७ माघ । घरको आडैमा विद्यालय भएपनि ६ महिनाकी बहिनीको हेरचाह गर्ने घरमा कोहि थिएन । बिदाको दिन बाहेक एक दिन पनि विद्यालय नछोड्ने सुनिता बहिनीको धरालो गरेर करिब १ महिना विद्यालय गइनन् ।
घरको छतबाट विद्यालयमा साथिहरुले पढेको हेर्नुको विकल्प थिएन । पढाइमा तेज उनलाई विद्यालय जाने हुटहुटी लाग्यो । एक दिन उनले जुक्ति निकालिन् । ६ महिनाकी बहिनीलाई पिठ्युमा बोकेर विद्यालय जाने ।
१० वर्षीय सुनिता विक वीरेन्द्रनगर नगरपालीका १० दिपनगर सुर्खेतमा बस्दै आएकी छिन् । सुनिता मंगलगढि प्राथमिक विद्यालय दिपनगर सुर्खेतमा कक्षा ५ मा पढ्दैछिन् ।बुवाले दोस्रो विवाह गरेर बेपत्ता भएपछि आमा सीता वि.क मजदुरी गर्न जान्छिन् । उनका दाई कक्षा ९ मा पढ्दै छन् ।
सुनिताका बुवाले दोस्रो विवाह गर्ने बेलामा उनकी आमा गर्भवती थिइन् । बुवाले घर छोडेको डेढ वर्ष भयो । उनकी बहिनी पनि अहिले करिब एक वर्षकी भइन् । सुनिताले गत जेष्ठ महिनादेखी बहिनीलाई पिठ्युमा बोकेरै विद्यालय पढ्दै आएकी छन् ।
अचम्मको कुरा त यो छ की सुनिता कक्षाको मात्रै होइन विद्यालयकै राम्रो विद्यार्थी हुन् । बहिनी बोकेर आउँदा शुरुका दिनमा उनलाई साथीहरुले जिस्काउथे । त्यहि कारणले उनलाई विद्यालय जान छोडौंकी जस्तो नलागेको पनि होइन तर सुनिताले हिम्मत बढाइन ।
भन्छिन् ‘शुरुशुरुमा त मलाई बहिनी बोकेर विद्यालय आउन नरमाइलो लाग्थ्यो । साथीहरुले पनि जिस्काउंथे । तर मेरो आमाको दुख देखेर मलाई पढाई छोड्न मन लागेन ।’
सुनिता भविष्यमा शिक्षक बन्न चाहन्छिन् । आफूजस्तै दुःख पाएकाहरुका लागि सहयोग गर्ने पनि उनको लक्ष्य छ । सुनिता कक्षा कोठामा बहिनीलाई बोकेर उभिरहन्छिन् ।बहिनी निदाएको बेलामा मात्रै सुनिता बेञ्चमा बस्न पाउंछिन् । कहिले कांहि बहिनीको कारण कक्षाकोठाका सबै विद्यार्थीहरुलाई असर पर्न जान्छ ।
विद्यालयकी प्राधानाध्यापक शान्ति ढकाल भन्छिन् ‘सुनिता विद्यालयमा भर्ना भएपछि एक महिना विद्यालय आइनन् । कारण बुझ्दा बहिनीको धरालो गर्नुपर्ने बाध्यता रै‘छ ।’
उनीहरुको आर्थिक स्थिति एकदमै नाजुक छ । आमाले मदुरी नगरी घरको चुलो बल्दैन । विद्यालयले सुनिताका लागि पोशाकको पनि व्यवस्था गर्दै आएको छ ।
‘सुनिता कक्षाको मात्रै होईन विद्यालयकै राम्रो विद्यार्थी हो ।’ प्राधानाध्यापक ढकालले भनिन् ‘हाम्रो विद्यालय कक्षा ५ सम्म मात्रै छ । अब सुनिता अर्को विद्यालयमा जानुपर्छ ।हामीले चाहेर पनि उनलाई सहयोग गर्न सक्दैनौं । आर्थीक अभावका कारण सुनिताको पढाई अलपत्र हुन्छकी भन्ने डर छ ।’ प्राधानाध्यापक ढकालले सहयोगी दाताहरुसंग सुनिताको परिवारलाई आर्थिक सहयोग गरिदिन अपिल समेत गरिन् ।
सुनिताकी आमा सीतालाई अहिले चौतर्फि तनाब छ । भनिन्, ‘म डुङेश्वर गाउँपालीका २ लांकुरी दैलेखमा बस्थें । श्रीमान सुर्खेतमै बस्नुहुन्थ्यो । अर्काको श्रीमती उठाएर हिड्नुभएछ । मुद्धा परेपछि अहिले घर जग्गा पनि अदालतले एकहोरो फैसला गरेर लिलाम बोल्नेवाला छ । श्रीमान्को अत्तोपत्तो छैन ।’
तीनजना छोराछोरीको पेट भर्नको लागि सानो छोरी ५ महिनाको भएदेखि आफू ‘लेबर’ काम गर्दै आएको भन्दै थपिन्, ‘अहिले सम्म काम गरेरै छोराछोरीको पेट भरेकी छु ।
छोराछोरी कसरी पठाउने भन्ने ठूलो चिन्ता छ ।’ साक्षर सीताले लेबर काम गरेर दिनमा तिन देखी पाँचसय मात्रै कमाउने र त्यो पनि काम नपाउँदा भोकै बस्नुपर्ने बाध्यता भएको सुनाइन । यो भनिरहँदा उनका आँशु रोकिएनन् ।
सुनिताका लागि अहिलेसम्म कुनै पनि संघ संस्थाले सहयोग नगरेको र विद्यालयले कापी कलम तथा पोशाक दिंदै आएको शिक्षक शिवप्रसाद उपाध्ययले बताए ।
प्रतिकृया दिनुहोस्