१७ माघ । सुर्खेतको चौकुने गाउँपालिकामा कृषि क्याम्पस स्थापनाको लागि सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार चौकुनेको गुटुमा भएको उक्त कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले चौकुनेमा विश्वविद्यालय मातहत कृषि अध्ययन संस्थानको स्थापना गर्न सकिने बताए ।
यस्तै कर्णाली प्रदेश सभा सदस्य विन्दमान बिष्टले कृषि क्याम्पस संचालनमा ल्याउन त्यस क्षेत्रमा अवस्थित माध्यमिक विद्यालयहरूमा विज्ञान विषय पढाउन आवश्यक भएको धारणा व्यक्त गरे ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र बहादुर शाहीले चौकुने सुर्खेतको पुरानो व्यापारिक केन्द्र भएकोले यसको विकासका लागि कृषि क्याम्पसको महत्वपूर्ण भूमिका हुने बताए ।
संविधान सभाका सदस्य समेत भएका नेकपाका नेता नरबहादुर बिष्टले चौकुनेको विकासका लागि सडक, विद्युत लगायतका पूर्वाधारका साथै प्राविधिक शिक्षामा लगानी गर्न आवश्यक भएको बताए ।
उक्त अवसरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार यमबहादुर कार्की, पाठ्यक्रम विकास केन्द्रका निर्देशक लिलाधर तिवारी, चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही लगायतले आफ्नो धारणा राखेका थिए ।
चौकुनेको गुटुमा कृषि क्याम्पस स्थापना अभियानका अध्यक्ष मोहनसिंह बडुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको अवसरमा क्याम्पस स्थापनाका लागि दान गर्ने विभिन्न सामुदायिक वन समिति र चन्दादाताहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्