१० फागुन । पुख्र्यौली जग्गा नभएका गन्धर्वको परम्परागत पेशा लोप भएपछि उनीहरु मजदुरी गरेर पेट पाल्दै आएका छन् । प्राय खोला र जङ्गलको छेउमा बसोबास गर्ने गन्धर्वको चुलोमा के पाक्छ ? आम जिज्ञासा हुन्छ ।
अरु समुदाय जस्तै उनीहरु पनि सामान्य खाना खान्छन् । झन् मजदुरी गरेर पेट पाल्नेहरुमध्ये कमैले मात्र खानामा आफ्नो शौख पूरा गर्न सक्छन् । अर्कोतर्फ दैनिक मजदुरी गर्नेहरुले पाउने ज्याला बचत नगरेर सबै खाने र लाउनेमा खर्च गर्छन भन्ने तर्क पनि सही सावित भयो गन्धर्व समूदायमा ।
भान्सामा के पाक्छ ? भन्ने जिज्ञासामा गन्धर्व महिलाले भनिन् ‘के पाक्नु र ? त्यै दाल भात त हो । तरकारी उब्जाउने बारी नाई, किन्ने पैसो नाई ।’ गन्धर्व, हुँदाखाने वर्ग भएकोले सक्दा मिठै खाने र नहुँदा छाक टार्ने गरेको उनीहरुको भनाई छ ।
भएकै खाने कुराहरुलाई मिलाएर खान र खाद्य अधिकारको बारेमा फियान नेपालले उनीहरुलाई सिकाउन थालेको छ । बिहिबार र शुक्रबारको खाद्य अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम पश्चात् सहभागी महिलाहरुले आफ्ना आँखा खुलेको बताए ।
कार्यक्रममा सहभागी रुपी गन्धर्व भन्छिन्, ‘एउटै कुरा धेरै खानु पनि हुँदोरहेनछ, खानासँग काँक्रा, गाजर, मुला खानुपर्ने, साग, गेडागुडी सबै मिलाएर खानुपर्ने रहेछ भन्ने कुरा सिकियो ।’ यसैगरी खाद्य अधिकार सम्बन्धी कानूनमा भएका प्रावधानको बारेमा पनि जान्ने मौका पाएको उनले बताइन् ।
टोल छिमेकमा बच्चा दुब्लो र लुलो भएको देखेकी तुल्सी गन्धर्वलाई यसको कारण थाहा थिएन । पर्याप्त खानाको कमी र विषादीयुक्त खानाको कारण बच्चा कमजोर हुने र त्यसलाई कुपोषण भनिने कुरा कार्यक्रममा जान्न पाइन् ।
गरिब हुनुको कारण र मानव अधिकारको बारेमा पनि जानकारी पाएको गन्धर्व समुदायको खाद्य अधिकार समुहका अध्यक्ष मान बहादुर गन्धर्वले बताए ।
वीरेन्द्रनगर नगरपालिका ११ बालुवाटारका गन्धर्वलाई थोरै भएपनि बचत गर्न फियान नेपाल र वडा अध्यक्षले आग्रह गरेका छन् । ‘मलाई थाहा छ । तपाईंहरुको भान्सामा धेरैजसो मासु पाक्छ । मोबाइल खर्च, अन्य फगत खर्च घटाएर कमाइ गरेको रकम थोरै भए पनि बचत गर्न थाल्नुहोस्’, शुक्रवार एक कार्यक्रममा वीनपा ११ का अध्यक्ष नन्दलाल शर्माले गन्धर्व समुदायका महिलालाई आग्रह गरे ।
गन्धर्व जातीको पुख्र्यौली पेशा सारङ्गी रेट्ने हो । सारङ्गी रेटेर गीत गाउँदै हिंड्ने भएकोले उनीहरुलाई गाइने पनि भनिन्थ्यो । पछिल्लो समय मनोरञ्जनका पर्याप्त साधन र संगीतमा भएको आमुल परिवर्तनले उनीहरुको पेशा लोप हुँदैछ ।
फियान र गन्धर्वको सम्वन्ध
बालुवाटारका गन्धर्वहरुको क्षमता विकास गर्न र खाद्य तथा आवासको अधिकारको क्षेत्रमा पैरवी गर्न २०७५ देखि फियान नेपाल सुर्खेतमा आएको छ ।
‘हामीले समुदायको क्षमता विकास गर्ने हो । त्यसपछी उनीहरु आफ्ना समस्या पहिचान गरेर समाधानको लागि सम्बन्धित निकायसंग जान्छन्,’ फियान नेपालका कार्यक्रम अधिकृत प्रकाश नेगीले भने ‘वनको क्षेत्र पर्ने खोलाको तिरमा बसोबास छ, जनता अवासले उहाँहरुलाई छुन सकेको छैन । सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारलाई झक्झक्याउँछौं ।’
शुरुमा खाद्य अधिकार र मानव अधिकारको बारेमा जानकारी दिँदै गन्धर्व समुदायको चेतना र बुझाईको स्तर पत्ता लगाएर सोही अनुरुप ४/४ महिनामा विभिन्न विषयमा तालिम दिई उनीहरुलाई सशक्त बनाइने पनि नेगीले जानकारी दिए । उनका अनुसार यो अभियानमा फियानसंग जिल्ला खाद्य अधिकार सञ्जाल सुर्खेतले पनि सहकार्य गर्नेछ ।
सूर्यटार हुने बालुवाटारको अधुरो सपना
२०५३ सालदेखि नगरपालिकामा बसोबास गदै आएका गन्धर्वहरुलाई विभिन्न समयमा भएका निर्वाचनमा सबै राजनीतिक दलले अनेक आश्वासनहरु बाँडे । उनीहरुको मनमा थुप्रै आशा जगाइदिए । तर उनीहरुको जीवनस्तर कहिल्यै बदलिएन ।
गाउँगाउँमा सिंहदरबारको अवधारणा बोकेको स्थानीय तहको निर्वाचनमा पनि बालुवाटार फेरी एकपटक आश्वासनले सिङ्गारियो । यसपटक पनि नेताहरुले गन्धर्वहरुलाई धोका दिए । उनीहरुका अनुसार कुनै पनि राजनीतिक दल र सरकारले गन्धर्वको समस्यालाई मुख्य समस्या मानेकै छैनन् ।
तुल्सी गन्धर्व भन्छिन् ‘पोहोर साल चुनावमा सूर्य पाटीले बालुवाटारलाई सूर्यटार बनाइदिन्छौं भने तर जितेपछी फर्कि हेरेनन् ।’
अन्य सहभागीले पनि स्थानिय सरकारका कार्यक्रमहरुमा गन्धर्वहरुको कुनै सहभागीता नभएको गुनासो गरे ।
विद्यालय टाढा भएको, वस्तीमा मोटर बाटो नपुगेको, मदिरा सेवन तथा विभिन्न कुरीतिजन्य समस्याबाट बालुवाटार जकडिएको सहभागीले गुनासो गरे ।
गन्धर्वको आरोप र वडा अध्यक्षको प्रतिवद्धता
स्थानिय सरकार जवाफदेही नबनेको गन्धर्वको आरोप गलत भएको वडा अध्यक्ष नन्दलाल शर्माको भनाई छ ।
‘मेरो वडामा ३३ वटा टोल छन् । सबैमा म सधैं जान सक्ने कुरा भएन । गन्धर्व टोलका झै झगडामा पाँच पटक प्रहरी कार्यालय गएको छु । समुदायमा हुने छलफल तथा तपाईंहरुको समस्यामा म कहिले सामेल छैन?’, प्रतिपश्न गर्दै शर्माले भने ‘आफ्ना माग र गुनासा ल्याएर तपाईंहरु वडा कार्यालय आएको खै?’
गन्धर्व समुदायका ठूला व्यक्तिले मजदुरी गरेपनि छोरा छोरीलाई पढाउन अध्यक्ष शर्माले आग्रह गरे । गन्धर्व टोलमा बाल सुलभ कक्षा सञ्चालन गरेको भन्दै उनले बाटोको लागि बजेट छुट्याउने प्रस्ताव पनि वनको कारणले रोकिएको जानकारी दिए ।
शिक्षासंगै समुदायको चेतना अभिवृद्धि गराउन वडा कार्यालय लागि परेको बताउँदै शर्माले सिपमुलक कार्यको अवधारणा सहित समुहमा वडा कार्यालय आए बजेट उपलब्ध गराउने पनि प्रतिवद्धता जनाए ।
संविधानले सुरक्षित आवासको ग्यारेन्टी गरेकोले गन्धर्वको उचित व्यवस्थापनको समन्वय स्थानिय सरकारले गर्ने पनि उनले आश्वासन दिए ।
प्रतिकृया दिनुहोस्