Birendranagar Municipality

स्थानीय उत्पादनको प्रवद्र्धनका लागी मोटेल

मनिषा केसी/रुकुम
स्थानीय उत्पादनको प्रवद्र्धनका लागी मोटेल

११ फागुन । स्थानीय उत्पादनको प्रवद्र्धनका लागि भन्दै पाँच वर्ष विदेशमा बसेर घर फर्किएका रुकुम पश्चिमका एक युवाले मोटेल सञ्चालन गरेका छन् । त्रिवेणी गाउँपालिका –३ खारा सतिपोलेका २५ वर्षीय विपेन उलङ्गे पुनले राप्ती लोकमार्गको छेउमै रहेको आफ्नै घर तथा जग्गाको प्रयोग गरी मोटेल तथा रेष्टुराँ सञ्चालन गरेका हुन् ।

 

अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा नयाँ तरिकाले स्थानीय रुपमा उत्पादन हुने वस्तुहरुको प्रवद्र्धन गर्ने किसीमले यो व्यवसाय सुरु गरेको उनको भनाई छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत लक्षित गरेर आफूले पहिलोपटक गुगल लोकेशन दिएर भिलेज हाउस मोटेल तथा रेष्टुराँ सञ्चालनमा ल्याएको विपेनले बताए ।

 

‘विशेष गरी बाह्य तथा अन्तरिक पर्यटकहरुलाई लक्षित गरेर गुगल लोकेशन दिएर व्यवसाय सुरु गरेको हुँ ।’ उनले भने, ‘त्यसैको आधारमा व्यवसाय सुरु गरेको ६ महिनामै २०÷२२ जना विदेशी पाहुनाहरु समेत आएका छन् ।’ यहाँ आउने पाहुनाहरुका लागि स्थानीय खानाहरु ढिंडो, सिस्नु, गुन्द्रुक, लोकल कुखुरा लगायतको व्यवस्था गर्दा त्यसप्रति आकर्षण बढेको उनले जानकारी दिए ।

 

स्थानीय खाना, खाजाको स्वाद लिनुका साथै सिस्ने हिमाल, धौलागिरी हिमश्रङ्खला लगायत रुकुम पूर्व र पश्चिमका विभिन्न मनोरम दृष्यको अवलोकन गर्नका लागि पनि पर्यटकहरु आउने गर्दछन् ।

 

खाजाका परिकारमा भने ग्राहकको आवश्यकता अनुसार ताजा मःम, चाउमिन, दुध, दही, फलफूलको समेत व्यवस्था गरिएको पुनले बताए । त्रिवेणी गाउँपालिकाको केन्द्र नजिकै भएकोले गाउँपालिकामा हुने विभिन्न कार्यक्रमहरुमा खाजा नास्ताको व्यवस्था समेत गर्दै आएको उनको भनाई छ । साना मझौला गाडीहरु लाई लक्षित गरेर सडकछेउमै एकतलाको कटेजमा भएको होटेललाई मोटेल भनिएको र खाना तथा खाजाका ताजा परिकार पाईने भएकोले रेष्टुराँ नाम दिइएको विपेनले बताए ।

 

करिब आठलाख रुपैयाँ लगानी गरेको यस व्यवसायबाट आफूले मासिक ५० हजार बढि आम्दानी गर्ने गरेको उनको भनाई छ । मोटेलमा काम गर्ने बाहिरको व्यक्तिहरु नराखेर परिवारकै ५ जनाले आफूलाई साथ दिएको पुनले बताए । उनको आमा, श्रीमति र दुईवटा भाईले व्यवसायमा सहयोग गर्दै आएका छन् ।

 

सानैमा बुवाको मृत्यु भएपछि सबै जिम्मेवारी आफ्नो काँधमा आउँदा समस्याले गर्दा मलेसिया गएका विपेन ४ वर्ष कामदारकै रुपमा त्यहाँ रहे । फर्र्किएर ट्राभल्स एण्ड टुरिजम र आमसञ्चार विषयमा प्रविणतापत्र तह पास गरेपछि त्यसैसँग सम्बन्धित कामका लागि फेरि मलेसिया गए । ‘त्यसपछि १ वर्ष मलेसियामा ट्राभल्स एजेन्सीमा काम गरेँ ।’ उनले भने,‘सँगसँगै हिमालय टाइम्स साप्ताहिकको मलेसिया संस्करणमा समेत काम गर्ने अवसर पाएँ ।’ उक्त कामले पनि आफूलाई खासै सन्तुष्टि नदिएपछि आमासँगै गाउँमा केही गर्ने सोचले एकवर्षमै फर्किएको विपेनको भनाई छ ।

 

राप्ती लोकमार्गमा आवतजावत गर्ने मोटरसाईकल यात्रुहरु समेतलाई लक्षित गरेर मोटेल नामाकरण गरिएको उनको भनाई छ । इन्टरनेट बुकिङ समेतको व्यवस्था गर्ने सोचाई भएपनि त्यसको भरपर्दो सुविधा नभएर गर्न नसकेको विपेनले जानकारी दिए । यहाँ काठमाडौं, नेपालगञ्ज, दाङ, सल्यान लगायत रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट समेत नियमित पाहुनाहरु आउने गरेका छन् । आफ्नो यसै व्यवसाय मार्फत यहाँको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने योजना रहेको उनले बताए ।

 

सरकारले यस क्षेत्रबाट गुरिल्ला ट्रेलको रुट सञ्चालन गरेपनि उचित प्रचार प्रसार नहुँदा सोचेजति पर्यटकहरु आउन नसकेको भन्दै त्यसलाई व्यापक रुपमा प्रचार गरेमा यस क्षेत्रमा टे«किङका लागि आउने पर्यटकले आफ्नो व्यवसायलाई थप टेवा पुग्ने उनको अपेक्षा छ ।

 

२०७५ फागुन ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्