Birendranagar Municipality

मानव अधिकारको बाधक मदिरा : मन्त्री केसी

सेरोफेरो/सुर्खेत
मानव अधिकारको बाधक मदिरा : मन्त्री केसी

७ फागुन । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले मानव अधिकार उल्लघनको मुख्य कारण मदिरा रहेको भन्दै यसको नियन्त्रणको लागि पहल गर्नुपर्ने बताएकी छन् ।

 

मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक सेवा केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । मदिराकै कारण महिलामाथि हिंसाका घटना हुनुको साथै बालिकाहरु बलात्कारको सिकारमा हुनुपरेको उनले बताईन् । उनले भनिन् ‘मानव अधिकारको बाधक नै मदिरा हो । यसले गर्दा हिंसाको अवस्था विकराल भएको छ ।’

 

नेपालले मानव अधिकार सम्बन्धी विभिन्न अन्तर्राष्टिय सन्धीहरुमा हस्ताक्षर गरेपनि यसको कार्यान्वयन हुन नसक्दा यस्ता ज्यादतीका घटनाहरु घटेको उनले बताइन् ।

 

त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मानव अधिकार उलंगनका घटना भयाबह अवस्था रहेको भन्दै यसको लागि राज्यले ध्यान दिनुपर्ने बताए । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुनु मानव अधिकार हननको घटना रहेको भन्दै उनले यसको व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।

 

कर्णालीमा चार सय बढी ज्यादती
एक वर्षको अवधिमा कर्णाली प्रदेशमा चार सय बढी मानव अधिकार उल्लघन र ज्यादतीका घटना घटेका छन् । राज्य पक्ष र अन्य पक्षबाट गरी पछिल्लो एक वर्षको अवधिमा चार सय ५३ वटा मानव अधिकार उल्लघन तथा ज्यादतीका घटनाहरु घटेका छन् ।

 

मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै इन्सेकले यस्ता घटनामा बढी महिलाहरु प्रभावित भएको जनाएको छ । घटनाबाट तीन सय ५३ जना महिला पीडित भएका छन् भने पुरुषको संख्या एक सय ४९ जना रहेको छ ।

 

ईन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले एक वर्षको अवधिमा सबैभन्दा बढी महिला अधिकार सम्बन्धीका घटनाहरु रहेको जानकारी दिए । उनका अनुसार महिला अधिकार सम्बन्धी दुई सय ५७, बाल अधिकार सम्बन्धी ८७, कुटपिटका ४७ वटा घटनाहरु घटेका छन् । त्यसैगरी घटनाबाट घाइते ६ जना, अमानवीय व्यवहारबाट चार जना पीडित, जातीय विभेदबाट १४, धम्कीबाट १० जना पीडित भएका छन् भने २७ जनाको हत्या भएको छ ।

 

२०७५ फागुन ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्