Birendranagar Municipality

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे, केहो भ्यालेन्टाइन डे?

सेरोफेरो/काठमाडौं
आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे, केहो भ्यालेन्टाइन डे?

२ फागुन । आज नेपाल लगायत विश्वभर प्रणय दिवस मनाइँदैछ । यसलाई भ्यालेन्टाइन डे भनेर धेरैले बुझ्दछन् । खासगरी युवा युवतीले यसलाई ठुलो पर्व वा उत्सवकै रुपमा मनाउने गर्दछन् ।

 

नेपालमा यो पर्वलाई उत्सवको रुपमा मनाउने गरिन्छ । यस अवसरमा विभिन्न कार्यक्रमहरुको समेत आयोजना गर्ने गरिन्छ । आजको दिन प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने र प्रेम प्रस्ताव पनि राख्ने गर्दछन् । आजको दिन फुल र गिफ्ट पसलमा गुलाव र गिफ्ट किन्नेको घुइचो लाग्ने गर्दछ ।

केहो प्रणय दिवस? र कसरी शुरु भयो !

प्राचिन रोमनकालबाट सुरु भएको मानिने यो दिवसलाई भ्यालेन्टाइन डे भन्ने गरीन्छ । मध्य युगमा इंग्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो ।

 

यस्तै प्राचिन रोमनमा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किम्बदन्ती छ । यी यस्तै धेरै किम्बदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवासको सुरुवात भएको हो । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्वत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ ।

 

तत्कालीन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।

 

तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

 

जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेरकी छोरीलाई दिएका कथन छ ।

 

उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

 

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।
(देशसञ्चारको सहयोगमा तयार पारिएको)

२०७५ फागुन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्