१३ माघ । नेपाल तरुण दलको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सरकारको विरोध स्वरुप र्याली निकालिएको छ ।
आइतबार निकालिएको उक्त र्यालीमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने, वर्तमान सरकार कामचोर जस्ता नारा लगाउँदै तरुणका कार्यकर्ताहरुले वीरेन्द्रनगर बजार परिक्रमा गरेका थिए ।
र्याली पछि सभामा बोल्दै तरुण दलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेतले वर्तमान सरकारलाई सडकबाटै फाल्ने चेतावनी दिएका छन् । उनले भने, ‘सरकारले हाम्रा नेताहरुको इतिहास मेट्न लागेको छ । यस्तो सरकारलाई तरुणले सडकबाटै फाल्छ ।’ काँग्रेस नेताको इतिहास मेटाउन खोज्ने कम्युनिष्ट सरकार विरुद्ध बलिदान दिन पनि तरुण तयार रहेको उनले बताए ।
कम्युनिष्ट सरकारले जनतालाई भ्रष्टाचार र महंगी मात्रै दिएको आरोप लगाउँदै त्यसका विरुद्ध सबै तरुण जाग्ने बेला आएको बस्नेतले बताए ।
यस्तै तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले सरकारका गलत कार्यविरुद्ध जस्तोसुकै आन्दोलन गर्न पनि आफूहरु तयार रहेको बताए ।
र्याली वीरेन्द्रनगरको मंगलगढी चोकबाट बजार परिक्रमा गरी स्थानीय पिपलचौतारमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्धान गुरुङ र महासचिव भुपेन्द्र शाहीको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्