१७ माघ । कुनै समय थियो- अन्तर्राष्ट्रिय अदालतमा नेपाल विरुद्ध मुद्दा दर्ता भयो । उड्ययन सम्बन्धी विवाद थियो । मुद्दाको पुर्पक्ष गर्न नेपाल सरकारले पाकिस्तानी र बंगलादेशी वकील राख्यो । किनभने नेपालका वकील अंग्रेजीमा वहस गर्न सक्दैनथे ।
यतिमात्रै कहाँ हो र विदेशी नागरिक सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा अंग्रेजीमा बहस गर्न भारतीय वकील नेपाल आउँथे । यसो गर्दा राष्ट्रिय सम्मान मात्रै गुम्दैन मुद्दा जित्न पनि कठीन हुन्छ । एल स्कूलको उट्घाटनका क्रममा सम्बोधन गर्दा प्रा.डा. युवराज संग्रौलाले विद्यार्थीमाझ दिएको प्रेरणादायी झड्का हो यो ।
'हुनत यो त्यो समयको कुरा थियो । यद्धपी यसले दुई कुराको प्रष्ट संकेत गर्छ । पहिलो नेपालमा प्रतिष्पर्धी वकीलको खाँचो छ । दोस्रो वकालतका लागि विश्व नै प्लेटफर्म हो', संग्रौलाले भने-'तर यसका लागि कानुनको परम्परागत अध्ययनको काम छैन ।'
बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एल स्कूलको औपचारिक शुभारम्भ गरेका छन् । कानुननै विधिको शासन र लोकतन्त्रको आधार भएकोले सुर्खेतमा कानुन अध्ययनको शुरुवात सुखद भएको मुख्यमन्त्री शाहीले बताए । उनले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
विश्वविद्यालयले कानुन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एल स्कूलको स्थापना गरेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले बताए । 'दक्ष जनशक्ति उत्पादन नै विश्वविद्यालयको मूल उद्धेश्य भएकोले यहाँ राजनीतिक दाउपेच निषेध गर्छु', उनले भने-'तर यसका लागि सबै राजनीतिक दलले सहयोग गर्नुपर्छ ।'
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, 'हाम्रा उत्पादन भोलीका प्रधानन्यायाधीश बन्न सक्छन् । अन्तर्राष्ट्रिय अदालतमा प्रतिनिधित्व गर्न सक्छन् ।'
विद्यार्थीलाई हौस्याउँदै संग्रौलाले भने, 'वकील बन्न आजैबाट अभ्यास गर्नुस् । अदालत कठोर अनुशासनको निकाय भएकाले वहसकलासंगै अनुशासन सिक्नुहोस् ।'
विश्वविद्यालयमा बिए एलएलवी संचालनका लागि योगदान गर्ने काठमाडौं स्कूल अफ ल का कार्यकारी निर्देशक प्रा.डा. युवराज संग्रौला र विश्वविद्यालयको समग्र विकासमा सहयोग गर्ने मुख्यमन्त्री शाहीलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।
विए एलएलवि कार्यक्रमको पाठ्यक्रम निर्माण तथा पहिलो शत्रका विद्यार्थीको प्रवेश परीक्षा सम्पन्न भई कक्षा आरम्भ भैसकेको एल स्कूलका निर्देशक अर्जुन बहादुर अयडीले जानकारी दिए । उनले भने, 'विए एलएलवि प्रथम सेमेष्टरमा ४५ जना विद्यार्थी अध्ययनरत छन् । हामीले कक्षा शुरु गरेपनि उपयुक्त समय पारी उद्घाटन कार्यक्रमको आयोजना गरेका हौं ।'
उक्त अवसरमा विश्वविद्यालयका रजिष्ट्रार यम बहादुर कार्की, नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, नेकपाका नेता गंगाराम तिमिल्सेना, वरिष्ठ अधिवक्ता भुषण कुमार मानन्धरलगायतले विश्वविद्यालयमा विद्यार्थीको हितलाई सर्वोपरी ठानी अध्ययन अध्ययापनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमा प्रदेश सचिव रामप्रसाद थपलिया, प्रदेश सरकारका न्यायाधीवक्ता विद्याभुषण मानन्धर, विश्वविद्यालयका पदाधिकारीहरु, प्राध्यापक, अधिवक्ता तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्