निर्माण र उत्थानका लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरूले विभिन्न समयमा धेरै प्रयासहरू गरेको देखियो तर ति दिर्घकालिन सुधारका लागि नभई तत्कालिन आवश्यकता पूर्तिको लागि मात्र भएको पाइयो ।
सुधारका लागि प्राप्त आर्थिक सहयोग रकम मद्यपान र धुम्रपानको उपयोगमा खर्चेको पाइयो । पैंसा छोए पाप लाग्छ भन्ने जाति अहिले पैंसा नभई बोल्न पनि नबोल्ने अवस्थामा पुगि सकेका छन् । जङ्गलको फिरन्ते जीवन व्यतित गर्दै गुना र कन्दमुल खाने, काठका भाँडा बनाई बेच्ने जाति, बिस्तारै कुलत र शहरीया खानेकुराहरू खानेतर्फ प्रेरित भइरहेको देखिन्छ ।
अन्त्यमा, तत्कालिन न्युनतम आवश्यकता साथ साथै उनीहरूको उज्जवल भविष्यको लागि आवश्यक पर्ने नीति, योजना र कार्यक्रमहरु सञ्चालन तथा व्यस्थापन गरी कार्यन्वयन गर्नुपर्दछ ।
वित्तिय सहयोग मात्र होइन, सामाजिक, राजनीतिक, शैक्षिक र मानव विकासमा टेवा पु¥याउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने मेरो ठम्याइ छ ।
प्रतिकृया दिनुहोस्