Birendranagar Municipality

रुकुम पूर्वको सदरमुकाम विवादः कर्फ्युले ज्ञापनपत्र बुझाउन समस्या

मनिषा केसी/रुकुम
रुकुम पूर्वको सदरमुकाम विवादः कर्फ्युले ज्ञापनपत्र बुझाउन समस्या

फाइल तस्बिर

२४, माघ । रुकुम पूर्वको जिल्ला सदरमुकाम गोलखाडा कायम गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि गोलखाडा समर्थकहरुले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने पूर्वयोजना कर्फ्युका कारण असफल भएको छ ।

 

सदरमुकामका लागि गोलखाडा पक्ष र रुकुमकोट पक्षले छुट्टाछुट्टै आन्दोलन गरेपछि गत आइतबारदेखि स्थानीय प्रशासनले रुकुमकोट क्षेत्रमा जारी गरेको कर्फ्यु अझै कायम रहेको छ ।


रुकुमकोटमा निषेधाज्ञा जारी गरेपछि मंगलबार रुकुमकोटमा गर्ने भनिएको जनप्रदर्शन गोलखाडा सदरमुकाम पक्षधरहरुले गोलखाडामै गरेका थिए । जनप्रदर्शन लगत्तै रुकुमकोट तर्फ लागेका करिब पाँचहजार स्थानीय कर्फ्युका कारण रुकुमगाडमै रोकिन पुगेपछि ज्ञापनपत्र बुझाउन समस्या भएको हो ।


मंगलबारको जनसभामा सहभागीहरुले निर्णय कार्यान्वयनका लागि दवाव दिँदै हस्ताक्षर समेत संकलन गरेकोले ज्ञापनपत्र सहित उक्त हस्ताक्षर समेत प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष पेश गर्ने योजना रहेकोमा कर्फ्युका कारण सफल हुन नसकेको गोलखाडा पक्षधर नेकपाका नेता पुनीराज घर्तीले बताए ।


अस्थायी सदरमुकाम रुकुमकोटमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि निषेधित क्षेत्रको सीमाबाहिरको भूमे र सिस्ने गाउँपालिकाको सीमाना धौलापैरामा प्रमुख जिल्ला अधिकारीलाई बोलाएरै स्थानीयले ज्ञापनपत्र बुझाउन खोजेपनि प्रजिअ प्रहरीको घेराबाहिर आउन नमान्दा ज्ञापन पत्र बुझाउन नसकिएको पुनले बताए ।


प्रजिअ शर्माले आन्दोलनकारीहरुको सानो प्रतिनिधिमण्डलले घेराभित्रै आाएर ज्ञापनपत्र बुझाउन भनेको र आन्दोलनकारीले घेराबाहिर आएरु बुझ्न भन्दा कुरा नमिलेपछि त्यस क्षेत्रबाट आन्दोलनकारी र प्रजिअ त्यत्तिकै फर्किएको बताइएको छ । ज्ञापनपत्र बुझाउने आफुहरुको कार्यक्रम तत्काललाई स्थगित भएपनि आन्दोलन जारी रहेको भन्दै संघर्षको नयाँ कार्यक्रम तत्कालै सार्वजनिक गरिने गोलखाडा पक्षधरको भनाई छ ।


यसअघि सर्वोच्च अदालतको बहसमा रुकुमकोट सदरमुकाम पक्षधर कानुन व्यवसायीहरुले आफ्नो पक्षमा जनसमर्थन रहेको तर्क गरेपछि गोलखाडा पक्षधरहरुले पनि जनप्रदर्शन गरेर त्यसको जवाफ दिन खोजेपछि रुकुमकोटका स्थानीयले रुकुमकोट बन्दको घोषणा गर्दा स्थिति तनावग्रस्त बनेको हो ।


कर्फ्यु अहिलेसम्म पनि जारी रहेको र स्थिति सामान्य नभएसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । बुधबार स्थितिलाई भड्किन नदिनको लागि सुरक्षाकर्मीको संख्या समेत बढाइएको छ । प्रदेश प्रहरी कार्यालय बुटवलबाट दुइवटा हेलिकप्टरमा थप सुरक्षाकर्मी ल्याइएको प्रशासनले जनाएको छ ।


गोलखाडा समर्थक संघर्ष समितिका संयोजक चारजनामाथि रुकुमकोटका आन्दोलनकारीले कुटपीट समेत गरेपछि झन समस्या थपिएको थियो । पुथा उत्तरगंगा गाउँपालिकाका सबै १४ वडा र भूमे गाउँपालिकाका १, २ र ३ नम्बर वडाका स्थानीयहरु गोलखाडा सदरमुकामको पक्षमा रहेको स्थानीयको दावी रहेको छ ।

२०७५ माघ २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्