२८ माघ । नरहरीनाथ गाउँपालीका १ का ५७ वर्षीय डिल्ली कामीलाई जातीय विभेद गरी कुटपीट गरी घाइते बनाउने पीडकहरुलाई कारबाहीको माग गर्दै सोमबार दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन–पत्र बुझएका छन् ।
सोही ठाउँका चन विष्ट र नरेन्द्र विष्टले गत पुुस १७ गते गणेशपुर स्थित बाटोमा भेट हुँदा एक्कासी ‘डुम, कमरा ठुलो पल्टेको ? मेरा घरमा किन काम गर्न आइनस’ भन्दै जातीय विभेदीत शव्दहरु प्रयोग गरी कुटपीट गर्दा पीडित कामी गम्भीर घाइते भएका थिए ।
पीडित पक्षले पीडक विरुद्ध पुस २० गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिए पछि प्रहरीले पक्राउ गरेपनि साधारण तारिखमा थुना मुक्त गर्नुका साथै प्रहरी प्रशासन, अदालतले उजुरीलाई गम्भीर ढंगले नलिएको भन्दै ज्ञापन–पत्र मार्फत प्रशासनको ध्यानाकर्षण गराइएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जिल्ला संयोजक बिर तिरुवाले बताए ।
जातीय विभेदका घटनामा प्रहरी प्रशासन र अदालत समेत गम्भीर नभएको आरोप लगाउँदै उनले पीडकहरुलाई कडा कारवाहीको लागि दवाव दिन जिल्लाका अधिकारकर्मी, दलित जनप्रतिनिधको हस्तक्षरमा ध्यानाकर्षण पत्र पेश गरिएको समेत जानकारी गराए ।
स्थानिय सरकार प्रतिनिधि बिर्ख सिहं विक, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जयवहादुर विक, दलित गैसस महासंघका परेक नेपाली लगाएतको हस्ताक्षर रहेको ज्ञापन–पत्रमा पीडकलाई जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ऐन २०६८), अपराध संहिता ऐन २०७४ का साथै नेपालको संविधान २०७२ को प्रावधान अनुसार पीडकलाई कारबाही गर्न सुझाव दिइएको छ ।
साथै पीडितलाई आवश्यक उपचारको व्यावस्था मिलाउन, पिडित पक्षलाई उचित न्याय सहित राहत प्रदान गर्न माग पनि उनीहरुले माग गरेका छन् ।
प्रतिकृया दिनुहोस्