Birendranagar Municipality

अर्गानिक कर्णाली बनाउने ‘भरिपुर्ण बाजे’

सीता वली /सुर्खेत
अर्गानिक कर्णाली बनाउने ‘भरिपुर्ण बाजे’

२४ पुस । वीरेन्द्रनगर ११ सुर्खेतका देबिराम तिवारीलाई सबैले भरिपुर्ण बाजे भनेर चिन्छन् । यो परिचय उनलाई अर्गानिक उत्पादनले दिएको हो ।


वि.स २०६५ सालदेखी अर्गानिक तरकारी उत्पादनमा लागेका तिवारीको करिब २० वर्षको शिक्षण अनुभव पनि छ । आर्गानिक तरकारी खेती शुरु गर्नुभन्दा पहिला उनले होटेल व्यवसाय सञ्चालन गर्दै आएका थिए ।


वि.स २०३२ सालबाट शिक्षण गरेका तिवारीले वि.स २०५३ सालमा अवकाश पाए ।


अवकाश पछिको जिवनलाई उनले व्यवसायीकतामा जोडे । भरिपुर्ण अर्गानिक तरकारी बाली एण्ड च्याउ उत्पादन केन्द्र विधिवत रुपमा दर्ता गरी अर्गानिक तरकारी तथा च्याउ उत्पादन गर्दै आएका तिवारीले अर्गानिक मल उत्पादनमा समेत लगानी गर्दै आएका छन् ।


उनको व्यवसायले चारजना छोरा छोरी र श्रीमती सहित ६ जनाको परिवारको खर्च आनन्दले धानेको छ ।


वीरेन्द्रनगर नगरपालीका ६ मंगलगढि बसपार्क नजिक रहेको नगरकै पार्कभित्र उनले महिनाको ५ हजार भाडा तिरेर व्यवसाय गर्दै आएका छन् । करिब २७ लाखको लगानीमा उनले पार्क भित्र विभिन्न टहराहरु बनाएका छन् ।


च्याउ उत्पादनका लागि टहरा तथा अर्गानिक मल उत्पादनका खाडलहरु निर्माण गरी अर्गानिक तरकारी खेतीमा तिवारी लागिरहेका छन् । घरमा आफूसंग भएको करिब आधा कट्टा जमिनमा समेत उनले आलु, टमाटर, काउली लगाएतका तरकारी उत्पादन गर्दै आएका छन् ।

IMG_3309

हाल उनले २ सय ८७ डल्ला च्याउ लगाएका छन् । तीनमहिनाको अवधिमा उनले साढे दुई कुईन्टल च्याउ उत्पादन गरी बिक्री गरिसकेका छन् । उनी भन्छन् ‘महिनामा मैले कति कमाए भन्नु भन्दा पनि जनतालाई अर्गानिक तरकारी कति दिएँ भन्ने कुरामा बढि ध्यान दिने गरेको छु ।’


पछिल्लो समय छोटो समयमा धेरै उत्पादन गरी धेरै पैसा कमाउने होडबाजिमा तरकारीमा बिषादि प्रयोग गरिंदै आएको छ । त्यसैले आफूले अर्गानिक तरकारी तथा च्याउ उत्पादनमा ध्यान दिएको उनी बताउँछन् ।


उनले च्याउ र तरकारी मात्रै होईन बजारमा खेर गएको चियापत्ति संकलन गरी अर्गानिक मल समेत उत्पादन गर्दै आएका छन् ।


बढ्दो शहरीकरणका कारण गाईबस्तु पाल्न नसकिने र किसानहरु मलको सट्टामा रासायनिक मल प्रयोग गरी तरकारी खेती गर्ने भएकाले बजारमा खेर गएको चियापत्ति र हरियो झार मिश्रण गरी अर्गानिक मल उत्पादन गर्दै आएको तिवारीले बताए ।


भने ‘तरकारी पसलहरुमा सडेका तरकारीहरु, घरबाट निस्किएका तरकारी तथा फलफुलका बोक्रा, घांस र पसलहरुमा खेर गएको चियापक्तिलाई खाल्डोमा हाली मल उत्पादन गर्दै आएको छु ।’


६५ वर्षका तिवारी वि.स २०११ साल जेठ १५ गते चामुण्डा बिन्द्राशैनी गाउँपालीका २ मा जन्मिएका हुन् । बुवा थानेश्वर तिवारी र आमा पार्वति तिवारीको कोखबाट जन्मिएका तिवारीले एसएलसी पास गरेका छन् ।


प्राय जसो मानिसहरु अवकाश पछि धर्मकर्ममा लागेका हुन्छन् । उनका अनुसार जनतालाई स्व्च्छ तरकारी दिनु पनि धर्म हो ।


समाजमा भएका विकृतिका विरुद्धमा समेत तिवारी सक्रिय भइहाल्छन् ।


बजारमा गुणस्तर सामान छ तर गुणस्तर बिभागले नहेर्ने भएकोले यसमा जनतानै सचेत हुनुपर्ने तिवारीको भनाई छ । मानव स्वास्थ्यको लागि अर्गानिक आहार बिहारमा ध्यान दिनुपर्ने उनको अनुभव छ ।


बिषादी मुक्त समाज निर्माण गर्ने र अर्गानिक आहारबिहारको प्रयोग बढि भन्दा बढि गराउने उनको उदेश्य रहेको छ ।


उनको अर्गानिक समाज निर्माण गर्ने उदेश्यले सञ्चालन गरेको अर्गानिक तरकारी तथा च्याउ उत्पादन केन्द्रको कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री बिमला केसीले पनि अनुगमन समेत गरीसकेकी छन् ।


अनुगमनका क्रममा मन्त्री केसीले अर्गानिक खेती गर्दै आएका किसानहरुलाई मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।


आफूसंग प्रशस्त जग्गा नभएकोले अर्गानिक मल उत्पादनको लागी पञ्चपुरी नगरपालीकामा १७ कट्टा जमिन भाडामा लिई काम शुचारु गरेको तिवारीले बताए ।


आफूले सानैदेखि नराम्रो कुरा त्याग्ने र राम्रो कुराको शुरुवात गर्नुपर्छ भन्ने पाठ सिकेको र बुवाआमा तथा गुरुहरुको त्यो पाठलाई अवकाश पछि पनि प्रयोग गर्नुपर्छ भनि अर्गानिक खेतीमा लाग्ने सोच बनाएको तिवारी बताउंछन् ।


उनलाई खासै संघसंस्थाहरुको अनुदानको अपेक्षा पनि छैन र कतैबाट अनुदान पनि लिएका छैनन् ।

IMG_3318
उनी सानोमा चञ्चल स्व्भावका थिए । कसैले अन्याय गरेको नसहने स्वभावका उनको आजभोली पनि यो स्वभाव उस्तै छ ।


वि.स २०२४ सालदेखी २०३१ सालसम्म भारतको बनारस मानगढि भन्ने ठाउँमा २७ जना साधुको भाँडा धोएर उनले शिक्षा आर्जन गरेका हुन । उनको घरको आर्थीक अवस्था त्यति राम्रो थिएन । त्यसैले उनी स्वामी चेतानन्दको सहयोगमा भारत पुगेका थिए । भारत पुगेर साधुहरुको सहयोगीको रुपमा काम गर्ने उनी कक्षामा संधै प्रथम हुन्थे ।


वि.स २०२६ सालतिर कक्षा ९ मा पढ्दा त्यसरी संघर्ष गरेका तिवारी भारतमा बस्दा राजनीतिमा पनि संलग्न भए । तिवारीका बुवाआमाले खासै ठूलो सपना उनका लागि देखेका पनि थिएनन् ।


बुवाले ठूलो भएपछि कृषीमा आºनो सहयोगी बनोस् भनेपनि उनकी आमाको भने जागीर गरोस् भन्ने चाहाना थियो । बिगत २७ वर्षदेखी तिवारीले खानपिनकै काम गर्दै आएका छन् । उनका अनुसार भरिपुर्ण भन्ने वित्तीकै जनतालाई यति ठुलो विश्वास बढेको छ कि भरिपुर्ण लेखेर दिएपछि अर्गानिक हो भन्ने बुझाई हुन्छ ।


‘त्यो विश्वास मैले संधै दिन चाहान्छु । अब मेरो समय भरी अर्गानिक तरकारी, च्याउ र मल उत्पादनमै ध्यान हुनेछ’ भन्छन्, ‘मेरो जस्तै सबैले सेवाको भाव राखेर आºनो व्यवसाय सञ्चालन गर्न जरुरी छ ।’


किसानले अर्गानिक उत्पादन गर्ने र जनताले अर्गानिक उत्पादन खोज्ने गरे मात्र अर्गानिक कर्णाली बन्ने उनको ठम्याइ छ ।

२०७५ पुस २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्