म वीरेन्द्रनगर १० बुदबुदी सुर्खेतमा २०१२ साल बैशाख १ गते जन्मिएको हुँ । बुवा कुलमान थारु र आमा सुघरी थारुको म जेठो छोरा । म साक्षर मात्रै हो ।
बुवाआमा कृषि गर्ने त्यो बेलामा कहाँ पढ्न पाइनु? विशेषगरी थारुहरुको मुख्य पेशा नै कृषि भएकोले मेरो बुवाआमाले पनि मलाई कृषि गरोस् भन्ने चाहनुहुन्थ्यो । हामी पाँच भाइबहिनी हो । कृषिमा नै सक्रिय भएर बिताईयो बालापन ।
२०२७ सालमा जुगमनी थारुसंग मागी विवाह गरेको हुँ । बाजा बजाएर धुनधान विवाह भएको हो ।
समाज सेवा पनि मेरो रुचिको विषय हो । म सानैदेखी गाउँमा कसैलाई अन्याय परेको खण्डमा सहयोग गर्न पुगिहाल्थें ।
हाल म राजनीतिमा सक्रिय छु । राजनीतिमा विधिवत लागेको ४८ सालदेखी हो । २०४८ साल र २०५४ सालमा साविकको लाटिकोइली ९ को वडा अध्यक्ष भएँ, नेकपा एमालेबाट । त्यसपछि २०५६ सालमा जिल्ला विकास समिति सुर्खेतको सदस्य भएर काम गर्ने अवसर पाएँ ।
२०५६ सालमा देउती बज्यै सामुदायिक बन उपभोक्ता समितिको सचिव भएर पनि काम गरें । विद्यालय, बन, बाटो, खानेपानी जहाँ भएपनि सानो जिम्मेवारीमा बसेर जनताको सेवा गर्न चाहन्छु ।
त्यो भन्दा पहिले स्वास्थ्य अगुवाको रुपमा ५ वर्ष काम गरें । ३७ देखी ४१ सालसम्म जो जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले स्वयम्सेवकको रुपमा काममा राखेको थियो । ४१ सालबाट मैले फेरी कृषि सहायकको रुपमा काम गरें । जिल्ला कृषि विकास कार्यालयले पनि स्वयम्सेवकको रुपमा काम लगाएको थियो । पढाइमा साक्षर भएपनि त्यो बेलामा मुख्या तथा खरदार सरहको जागीर खान पाइन्थ्यो ।
२०२९ सालमा राजा बीरेन्द्रको सवारी सुर्खेतमा भएको बेलामा मलाई नेपाली सेनाको जागीर खा भनी घरमै सेनाहरु लिन आएका थिए । तर मलाई बुवाआमाले जानदिनु भएन । त्यो बेलामा जागीर खानु भन्दा कृषी गर्र्नेको सम्मान बढि हुन्थ्योे । बुवाआमाले तैले जागीर खाएपछि टोकरी कस्ले बोक्छ भन्नुहुन्थ्यो ।
हाल मंगलगढी प्राथमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर समेत काम गरेको छु । त्यो विद्यालय विशुद्ध गरिबका छोराछोरीहरु त्यो पनि दलितका छोराछोरीहरु पढ्दै आएका छन् ।
मैले जिल्ला विकास समितिमा रहदा थुप्रै विकासका कामहरुमा जनतालाई सहयोग गरें । जसले गर्दा आजपनि जनताले मलाई सम्मान गर्छन् । बाटोको योजना, पुल, विद्यालय यस्ता थुप्रै कार्यमा मैले योजना पार्ने काम गरेको थिएँ ।
मेरो परिवारमा अहिले ६ जना छन् । दुई छोरीको विवाह भइसक्यो । तीनवटा छोरा मध्ये दुइभाई आफ्नो परिवार सहित अलग बस्छन् । कान्छो छोरासंग म बस्छु । छोराबुहारी, हामी बुढाबुढि र नाती नातिना सहित हाम्रो ६ जनाको परिवार छ ।
थारु भएर समाज सेवा वा राजनीतिमा फड्को मार्न त एकदमै अप्ठ्यारो छ । मलाई पनि त्यस्तै भएको छ । हामीहरुलाई आश्वासन मात्रै दिन्छन् तर अवसर दिने कुरामा पछि पार्छन् ।
वास्तबमा थारु जातीहरुलाई सदियौंदेखी जमिन्दारहरुले शोषण गरेका हुन् । हलिया, कमलहरी, बँधुवा जस्ता थुप्रै प्रथाहरु थारु जाती भित्रै पर्दछन् । हुनत हामीलाई कसैको हली भएर बाँच्नु त परेन तर गाउँका सबै थारुहरुलाई जमिन्दारले खुब शोषण गरे ।
हाम्रा बुवाहरुले उनीहरुको करिब ६ बिगाहा जग्गा सित्तैमा जोतेर उत्पादन तिनिहरुलाई दिनुहुन्थ्यो । नाम नै लिनु पर्दा कबिराम पन्त र मोती मल्ल जसले थारु जातीलाई श्रम शोषण मात्रै गरेनन् उनीहरुले शारीरिक तथा मानशिक पीडा समेत दिन्थे ।
मलाई आजपनि याद छ, जमीनदारहरु आएको खबरले मेरो बुवाहरु लुक्नुहुन्थ्यो यदि भेटाएको खण्डमा उनीहरुले मर्नेगरी कुट्थे । एकपटक बुवाहरु उनीहरु आएको खबरले लुक्नुभयो । त्यो देखेर म पनि लुकें तर जिम्दारले मलाई देखेर कुटे । दुइचार पटक त सहें त्यसपछि मैले पनि सहन सकिन लठ्ठीले हानें ।
हामीलाई शारिरीक तनाब मात्रै होइन् बारीमा लगाएको तरकारीहरु सबै टिपेर लिइदिन्थे । आमा दिदीहरुलाई अश्लिल शब्द बोल्थे ।
सुर्खेतका थारुहरुले जमीनदारको भारी बोकेर दैलेख पुग्नुपथ्र्यो । उनीहरुको यातनाले त्यो बेलामा केहि थारु दाइभाइले ज्यान पनि गुमाउनु पर्यो । मलाई त्यो सम्झँदा आज पनि दुःख लाग्छ । त्यो बेला म करिब १२/१३ वर्षको थिएँ । जमीनदारको शोषणका विरुद्धमा लड्न मन लाग्थ्यो । के गर्नु राज्य व्यवस्था नै त्यस्तै थियो ।
२०४१ सालमा मेरो बुवा बिरामी पर्नुभयो । उपचारको लागि धेरै ठाउँमा लगें । निको भएन । बुवाको नामको १२ कट्टठा खेत बेचेर बुवालाई उपचार गर्दापनि निको भएन र बुवा बित्नुभयो ।
लगत्तै आमा पनि बिरामी पर्नुभयो । आमाको उपचारको लागि पैसा थिएन । एकजना छिमेकी जसको अहिले पनि घुस्रा जानेबाटोमा घर छ । उहांसग ८ हजार रुपैयां सापटि मागरे आमाको उपचारको लागि गएं । भारत सम्म पु¥याएर आमालाई उपचार गरें । औषधिको भरमा आमाको ज्यान बचाउनुपर्ने भयो ।
तर ति छिमेकिले म घर आएको १ घण्टामै पैसा माग्न थाले मैले कसरी दिन्थें ? केहि दिन कुर्न मानेन् । बरु तेरो ८ कट्टा खेत ले भन्न थाले । तर मैले त्यसो गरिन । बरु अर्कै मान्छेलाई २१ हजारमा ८ कट्टा खेत बेचेर उनको ऋण तिरें । थारुहरु जमिनदार हुन् तर माथील्ला जातीहरुले उनीहरुको यस्तै यस्तै बहानामा जमिन खोस्थें र शोषण गर्थें ।
मलाई त्यो दिन आजपनि सम्झंदा दुःख लाग्छ । वास्तबमा थारु भएर बांच्न कति सम्मको मुस्किल रै‘छ भन्ने कुरा भोगियो ।
त्यसैले थारु कल्याण कारीणी सभाको जन्म भएको हो । म थारु कल्याण कारीणी सभा सुर्खेतको सल्लाहकारको रुपमा काम गर्दै आएको छु । जसले थारुहरुको हक र हितको लागि काम गर्दै आएको छ । संग संगै थारु जातीहरुको संस्कृती समेत जगेर्ना गर्दै आएको छ ।
थारु जाती आज पनि राजनीतिको पहुँचमा छैनन् । त्यसको लागि मेरो लडाई हो । ६३ वर्षको भएँ आज पनि मलाई थारुहरुको हकहितको लागि लड्न मन लाग्छ । मेरो अन्तिम शास रहुन्जेल सम्म थारुहरुकै हितको लागि लड्ने अठोट गरेको छु ।
संगसंगै थारुकोे संग्रहालय निर्माण समेत गर्दैछौ । मेरो पुरा हुन नसकेको एउटा सपना छ पनि त्यो हो । त्यो सपना पुरा भयो भने पछिल्लो पुस्ताले संस्कृतीको जर्गेना गर्न सहजता पाउने छन् ।
जतीबेला जनताको काम गर्न पाइन्छ त्यो बेलामा माात्रै मलाई खुशी लाग्छ । मेरो खुशीको क्षण भनेको समाज सेवा नै हो । जीवनका ५० औं वर्ष समाज सेवामा नै बिताएँ । अबको बांकी जीवन पनि समाज सेवामानै बिताउन चाहन्छु ।
(प्रस्तुति : सीता ओली)
प्रतिकृया दिनुहोस्