१८ माघ । अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै गरिएको विरोध कार्यक्रम तत्काल बन्द नगरे संलग्न सबैलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ।
नेपाल चिकित्सक संघको अगुवाईमा भएको उक्त विरोध कार्यक्रम अन्तर्गत शुक्रबारदेखि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गरिएको थियो।
शुक्रबारै मन्त्रालयले एक विज्ञप्ति जारी गरी आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्ने घोषणा फिर्ता नगरे डाक्टरहरूलाई अत्यावश्यक सेवा ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको छ।
स्वास्थ्य सेवाजस्तो जनसरोकार र संवेदनशील मानवीय जीवनसँग सम्बन्धित प्रत्यक्ष सरोकार राख्ने सेवा अवरोध हुन नदिन आफू गम्भीर रहेको मन्त्रालयले जनाएको छ।
‘आफ्ना विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिई स्वास्थ्य संस्थाहरूमा सेवा यथावत् सञ्चालन गर्न मन्त्रालय पुनस् अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘अन्यथा आवश्यक सेवा सञ्चालन सम्बन्धी ऐन, २०१४ बमोजिम कारबाही प्रकृया अघि बढाउन मन्त्रालय बाध्य हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ।’
आवश्यक सेवा दिने संस्थामा हडताल गर्नेलाई ६ महिनासम्म जेल सजाय गर्ने सकिने व्यवस्था छ ।
डा. गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले चासो नदेखाएको भन्दै संघले त्यसको घोर भर्त्सना गरेको छ । साथै, संघले वार्ता र संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न समेत सरकारलाई अपिल गरेको छ।
संघले बिहिबार विज्ञप्तिमार्फत् देशैभरका स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस्