२५ माघ । नेपालकै सर्वाधिक राशिको लोक आईडल ‘नेपाल लोक स्टार’ फागुन १६ गतेबाट शुरु हुने भएको छ ।
चाहना मिडिया प्रालीले आयोजना गर्न लागेको उक्त आइडल फागुन १६ गतेबाट सुदुरपश्चिमको धनगढीबाट शुरु हुने भएको छ । धनगढीमा अडिसन गरेर लोक आइडलको शुरुवात गरिने चाहना मिडिया प्रालिले जनाएको छ ।
आइडलको दोस्रो अडिसन राउण्ड फागुन २० गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने छ । नेपालका सबै जिल्ला तथा समुदायमा प्रचलनमा रहेका मौलिक गीतहरुको प्रचार प्रसारसंगै व्यावसायीकरणको उद्देश्यसहित आयोजना गर्न लागिएको आइडल अन्तर्गत सातवटै प्रदेशमा अडिसन सञ्चालन गरिने छ ।
प्रदेशमा गरिएका अडिसनबाट सहभागीहरुमध्ये उत्कृष्ट ७० देखि १०० जना छनोट गरी काठमाडौंमा हुने मुख्य अडिसनमा सहभागी गराइने चाहाना मिडियाका अध्यक्ष सहदेब कोइरालाले जानकारी दिए ।
आयोजकका अनुसार काठमाडौंमा हुने अडिसनबाट उत्कृष्ट २० जना छनोटका लागि सम्पूर्ण अधिकार निर्णायकमा रहने छ । प्रदेशबाट पनि उत्कृष्ट छनोटका लागि सम्पूर्ण अधिकार निर्णायकमा नै रहने बताइएको छ ।
उत्कृष्ट २० जनाबाट १० जनासम्म छनोटको प्रक्रिया ५० प्रतिशत निर्णायकको मुल्याङ्कन र ५० प्रतिशत दर्शकको भोटका आधारमा हुने छ । त्यसभन्दा माथि फाइनलसम्मको छनोट प्रक्रियामा भने निर्णायकको २० प्रतिशत अधिकार रहने छ भने वाँकी भोटलाई आधार मानिनेछ ।
‘नेपाल लोक स्टार’बाट आइडल बन्ने प्रथमलाई ५० लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, द्वितीयलाई २५ लाख र तृतीयलाई १० लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । नगद पुरस्कार कर कट्टा गरेर दिइने आयोजकले जनाएको छ ।
आइडलमा उत्कृष्ट दुई जनालाई सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ । पहिलो राउण्डको अडिसनमा प्रत्यक्ष सहभागी हुन नसक्ने इच्छुकले मोवाईलबाट पनि अडिसन दिन सक्नेछन् ।
जसका लागि नेपाल लोक स्टारको मोवाइल एप्स डाउनलोड गरी आफूले प्रत्यक्ष रुपमा लोक गीत गाएको भिडियो अपलोड गर्नुपर्ने छ । आयोजकका अनुसार चाहना मिडिया प्रालि र नेपाल लोक स्टारको वेबसाइटमा गई अनलाइनमार्फत पनि आवेदन दिन सकिने छ । सहमागी हुन चाहनले प्रत्यक्ष रुपमा फारम पनि भर्न सक्नेछन् ।
सुर्खेतका लागि भने एपीवान एचडी टेलिभिजनको कार्यालय र जागरण एफएमको कार्यालयबाट फारम उपलब्ध गराउने व्यवस्था गरिएको छ । फारम शुल्क १ हजार रुपैयाँ तोकिएको छ ।
‘नेपाल लोक स्टार’को निर्णायकहरुमा संगीतकार जयनन्द लामा, बरिष्ठ संगीत संयोजक तथा गायक बिबी अनुरागी, गायक रामजी खाँड र गायिका सुनिता दुलाल रहने छन् । अडिसन राउण्ड अन्तर्गत भएका कार्यक्रमको प्रत्येक शनिबार र आइतबार राति ८ः३० देखि ९ः३० बजेसम्म एपीवान एचडी टेलिभिजन तथा लोक स्टारको युट्युव च्यानल, फेसबुक पेजबाट प्रशारण गरिने छ ।
नेपाली लोक संगीतमा लाग्नेहरुलाई अवसर र हौसला सिर्जना गरी लोक संगीतको प्रयोगमा महत्व दिँदै व्यवसायीकरण तथा प्रचार प्रसारमा सघाउ पु¥याउने उद्देश्यले ‘नेपाल लोक स्टार’ आयोजना गरिएको प्रालिका अध्यक्ष सहदेव कोइरालाले बताए ।
प्रतिकृया दिनुहोस्