११ फागुन । जसले खानेकुरा उत्पादन गर्छ उही भोको हुन्छ भन्दा पत्याउन सकिन्छ? तर वास्तविकता यही हो ।
एक प्रतिवेदनका अनुसार संसारमा ५० प्रतिशत किसानले पेटभरी खान पाउँदैनन् । खाद्य अधिकार सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा फियान नेपालका अन्तर्राष्ट्रिय अध्यक्ष डा. सर्वराज खड्काले आफ्नो प्रस्तुतिका क्रममा उक्त कुरा बताएका हुन् ।
आरआरएन सल्यानको आयोजनामा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न उक्त गोष्ठीले खाद्य सुरक्षा सम्बन्धी १४ बुँदे घोषणापत्र जारी गरेको छ ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशमा उत्पादन र वितरणको तालमेल गर्न सके जनताको खाद्य अधिकार सुनिश्चित हुने बताए ।
कार्यक्रममा फियान नेपालका अशोक सिंह र सुरेश गौतमले नेपालमा खाद्य सुरक्षाको अवस्था तथा कानुनी प्रावधानबारे प्रस्तुति दिएका थिए ।
प्रदेश स्तरीय भनिएपनि उक्त कार्यशालामा सल्यान जिल्लाका स्थानीय सरकारका प्रतिनिधिको मात्र सहभागीता रहेको थियो ।
कार्यक्रमका अध्यक्ष तथा आरआरएन सल्यानका प्रमुख होमराज विसुरालले आफूहरुले सल्यान जिल्लामा गरेका विभिन्न कार्यहरुको उपलब्धी र सिकाई आदानप्रदान गर्ने तथा खाद्य सुरक्षाको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रतिकृया दिनुहोस्