२३ माघ । कुशे गाउंपालिका २ टालेगांउ जाजरकोटकी बसन्ता शाही उमेरले ३२ वर्षकी भईन् । बुवा लक्ष्मी सिंह र आमा दिर्घा सिंहको कोखबाट वि.स २०४२ साल जेठ २० गते जेठि छोरीको रुपमा उनको जन्म भएको हो । एसएलसी पास गरेकी बसन्ताले विवाह पछि भने निरन्तरता दिन पाइनन् ।
तिन छोराछोरीकी आमा उनी जाजरकोटबाट सुर्खेत झरेको करिब १० वर्ष भयो । श्रीमान् नेपाल प्रहरीका जागीरे । उनको काम छोराछोरीको हेरचाह गर्ने । गृहणी ।
शुरुशुरुमा त बसन्तालाई दिन बिताउनै गाह्रो भयो । भाडामा बस्ने वरपरका साथीहरुसंग उनले गफ गरेरै दिन बिताउँथिन । केहि समयपछि उनले सिलाई कटाई तालिम लिइन् । त्यसबाट पनि बसन्ताले राम्रै आम्दानी गर्थिन् । तर बिहानदेखी बेलुकी सम्म सिलाई कटाईमा लाग्दा छोरा छोरी तथा परिवारलाई समय दिन सकिदैनथ्यो ।
अहिले उनले परिवार र व्यवसायलाई संगसंगै अगाडि बढाएकी छन् । भन्छिन् ‘खाना पकाउंदै पनि मैले चुरा बनाउँछु । दिदिबहिनीसंग गफ गर्दै पनि चुरा बुन्छु ।’
आवाज बहुउदेश्यीय सहकारी संस्थाले गत साउन महिनामा मेटलको चुरा उत्पादन सम्बन्धि तालिमको आयोजना गर्दा बसन्ता एक सहभागी थिइन ।
१२ दिनसम्म सञ्चालित उक्त तालिमबाट भने बसन्ताको दैनिकी नै फेरियो । तालिममा सहभागी १२ जना मध्ये तीन जनाले सिपलाई उपयोग गर्दै आएका छन् । जसमध्ये उत्कृष्ट र प्रशिक्षककै रुपमा काम गर्ने बसन्ता हुन ।
बसन्ताका श्रीमान् जिल्ला प्रहरी कार्यालय सुर्खेतमै कार्यरत छन् । तीनजना छोराछोरी र बसन्ताका श्रीमानले पनि उनलाई चुरा बनाउनमा सघाउने गर्दछन् । उनी भन्छिन् ‘परिवारको साथ र सहयोगले म आज यो स्थानमा पुगेकी हुँ । मलाई हरेक कुरामा मेरा श्रीमानले सहयोग गर्नुहुन्छ । आजभोली श्रीमान्ले भन्दा बढि पैंसा म कमाउँछु ।’ चुरा उत्पादन र प्रशिक्षकको रुपमा काम गरेर उनले महिनामा ३० हजार भन्दा बढि कमाउने गरेको बताईन् ।
एकजोडि चुरा ५० देखी २ सय ५० सम्ममा बिक्री हुन्छ । बसन्ताका अनुसार बजारमा पाइने चुरा भारतबाट ल्याइएको हो । त्यो चुरा उति टिकाउ हुंदैन । तर बसन्ताले घरमै उत्पादन गरेको चुरा बलियो छ । किनकी उनले चुरा बनाउनका लागि चाहिने सामाग्रीको मात्रा बढि प्रयोग गरेकी छन् ।
बसन्तालाई सानैदेखी शिक्षक बन्ने खुब रहर थियो । उनी बिदाको समयमा गोठालो जाँदा पनि साना भाइबहिनीहरुलाई राखेर पढाउने गर्थिन । चुरा बनाउने सिपले उनको त्यो सपना पनि पुरा गरेको छ ।
आजभोली बसन्ता चुरा बनाउने तालिम दिंदै हिड्छिन् । करिब ५ महिनाको अबधिमा उनले ३१ जना महिलालाई तालिम दिई सकेकी छन् ।
तालिम दिनको लागि विभिन्न संघ संस्था, घरेलु तथा साना उद्योगले समेत उनलाई बोलाउने गरेको छ । यसै शिलशिलामा उनी बर्दिया पनि पुगेकी छन् । विद्यालयमा बालबालिका पढाउन नपाएपनि आर्थीक उपार्जनको लागि सिप सिकाएर प्रशिक्षक बन्ने अवसर पाएकोमा उनलाई निकै खुशी लागेको छ ।
थपिन् ‘म एक्लैले यति धेरै गर्न सक्ने कुरा थिएन । बिदाको समयमा मेरो छोराछोरी र श्रीमान्ले समेत चुरा बनाउन सहयोग गर्नुभएको छ ।’
कुनैपनि सिप सिकेर मान्छे भोकै मर्दो रहेनछ भन्ने कुरा आफ्नो जिवनबाट सिकेको बसन्ता बताउंछिन् । उनले दिनमा पाँच जोडि जती मेटलको चुरा उत्पादन गर्ने गरेकी छन् । त्यसको लागि कच्चा पदार्थ बुटवलबाट ल्याउँछिन् । बजारमा पाईने चुरा भन्दा आफूले बनाएको चुरा केहि सस्तो र बलियो भएको उनको भनाई छ ।
जिवनमा बेरोजगार हुँदाका ति कहाली लाग्दा दिन बसन्ता अझै सम्झिन्छिन् । ‘रोजगार हुँदा स्वतन्त्रता बढि हँुदो रहेछ । आत्मसन्तुष्टि पनि उत्तिकै । आबश्यक परेको बेलामा कसैसंग हात फैलाउनु पर्दैन ।’ उनले भनिन् ।
घरमा श्रीमान् श्रीमती नै कमाउने हुँदा झन् एक अर्कोलाई बढि सहयोग हुने पनि उनको अनुभव छ । भन्छिन् ‘श्रीमान्को तलब नआएको बेलामा मैले काम चलाउछु । म संग नभएको बेलामा उहाँसंग मागेर काम चलाउछु । जसले गर्दा झन् आत्मियता बढेको छ । ’
उनले ६ महिनाको अवधिमा घरको खर्च कटाएर पचास हजार रुपैयां सहकारीमा बचत गरेकी छन् । ६ हजार ऋण गरेर चुरा उत्पादन गर्न शुरुगरेकी बसन्ताले ऋण पनि चुक्ता गरिसकिन् । घरको नुनतेल र छोराछोरीको पढाई खर्चपनी बसन्ता आंफैले जुटाउंछिन् ।
चुरा उत्पादन तालिममा सहभागी हुनको लागि प्रेरणा दिने धेरै भए । तर उनलाई बिशेष सहयोग गर्ने लोटस मन्टेश्वरीकी सञ्चालक कृष्णा शाही र आवाज संस्थाकी निर्देशक पवित्रा शाही हुन । ‘कसैको हौसलाले पनि जिवनमा परिवर्तन आउने रैछ ।’
बसन्तालाई उद्योग नै दर्ता गरी चुराका लागि कर्णाली प्रदेशलाई नै आत्मनिर्भर बनाउने सपना छ । तर स्थानिय व्यापारीहरुले आफूले उत्पादन गरेको सामान चिन्न नसकेको उनको गुनासो छ । यद्यपी हालसम्म उनको उत्पादन घरबाटै बिक्री भईरहेको उनको भनाई छ ।
बसन्ता शाही र कालीका शाहीले हाल बिनपा ८ सुर्खेतमा चुरा उत्पादन सम्बन्धि तालिम दिंदै आएका छन् । दिनमा १० जनाभन्दा बढि उनीहरुकोमा सिक्न आउँछन् । उनीहरुका अनुसार उक्त तालिम सिक्नको लागि ५ दिन देखी १५ दिन लाग्छ ।
बसन्तासंगै प्रशिक्षण लिएर व्यवसायमा लागेकी वीरेन्द्रनगर नगरपालीका ८ की २७ वर्षीय दिपा गाहाले पनि सिप सिकेर जिवनस्तरमा परिवर्तन ल्याएकी छन् । उनी बसन्तासंगै साउन महिनाबाटै चुरा उत्पादन प्रशिक्षण लिन आएकी हुन् । उनले उत्पादित चुराहरुलाई बजार व्यवस्थापन पनि गर्दै आएकी छन् ।
भन्छिन् ‘पहिला दिनभरी घरमै सुत्थें तर आजभोली चुरा उत्पादन गर्न सिकेपछि आम्दानी पनि भएको छ । शरीर पनि स्वस्थ भएको छ ।’
त्यस्तै कुशे गाउँपालिका २ कै बिन्द्रसरा सिंह (हमाल) ले पनि करिब दुईमहिनाको अवधिमा ३० हजार जतीको चुरा उत्पादन गरेर बिक्री गरेको बताइन् ।
आवाज बहुउदेश्यीय सहकारी संस्थाले वीनपा ८ ले दिएको १ लाख रुपैयां बाट उक्त तालिमको आयोजना गरेको हो ।
१२ जनाले तालिम लिएपनि दुई तीन जनाले मात्रै व्यवसायिक रुपमाका काम गरीरहेका छन् । तालिम लिएका सबैले उद्यम गरे नगरेको सहकारीले अनुगमन पनि गरेको छैन ।
तालिमले केहि दिदी बहिनीहरुको जिवनस्तर फेरिएको आवाजकी निर्देशक पवित्रा शाहीले बताइन् । आगामी दिनमा आवाज बहुउदेश्यीय सहकारी संस्थाले महिलाहरुलाई कृषी सम्बन्धि तालिम दिने योजना रहेको समेत उनले जानकारी दिइन् ।
उनीहरुले चुरा संगै पोते पनि उत्पादन गर्दै आएका छन् । मंगल शुत्र तथा रानी हार र औठि समेत उनीहरुले बनाउंछन् । मंगलशुत्रको ३ सय देखी ५ सय र रानीहारको एकहजार देखी १५ सय सम्म पर्ने उनीहरुले बताए ।
प्रतिकृया दिनुहोस्