Birendranagar Municipality

बुढेसकालको ‘सत्संग’ प्रेम

सीता वली /सुर्खेत
बुढेसकालको ‘सत्संग’ प्रेम

६ फागुन । वीरेन्द्रनगर नगरपालिका ८ आवास क्षेत्रका ७२ वर्षीय गंगाराम भट्टराई हरेक दिन बृद्ध सेवा केन्द्रमा आउँछन् । उनी जेष्ठ नगारिक दिवा सेवा केन्द्रका संयोजक पनि हुन् । आठ वर्षदेखी दिवा सेवा केन्द्रमा आउंदै गरेका गंगारामलाई शनिबार भने नरमाईलो लाग्छ ।


उनलाई शनिबार पनि यो दिवा सेवा केन्द्र सञ्चालनमा आएको भए हुन्थ्यो झैं लाग्छ । दिनभर साथीहरुसंग भजन कृतन, नाचगान, पुजापाठ, गरेर मनमा भएको अशान्तिलाई पखाल्ने काम दिवासेवामा हुने गरेको गंगाराम बताउंछन् ।


उनी भन्छन् ‘हाम्रा लागि यो एउटा खुशी साट्ने र दुःख भुलाउने थलो भएको छ । दिनभर भगवान्को नाममा भजन कृतन गरी साथीहरुसंग दुःख सुखका कुरा साटासाट गरिन्छ ।’

IMG_5124
जेष्ठ नागरिकहरु विहान घरमा खाना खाईसकेपछि दिवा सेवा केन्द्रमा आउने र दिउँसो ३ बजेसम्म रमाउने गर्छन । दिवा सेवामा गरिने भजनकृतनलाई उनीहरु सत्संगको नाम दिन्छन् ।


सत्संगमा जान नपाएको दिन बिताउन पनि मुस्किल हुन्छ उनीहरुलाई । भट्राइले थपे ‘यहाँ आइएन भने दिन कसरी बिताउने होला भन्ने चिन्ता लाग्छ । हामी बृद्धहरुका लागि खुशी साट्ने थलो बनेको छ ।’


दिवा सेवा केन्द्र स्थापना भएदेखी नै आउन थालेकी वीरेन्द्रनगर ७ की कौशीला सुवेदीलाई पनि सत्संगमा जान नपाउँदा दिनभरी नरमाइलो लाग्छ । ७४ वर्षीय कौशिलाका परिवारमा विबाहित छोरी बाहेक अरु कोहि नभएकोले पनि उनलाई दिन बिताउने र मन भुलाउने गतिलो ठाउँ माध्यम बनेको छ सत्संग ।


‘हामीजस्ता वृद्ध वृद्धाका लागि यस्ता खालका दिवासेवा केन्द्र स्थापना भएका छन् । यस्ता सेवा केन्द्र हरेक गाउँ गाउँमा जानुपर्छ । जसले गर्दा वृद्ध वृद्धाहरुलाई शान्ति मिल्छ’ उनले भनिन् ।

IMG_5125
गंगाराम र कौशिला मात्रै होईन । वीरेन्द्रनगर नगरपालिकाका करिब पचास जना भन्दा बढि जेष्ठ नागरिक यो दिवा सेवा केन्द्रमा आउने गर्दछन् । २०६६ सालमा वृद्ध सेवा केन्द्र समिति गठन गरी जेष्ठ नागरिक दिवा सेवा सञ्चालनमा आएको समितीकी अध्यक्ष डम्मर आचार्यले बताईन् ।


वीरेन्द्रनगर ८ आवास क्षेत्रमा रहेको यो दिवा सेवा केन्द्र सञ्चालनका लागि वीरेन्द्रनगर नगरपालिकाले सहमती दिएको छ । आचार्यका अनुसार उपत्यका नगर विकासले नगरको वडाका लागि दिएको भवन नगरले जेष्ठ नागरिक दिवा सेवा सञ्चालनका लागि सहमती दिएको छ ।

IMG_5126
दिवा सेवामा शनिबार बाहेक हप्ताका ६ दिन दिनको १० बजेदेखी ३ बजे सम्म जेष्ठ नागरिकहरु आउने गर्दछन् । चिया खाजाको लागि केहि संघ संस्थाहरुले र नगरपालीकाले समेत सहयोग गर्दै आएको जेष्ठ नागरिक दिवासेवा केन्द्रका संयोजक गंगाराम भट्टराईले बताए ।


भजनकृतन गर्ने, गीता रामायणका किताब पढ्ने, सुख दुःखका कुरा गरेर दिन बिताउनका लागि यो सेवा केन्द्र उत्तम भएको ८३ वर्षीय लिलावती बास्कोटाले बताइन् । केन्द्रमा वीरेन्द्रनगरका बांगेसिमल, धुलीयाबिट, लाटिकोईली लगाएतका ठाउँबाट जेष्ठ नागरिकहरु आउने गरेका छन् ।

IMG_5129IMG_5134IMG_5135IMG_5136IMG_5149IMG_5152

२०७५ फागुन ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्